BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री पौडेलको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट, ‘अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन’

२०८१ मंसिर १२

अर्थमन्त्री पौडेलको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट, ‘अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन’
प्रधानमन्त्री केपी शर्मा


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन्। उनले सरकार गठनको चार महिनामा जनताले अनुभव गर्ने काम हुन नसकेको भन्दै मन्त्री फेर्ने आशय पनि व्यक्त गरेका छन्।

Tata
GBIME

ओलीले बुधबार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रथम त्रैमासिक समीक्षाका क्रममा परिणाम नदेखिए अब मन्त्रीहरुको पनि समीक्षा गर्ने बताए।

‘अब अल्याङ्टल्याङ गर्ने समय छैन। कुनै मन्त्रीको कार्यक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा हुन्छ, ‘उनले भने, सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्छ। समीक्षा र बैठकहरूले मात्रै परिणाम दिंदैन। त्यसैले उत्पादन र परिवर्तनमा केन्द्रित हुन मन्त्रीज्यू र सचिवज्यूहरुलाई मेरो आग्रह छ।’

प्रधानमन्त्री ओलीले घुमाउरो पारामा अर्थमन्त्रीको कामप्रति असन्तुष्टि व्यक्त गरे। ‘राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा चल्दैन,’ उनले भने, ‘देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ। बन्द भएका उद्योगहरू के गर्ने हो? हामीले चलाउन सक्दैनौं भने चलाउन सक्नेलाई किन नदिने? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरू किन राख्ने ?’

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठक

प्रधानमन्त्रीले काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ। उनले विद्यमान स्थितिमा परिवर्तन ल्याउन खासगरी मन्त्री र सचिवले प्रभावकारीरूपमा काम गर्नुपर्ने बताए।

‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधिका क्षेत्रमा नयाँ क्रान्तिकारी काम के गर्न सकिन्छ भनेर सोच्नुपर्ने भएको छ। काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो। हामी सरकारमा भएको उपादेयता हुनुपर्‍यो। प्रक्रियावादमा मात्रै नअल्झौं,’ बैठकमा ओलीले भने, ‘हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ। त्यसैले काम गर्ने शैलीमा आमूल परिवर्तन आवश्यक छ।’

उनले परिणामका लागि मन्त्री र सचिवले आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरूवाको साटो कारबाही गर्नुपर्ने बताए।