काठमाडौं । नेपालका स्टील उत्पादन क्षेत्रमा अग्रणी अम्बे स्टील्स र जय अम्बे स्टील्सले आइएसओ २२३०१:२०१९ प्रमाणपत्र प्राप्त गरेको छ। आज एक विज्ञप्ति जारी गरेर यो मान्यता पाउने नेपालको पहिलो कम्पनी भएको कम्पनीले जनाएको छ।
यो मान्यता व्यापार निरन्तरता व्यवस्थापन प्रणाली (BCMS) को अन्तर्राष्ट्रिय मानक भएको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ। यसले संस्थाहरूलाई कुनै पनि अवरोधको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन र सञ्चालनलाई निरन्तरता दिन सक्षम बनाउने जनाइएको छ।
अम्बे स्टील्स र जय अम्बे स्टील्सका निर्देशक शिवाज न्यौपानेले भने, ‘यो प्रमाणपत्रले हाम्रो व्यवसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितताप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। आइएसओ २२३०१:२०१९ प्रमाणपत्र प्राप्त गर्दै, अम्बे स्टील्स र जय अम्बे स्टील्सले नेपालमा नयाँ मापदण्ड स्थापना गरेका छन्।’