काठमाडौं। बाढीपहिरोले जलविद्युत आयोजनामा क्षति पुग्दा विद्युत निर्यात प्रभावित हुन पुगेको छ। चालु वर्ष चार महिनामा पोहोर सोही अवधिको तुलनामा भारततर्फ विद्युत निर्यात २५ प्रतिशतले घटेको छ।
नेपाल विद्युत प्राधिकरणले यो आर्थिक वर्ष कात्तिकसम्म १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। पोहोर चार महिनामा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो।
यसपालि असोज र कात्तिकमा निर्यात घटेको छ।
साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार, भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार र असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरेको प्राधिकरणले कात्तिकमा भारतलाई १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् बेचेको छ।
चार महिनामा १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको प्राधिकरणले जनाएको छ। चार महिनामा निर्यात गरिएको विद्युतको औसत दर प्रति युनिट ७.६३ रुपैयाँ छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले असोज दोस्रो साताको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्र र प्रसारण लाइनमा क्षति पुगेकाले निर्यात प्रभावित भएको बताए।
‘सञ्चालनमा रहेका जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीको संरचनामा पहिरोले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द छ। त्यस्तै बाढी पहिरोले क्षति पुगेका अन्य साना आयोजनाले पनि विद्युत् उत्पादन गर्न सकेका छैनन्,’ उनले भने, ‘काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्याउँदा विभिन्न आयोजनाको करिब २०० मेगावाट विद्युत् उत्पादन बन्द भयो। जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुग्यो।’
गत वर्ष आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी नेपाल खुद विद्युत् आयातकर्ताबाट खुद विद्युत् निर्यातकर्ता बनेको थियो। प्राधिकरणले चालु वर्ष ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यातको लक्ष्य राखेकामा लक्ष्य पूरा नहुने भएको छ।
माथिल्लो तामाकोशीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माणपछि सञ्चालनमा आइसकेको छ।
तर हिउँदमा नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले आन्तरिक उत्पादनले देशभित्रकै माग धान्दैन, भारतबाट आयात गर्नुपर्छ।
प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धीपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विद्युत बिक्री गर्दै आएको छ।
प्राधिकरणले यो वर्षबाट बंगलादेशमा पनि बिजुली बेच्न सुरु गरेको छ। बंगलादेशलाई कात्तिक ३० गते ४० मेगावाट विद्युत बिक्री गरिएको थियो।