BIZMANDU
www.bizmandu.com

तीन आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा, कुलमानलाई कति राहत ?

२०८१ मंसिर ४

तीन आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा, कुलमानलाई कति राहत ?
तीन आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा, कुलमानलाई कति राहत ?


काठमाडौं। असोज दोस्रो साताको बाढी पहिरोले सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजना बन्द भएपछि सुख्खायामको विद्युत व्यवस्थापनलाई लिएर नेपाल विद्युत प्राधिकरण तनावमा रहँदा तीनवटा आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेका छन्।

Tata
GBIME
NLIC

४५६ मेगावाटको तामाकोशी समयमा नबने सुख्खायाममा प्राधिकरणलाई विजुली व्यवस्थापन गर्न कठिन बन्ने देखिएको छ। प्रसारण लाइन पाएपछि तीनवटा जलविद्युत आयोजना व्यावसायिक उत्पादनको तयारीमा जुटेका छन्। १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.५ मेगावाटको अप्पर साञ्जेन जलविद्युत आयोजना व्यावसायिक उत्पादनको तयारीमा जुटेका हुन्।

यी तीन आयोजनाले व्यावसायिक उत्पादन थालेपछि प्राधिकरणलाई केही राहत हुनेछ। यी आयोजनाको क्षमता १६८ मेगावाट भएपनि सुख्खायाममा भने ७० मेगावाटभन्दा बढी उत्पादन हुनेछैन।

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सकिएपछि ती दुई आयोजनाले व्यावसायिक उत्पादनअघि अहिले परीक्षणको काम गरिरहेका छन्। यी तीनवटै आयोजना सम्पन्न भएको लामो समय भइसकेको छ। तर, प्रसारण लाइन अभावमा यी आयोजनाले विद्युत उत्पादन गर्न पाएका थिएनन्।

रसुवागढी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत छविलाल गैरेले अहिले धमाधम बिजुली परीक्षणको काम भइरहेको जानकारी दिए।

‘गत वैशाखमा नै व्यावसायिक उत्पादन सुरु गर्ने गरी आयोजना सम्पन्न भएको थियो। तर, हामीले बल्ल प्रसारण लाइन पाएका छौं। हामी अहिले बिजुली परीक्षणमा केन्द्रित छौं,’ उनले भने, ‘परीक्षणका लागि नेपाल विद्युत प्राधिकरणबाट विज्ञ टिम आएको छ। यही हप्तामा ३६ मेगावाट बिजुली उत्पादन गर्छौं। मंसिरभित्र आयोजना सञ्चालनमा आउनेछ।’

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनअन्तर्गत ३२० केभी क्षमताको चिलिमे हब सबस्टेसन कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको छ। यो सबस्टेसनले कात्तिक २५ गते ब्याक चार्ज उपलब्ध गराएपछि तीनवटै आयोजना परीक्षणमा केन्द्रित भएका हुन्।

त्रिशूली र त्यसका सहायक खोलामा बनेका तथा निर्माणाधीन जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन महत्त्वपूर्ण पूर्वाधार हो। यो प्रसारण लाइन निर्माण सुरु गरेको ७ वर्षमा कात्तिक तेस्रो साता सम्पन्न भएको थियो।

‘अहिले ग्रिड सिंक्रोनाइजेसनको काम भइरहेको छ। त्यसपछि ‍लोड रिजेक्सन परीक्षण हुन्छ। सबै परीक्षण सकेपछि आयोजना व्यावसायिक उत्पादनका लागि तयार हुन्छ,’ गैरेले भने, ‘यी सबै परीक्षण सकेर मंसिरभित्र व्यावसायिक उत्पादन सुरु गर्छौं।’

साञ्जेन र अप्पर साञ्जेन जलविद्युत आयोजना पनि व्यावसायिक उत्पादनको अन्तिम तयारीमा छन्। साञ्जेन जलविद्युत कम्पनीका सचिव घनश्याम खड्काले एक साताभित्र व्यावसायिक उत्पादन गर्ने गरी परीक्षण भइरहेको बताए।

‘दुवै आयोजनामा परीक्षणको काम अन्तिम चरणमा छ। नोभेम्बर २५ सम्म व्यावसायिक उत्पादन थाल्ने तयारी अनुसार काम भइरहेको छ,’ उनले भने।