BIZMANDU
www.bizmandu.com

राष्ट्रिय जीवन बीमा कम्पनीको सीइओमा दरखास्त खुला, के चाहिन्छ योग्यता?

२०८१ मंसिर ६

राष्ट्रिय जीवन बीमा कम्पनीको सीइओमा दरखास्त खुला, के चाहिन्छ योग्यता?
राष्ट्रिय जीवन बीमा कम्पनीको सीइओमा दरखास्त खुला, के चाहिन्छ योग्यता?

काठमाडौं। सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले खुला प्रतिष्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त खुलाएको छ।

Tata
GBIME
NLIC

यस अघिको छनोटको परीक्षामा आवेदकहरु अनुत्तीर्ण भएपछि दरखास्त लिन नयाँ प्रक्रिया थालेको हो। छनोट तथा सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै योग्य इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको छ।

उक्त पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्यताको मापदण्ड छ। साथमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए ५ वर्ष, बैंक वा वित्तीय क्षेत्र भए ८ वर्ष तथा दुवै क्षेत्रमा भए कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभवी हुनुपर्छ।

अन्यथा चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा कम्तीमा १० वर्ष, बैंक वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुवै क्षेत्रमा भए कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनभवी हुनु पर्ने कार्यविधिमा छ।

दरखास्त दिनेले ५ हजार शब्दमा नबढ्नेगरि कम्पनीका लागि व्यवसायिक कार्ययोजना पनि पेस गर्नुपर्छ। छनोटका लागि उम्मेदवारको मूल्यांकन अंकभार पहिलो चरणमा शैक्षिक योग्यतामा १०, अनुभवमा १५, व्यवसायिक कार्ययोजनामा ३० अंक छ। दोस्रो चरणमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणलाई २० र अन्तर्वार्तालाई २५ अंक राखिएको छ। दरखास्त दिन २१ दिनको म्याद छ।  

यसअघि असोज तेस्रो साता दरखास्त आह्वान गर्दा चार जनाको आवेदन परेको थियो। कुनै पनि उम्मेदवारले कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसकेको समितिले बुधबार सूचना जारी गर्दै जनाएको थियो। उक्त छनोट प्रक्रिया असफल भएपछि कम्पनीले फेरि दरखास्त खुलाएको हो।

दरखास्त दिनेहरूले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्नेलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।