BIZMANDU
www.bizmandu.com

यी कलेज जसले बेचिरहेका छन् एकभन्दा बढी विदेशी विश्वविद्यालयको डिग्री, कार्यक्रम थप्न खोज्दै

२०८१ मंसिर ११

यी कलेज जसले बेचिरहेका छन् एकभन्दा बढी विदेशी विश्वविद्यालयको डिग्री, कार्यक्रम थप्न खोज्दै
यी कलेज जसले बेचिरहेका छन् एकभन्दा बढी विदेशी विश्वविद्यालयको डिग्री, कार्यक्रम थप्न खोज्दै

काठमाडौं। विभिन्न चार कलेजले दुई वा त्यसभन्दा बढी विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ। सरकारले कुनै मापदण्ड नबनाउँदाको फाइदा उठाउँदै कलेजहरुले एकभन्दा बढी विश्वविद्यालयको प्रमाणपत्र बेचेका हुन्।

GBIME
Tata

काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज, कमलपोखरीमा रहेको इस्लिङटन कलेज, ललितपुरको लगनखेलमा रहेको सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेनरसिप र खुमलटारस्थित कलेज अफ एकेडेमी अफ क्युलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्टले बहुविश्वविद्यालयको कार्यक्रम सञ्चालन गरेको पाइएको छ।

चार कलेजमा कुन कुन कार्यक्रम ?

ब्रिटिस कलेजले तीनवटा विश्वविद्यालयको कार्यक्रम चलाइरहेको छ। शिक्षा मन्त्रालयका अनुसार कलेजले युनिभर्सिटी अफ द वेस्ट इङल्यान्ड, लिड्स बकेट युनिभर्सिटी र केले युनिभर्सिटीका कार्यक्रम सञ्चालन गरिरहेको हो।

यी विश्वविद्यालयको सम्बन्धनमा ब्रिटिस कलेजले ए लेभेल, ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन, बीएससी कम्प्युटिङ, बीएससी, साइबर सेक्यिुरिटी एण्ड फरेन्सिक, (बीएससी) हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट, माष्टर्स इन बिजनेस एडमिनिष्ट्रेसन (एमबीए) एक्जुकेटिभ जस्ता कोर्स सञ्चालन गरिरहेको छ।

इस्लिङ्टनले बेलायतका लन्डन मेट्रोपोलिटन युनिभर्सिटी र युनिभर्सिटी अफ क्याम्ब्रिजका कोर्स सञ्चालन गर्दै आएको छ। आफूले लन्डन मेट्रोपोलिटनबाट आइटी र बिजनेसमा स्नातक र स्नातोकत्तर कार्यक्रम सञ्चालन गरिरहेको कलेजले जनाएको छ।

लन्डन मेट्रोपोलिटन सन् २०१९ देखि २०२४ सम्म टाइम्स हायर वर्ल्ड र्‍याङ्किङमा परेको देखिंदैन। सन् २०२५ को सूचीमा भने यो विश्वविद्यालय र्‍याङ्किङमा एकैपटक ६०१ देखि ८०० भित्र परेको छ।

सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेनरसिपले नेपाल र विदेशी डिग्रीको कक्षा सञ्चालन गरिरहेको पाइएको छ। एकेडेमी अफ क्युलिनरी आर्ट्स एन्ड हस्पिटालिटीको नाममा सञ्चालित यो कलेजमा लिङ्कन युनिभर्सिटी मलेसियाको कार्यक्रम सञ्चालनमा छ। लिङ्कन युनिभर्सिटी ५ वर्षयता टाइम्स हायर र्‍याङ्किङमा छैन।

कलेजले यो युनिभर्सिटीको सम्बन्धनमा एमबीए र बीबीए कोर्स पढाउने गरेको छ। यहाँ क्युलिनरी सोलुसन अस्ट्रेलियाको कार्यक्रमसमेत राखिएको छ। क्युलिनरी सोलुसन सीपयुक्त तालिम कोर्स सञ्चालन गर्ने संस्था हो।

संस्थाको डिप्लोमा इन क्युलिनरी आर्ट्स र डिप्लोमा इन बेकरी एन्ड पेसिरिज कार्यक्रममा कलेजले विद्यार्थी भर्ना लिंदै आएको छ। यो कलेजले एकै भवनमा राष्ट्रिय परीक्षा बोर्डको प्लस टु कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।

इन्टरनेसनल स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी(आइएसएमटी)ले बेलायतका युनिभर्सिटी अफ सन्डरल्यान्ड र इडेक्सेलको कार्यक्रम सञ्चालन गर्दै आएको छ। युनिभर्सिटी अफ सन्डरल्यान्डको सम्बन्धनमा कलेजले बीएसआइटी, बीबीए र बीएचएमको प्रमाणपत्र बेच्दै आएको छ।  

बेलायतकै इडेक्सेलको भने दुई वर्षसम्मका पियर्सन बिटेक कोर्स बेच्दै आएको छ। सन्डरल्यान्ड २०१९ यता टाइम्स हायरको र्‍याङ्किङमा १,००० भित्र छैन। पियर्सन बिटेक बेलायतको डिप्लोमा स्तरको व्यावसायिक कोर्स हो।

क्रसकलेजसम्बन्धन लिएको विश्वविद्यालयकार्यक्रम
१द ब्रिटिस कलेज, थापाथली  युनिभर्सिटी अफ द वेस्ट इङल्यान्ड लिड्स बकेट युनिभर्सिटी केले युनिभर्सिटीद युनिभर्सिटी अफ द वेष्ट अफ इंग्ल्याण्ड  र लिड्स बेकेट् युनिभर्सिटीको सम्बन्धनमा ए लेभेल, ब्याचलर र एमबीए
२इस्लिङ्टन, कमलपोखरीलन्डन मेट्रोपोलिटन युनिभर्सिटी, युके/ क्याम्ब्रिज युनिभर्सिटी, युके  क्याम्ब्रिज युनिभर्सिटीको ए लेभल, लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको आइटी र एमबीए
३सेन्टर फर लिडरसिप एन्ड इन्टरप्रेनरसिप, लगनखेल  लिङ्कन युनिभर्सिटी कलेज, मलेसिया र क्युलिनरी सोलुसन, अस्ट्रेलिया  राष्ट्रिय परीक्षा बोर्डको प्लस टु, लिङ्कन युनिभर्सिटी कलेजको एमबीए र बीबीए तथा डिप्लोमा इन क्युलिनरी आर्ट्स र डिप्लोमा इन बेकरी एन्ड पेस्ट्री
४इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी), तीनकुने    युनिभर्सिटी अफ सन्डरल्यान्ड, युके/इडेक्सेल, युके  सन्डरल्यान्डको बीएसआइटी, बीबीए र बीएचएम र पियरसन इडेक्सेल कोर्स  
स्रोत : शिक्षा मन्त्रालय

एक वर्षको समय

एउटा कलेजले बहुविश्वविद्यालयका कार्यक्रम सञ्चालन गरेको पाइएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गर्न लागेको छ। मन्त्रालयले एउटा कलेजले एकभन्दा बढी विश्वविद्यालयको कार्यक्रम चलाउन नपाउने गरी निर्देशिका संशोधन गर्न लागेको हो।

पूर्वसचिव शंकरप्रसाद कोइराला नेतृत्वको कार्यदल र प्राडा विनिल अर्याल नेतृत्वको विज्ञ उपसमितिको सुझावका आधारमा निर्देशिका संशोधन गर्न लागेको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख बैकुण्ठ अर्यालले जानकारी दिए।

मन्त्रालयले अहिले यस्ता कलेजलाई फरक विश्वविद्यालयको कार्यक्रम फरक स्थानमा चलाउन निर्देशन दिएको छ। ‘एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाहरूले एक वर्षभित्र अनिवार्य रूपमा अलग-अलग स्थानमा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ,’ मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद अर्यालले जारी गरेको परिपत्रमा भनिएको छ।

निर्देशन अटेर गरेमा अनुमति खारेजीको प्रक्रियामा जाने चेतावनी दिइएको छ।

कोइराला नेतृत्वको कार्यदल र विज्ञ उपसमितिले एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्न नदिन सुझाव दिएका थिए।

‘एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरेका कलेजलाई एक वर्षभित्र अलग अलग स्थानमा कार्यक्रम सञ्चालन गर्न लगाउने र नगरेमा अनुमति खारेजीको प्रक्रियामा जाने,’ अर्याल नेतृत्वको प्रतिवेदनमा भनिएको छ।

र्‍याङ्किङमा नपरेका विश्वविद्यालयको थप कार्यक्रम चलाउन माग

कलेजहरुले र्‍याङ्किङमा हजारभित्र नपरेका विश्वविद्यलयका थप कार्यक्रम चलाउन मन्त्रालयसँग अनुमति मागेका छन्।मन्त्रालयसँग १४ वटा कलेजले थप कार्यक्रम चलाउन अनुमति मागेकामा १० वटा कलेज र्‍याङ्किङमा हजारभित्र नपरेका विश्वविद्यलयको सम्बन्धन लिएकाहरु हुन्।

युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन लिएको बुटवलस्थित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी(आइएसएमटी)ले बीए(हन्स) बिजनेस एन्ड म्यानेजमेन्ट विषय थपका लागि अनुमति मागेको छ।

काठमाडौंको लर्ड बुद्धले बीएससी(हन्स) मल्टिमिडिया टेक्नोलोजी भेरियस स्पेसलाइजेसन र बीएससी(हन्स) कम्प्युटर गेम्स डेभलपमेन्ट थप गर्न निवेदन दिएको छ। लर्ड बुद्ध मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धन पाएको कलेज हो। जुन र्‍याङ्किङमा हजारभित्र छैन।  

बेलायतको युनिभर्सिटी अफ हाइल्यान्ड्स एन्ड आइल्यान्डको सम्बन्धन पाएको ललितपुरको खुमलटारस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टले बिजनेस एड्मिनिस्ट्रेसन एमएससी एप्लाइड डाटा एनालाइसिस कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको स्वीकृति चाहेको छ। तर, विश्वविद्यालय र्‍याङ्किङमा हजारभित्र पर्दैन।

तीनकुनेस्थित आइएसएमटीले निभर्सिटी अफ सन्डरल्यान्डको एमएससी साइबर सेक्युरेटी कार्यक्रम थप गर्न अनुमति मागेको छ।

बुद्धनगरमा रहेको प्रेसिडेन्सियल ग्राजुएट स्कुलले अमेरिकाको युनिभर्सिटी अफ वेस्टक्लिफको बीबीए इन बिजनेस एनलाइटिक्स थप गर्न निवेदन दिएको छ। यो विश्वविद्यालय पनि र्‍याङ्किङमा हजारभित्र पर्दैन।

मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन पाएको नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजले दुई कार्यक्रम थप गर्न माग गरेको छ।

कलेजले ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स विथ स्पेसियालिजम इन डाटा एनालाइटिक र ब्याचलर इन ब्याङकिङ एन्ड फाइनान्स विथ अ स्पेसियालिजम इन फाइनान्सियल टेक्नोलोजी थप्न चाहेको हो। तर, कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालय भने र्‍याङ्किङको सूचीमा छैन।

मलेसियाको टेलर युनिभर्सिटीको सम्बन्धनप्राप्त काठमाडौंको पुतलीसडकस्थित इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्टले ब्याचलर अफ डिजाइन इन क्रिएटिभ मिडिया र मलेसियाको लिङ्कन युनिभर्सिटीबाट सम्बन्धन लिएको पुतलीसडकस्थित लिङ्कन इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट एन्ड आइटी नेटवर्कले ब्याचलर अफ साइकोलोजी कार्यक्रम थप्न अनुमति मागेका छन्।

यस्तै, युनिभर्सिटी अफ इस्ट लन्डनबाट सम्बन्धन लिएको तीनकुनेस्थित द लन्डन कलेजले एमबीए र युनिभर्सिटी अफ इस्ट लन्डनको सम्बन्धनप्राप्त शान्तिनगरस्थित स्ट्यामफोर्ड कलेजले बिजनेस म्यानेजमेन्ट थप गर्न निवेदन दिएका छन्।

के छ प्रक्रिया?

कुनै विदेशी सम्बन्धनप्राप्त कलेजले कुनै विषयको कार्यक्रम थप गर्न पाँच लाख राजस्व दाखिला गरी आवश्यक प्रक्रिया पुर्‍याएमा कार्यक्रम सञ्चालन गर्न पाउँछ।

विज्ञ कार्यदलले र्‍याङ्किङमा हजारभित्र नपरेका विश्वविद्यालका कार्यक्रम सञ्चालन गर्न नदिन भनेकाले मन्त्रालयले निवेदनमाथि निर्णय गरेको छैन।

विज्ञ कार्यदलमा सदस्य सचिवको रुपमा काम गरेका मन्त्रालयका उपसचिव परशुराम तिवारीले निवेदनमाथि निर्णय गर्न बाँकी रहेको बताए। ‘यो माग गरिएको कार्यक्रम नयाँ शैक्षिक सत्रका लागि हो। तर दिने/नदिनेबारे कुनै छलफल भएको छैन,’ उपसचिव तिवारीले भने।