BIZMANDU
www.bizmandu.com

कर छली गर्न दुईवटा खाता, ५ वर्ष अघिको फर्मूलाले यसरी लागेको थियो पत्ता

२०८१ मंसिर ४

कर छली गर्न दुईवटा खाता, ५ वर्ष अघिको फर्मूलाले यसरी लागेको थियो पत्ता
कर छली गर्न दुईवटा खाता, ५ वर्ष अघिको फर्मूलाले यसरी लागेको थियो पत्ता


काठमाडौं । राजस्व अनुसन्धान विभागले २०७६ सालमा देशका ३ वटा ठूला फ्लोर मिल्स (मैदा, पिठो र सुजी उत्पादन गर्ने उद्योग) मा छापा मार्‍यो।

Tata
GBIME
NLIC

विभागले तीनवटै उद्योगले भ्याट बिलबिना नै उत्पादनहरू बिक्री गरेको र हिसाब खाता पनि दुई वटा राख्ने गरेको आशंका गरेको थियो। नभन्दै एक उद्योगको दुईवटा हिसाबखाता फेला परे। एउटा खाता वास्तविक कारोबारको थियो। र, अर्को सरकारी निकायलाई देखाउन राखिएको नक्कली खाता। सो उद्योगले राजस्व कार्यालयमा सोही नक्कली खाता देखाएर भ्याट र आयकर तिर्ने गरेको थियो।

अन्य दुई उद्योगका भने यस्ता नक्कली खाता फेला परेनन्। दुईवटा खाता फेला परेको उद्योगको कर निर्धारण गरेर मुद्दामा जान विभागलाई सजिलो भयो। तर, वास्तविक खाता फेला नपरेका उद्योगको कर निर्धारण कसरी गर्ने? यो ज्यादै जटिल काम थियो।

लामो छलफलपछि विभागका अधिकारीले प्राविधिक विषय उपयोग गरे। त्यो प्राविधिक विषय थियो – उद्योगको उत्पादन क्षमता कति हो ? एक घण्टा उद्योग सञ्चालन हुँदा विद्युत् खपत कति युनिट हुन्छ? र, एक घण्टामा कुन परिमाणमा कति उत्पादन हुन्छ?

राजस्व अनुसन्धान विभाग

यो विधिबाट कुनै पनि फ्लोर मिल्सले कति उत्पादन गरेको छ भन्ने पत्ता लाग्नसक्ने देखियो। यसको परीक्षणका लागि दुईवटा हिसाब खाता भेटिएको उद्योगको बिजुलीको बिल र उत्पादन क्षमता हिसाब गरेर कति परिमाणमा उत्पादन भएको छ भनेर हिसाब गरियो।

यसरी हिसाब गरेर निकालिएको उत्पादनको परिमाण र उद्योगले लुकाएर राख्ने गरेको वास्तविक खातामा लेखिएको उत्पादनको विवरण ठ्याक्कै मेल खायो।

त्यसपछि विभागलाई वास्तविक खाता लुकाउने उद्योगको यथार्थ उत्पादन निकाल्न र त्यसको कर निर्धारण गर्न कुनै गाह्रो भएन। यसका लागि उद्योगको उत्पादन क्षमता र विद्युत् खपत उपयोगी बन्यो।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को अवधिमा शंका लागेका केही उद्योगमा राजस्व अनुसन्धान विभागको यही फर्मुलाको प्रयोग गर्‍यो।

विभागमा त्यस बेला कार्यरत एक अधिकारीले बिजमाण्डूलाई भने, ‘विद्युत् खपत र उत्पादन क्षमताको सूत्र प्रयोग गरेर कर निर्धारण गर्दा ती फ्लोर मिल्सबाट असुली हुने भ्याट र आयकरको रकम विगतका तुलनामा लगभग दोब्बर थियो।’

तर, विभागले यो फर्मुलालाई स्थायी बनाउन सकेन। किनकि यो एक मान्यता र मापदण्ड मात्र थियो, नियम–कानुन थिएन। यसका कारण देशभित्रका कतिपय फ्लोर मिल्समा पिठो, मैदा र सुजीको कारोबारमा भ्याट छलीको ग्राफ धेरै माथि पुगिरहेको अनुभव राजस्वकर्मीले गरिरहेका छन्। भ्याट चुहावट भएपछि आयकरमा पनि स्वतः छली हुन्छ।

अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार फ्लोर मिल्सले भ्याट छली गर्ने हिम्मत किन राख्दछन् भने मुख्य कच्चा पदार्थ गहुँको खरिदमा भ्याट लाग्दैन। त्यसैले राजस्व कार्यालयलाई खरिद खाता देखाइरहनु जरुरी छैन। देखाए पनि नक्कली खाता देखाइन्छ। गहुँको खरिद कति छ भन्ने देखाउनु नपरेपछि उत्पादन र कारोबार जति देखाए पनि भयो।

अहिले विद्युत् खपत र उद्योगको उत्पादन क्षमताको फर्मुलाको प्रयोग पनि बन्द भइसकेको छ। त्यसैले पिठो, मैदा र सुजीको बिक्रीमा हुने भ्याट छलीको तथ्यांक उच्च छ।

मूल्य थरीथरीका

सामान्यतया भ्याट छलीमा पल्किएका उद्योगले आफ्ना उत्पादन सस्तोमा बेच्ने गरेका गरेका छन्। उदाहरणका लागि ५ किलोको चक्की आँटाको पाकेटको मूल्य ३४० देखि ४१० रुपैयाँसम्म छ।

नेपाल फ्लोर मिल्स एसोसिएसनका एक पदाधिकारी भन्छन्, ‘यही त आश्चर्य छ। प्याकिङ खर्च, गहुँको खरिद मूल्य र बिजुलीको बिल सबै उद्योगलाई एउटै हो। चक्की आँटा एउटै हो तर किलोको १४ रुपैयाँसम्म सस्तोमा कसरी पाइन्छ? शंका गर्ने ठाउँ प्रशस्त छ। तर नियामक निकाय मौन छ।’

उनले थपे, ‘दुई वर्षअघि जसरी केही उद्योगलाई उत्पादन क्षमता र बिजुलीको बिलको हिसाब गरेर कर निर्धारण गरिएको थियो त्यही सूत्र अहिले पनि प्रयोग गर्न सकिन्छ। यति गरेपछि फ्लोर मिल्सले राजस्व छली गर्ने धेरै बाटाहरू बन्द हुन्छन्।’

कानुनी छिद्र पक्रिएर राजस्व छली

कतिपय फ्लोर मिल्सले थ्रेसहोल्डको छिद्र पक्रिएर राजस्व छली गरिरहेका छन्। जस्तै, ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने उद्योगले भ्याट बिल काट्नुपर्दैन। उद्योगहरू यही ५० लाखको थ्रेसहोल्डमा खेलिरहेका छन्।

एसोसिएसनका एक पदाधिकारीका अनुसार एउटा उद्योगमा चक्की आँटाका ३ वटा मेसिन छन् भने सो उद्योगले तीन वटा छुट्टाछुट्टै उद्योगका नाममा ती चक्की मेसिन दर्ता गरेको हुन्छ। अर्थात् एउटा चक्की एक उद्योगका नाममा र अर्को चक्की अर्को उद्योगका नाममा दर्ता हुन्छ। अनि एक चक्कीले ५० लाखभित्र मात्र उत्पादन र कारोबार गरेको देखाइन्छ।

नियमअनुसार ५० लाखसम्मको कारोबारमा भ्याट लाग्दैन। यसरी कानुनी छिद्र पक्रिएर राजस्वछली गर्ने उद्योग पनि छन्।

ती उद्योगीले भने, ‘यस्ता उद्योग कानुनी रूपमा गलत होइनन् तर नैतिक रुपमा गलत हुन्। उनीहरूले प्यान नम्बर भएको बिल काटेर सस्तोमा आटा बिक्री गरिरहेका छन्। त्यस्तै कतिपय नाम चलेका उद्योग पनि भ्याट छलीमा संलग्न छन्। तिनले आफ्ना उत्पादनको ब्रान्ड चलाइसकेका छन्। त्यस्ता उद्योगले बिक्री गर्ने उत्पादनमा भ्याटसहितको मूल्य हुन्छ तर सरकारले भ्याटको रकम पाइरहेको हुँदैन।’

भ्याटलाई बहुदरमा लानुपर्छ– अध्यक्ष दुगड

मैदा, पिठो र सुजीको भ्याटमा भइरहेको छलीलाई नियन्त्रण गर्ने हो भने भ्याटलाई बहुदरमा लगेर ती वस्तुमा न्यूनतम दर कायम गरिनुपर्ने उद्योगीको सुझाव छ।

नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष कुमुद दुगडले भ्याटको दर बढी भएका कारणले मैदा, पिठो र सुजीमा छली हुने गरेको बताए।

अध्यक्ष दुगडले भने, ‘त्यसैले यसको समाधान भ्याटलाई बहुदरमा लगेर अत्यावश्यक खाद्यान्नमा न्यूनतम दर निर्धारण गरिनु नै हो। भारतमा पनि वस्तु तथा सेवा कर (जिएसटी) बहुदरमा छ र अत्यावश्यक खाद्यान्नलाई ५ प्रतिशत मात्र लगाइएको छ। हाम्रो देशमा पनि पिठो, मैदा र सुजीजस्ता वस्तुमा ५ प्रतिशत मात्र भ्याट तोक्ने हो भने कतैबाट छली हुँदैन।’

नेपाल फ्लोर मिल एशोसिएसनका अध्यक्ष कुमुद दुगड

दुगडले बजारमा भ्याट छली गरेर पिठो, मैदा र सुजी छ्याप्छ्याप्ती बिक्री हुने गरेका कारण कर छली नगर्ने उद्योगहरू अप्ठ्यारोमा परेको गुनासो गरे।

‘उहाँहरू सस्तोमा पनि दिनुहुन्छ, बिक्रेतालाई दिने मार्जिन पनि बढी हुन्छ, कसैकसैले भ्याटसहितको मूल्य जोडेर एमआरपी तोक्नुहुन्छ। विकृतिहरू अनेक छन्। यसको मारमा कर छली नगर्ने उद्योग परेका छन्। त्यसैले भ्याटमा बहुदर र खाद्यान्नमा न्यूनतम दरको भ्याट नै आजको आवश्यकता हो’, दुगडको भनाइ छ।

न्युट्री फुड्सका सञ्चालक प्रदीपकुमार शारडा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुमा हुने भ्याट छलीलाई रोक्ने हो भने सरकारको राजस्व नीतिमै आमूल परिवर्तन गर्नुपर्ने मत राख्छन्।

‘पोलिसीमा टोटल्ली रिफर्म नभएसम्म सुध्रन्न,’ उद्योगी शारडाले भने, ‘एक थरी उद्योग भ्याट छली गर्ने अर्का थरी नगर्ने। यसले गर्दा प्रतिस्पर्धा अत्यन्त अस्वस्थ हुन पुगेको छ। छली नगर्ने उद्योग अप्ठ्यारोमा पर्दै गएका छन्। त्यसैले सरकारले राजस्व नीतिमै आमूल परिवर्तन गर्नुपर्ने खाँचो देखिएको हो।’

हामी गम्भीर र सक्रिय छौं : डिजी आचार्य

आन्तरिक राजस्व विभागका डिजी रामप्रसाद आचार्यले विभागमा फ्लोर मिल्सले भ्याट छली गर्ने गरेको सूचना आइरहेको हुँदा विभाग गम्भीर भएको जानकारी दिए।

उनले सक्रिय भएर समाधान निकाल्न काम गरिरहेको दाबी गरेका छन्।

‘हामी गम्भीर पनि छौं र सक्रिय पनि। यसलाई कुन तरिकाबाट समाधान निकाल्ने भनेर होमवर्क गरिरहेका छौं। चाँडै परिणाम देख्न पाउनुहुनेछ,’ उनले भने।