काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एनपीएलका लागि खेल तालिका सार्वजनिक गरेको हो।
प्रतियोगिता मंसीर १५ गतेबाट सुरु हुँदैछ। पहिलो दिन एक खेलमात्र हुनेछ। त्यसपछि भने पुष १ बाहेक अन्य दिन दैनिक दुई खेल हुनेछन्।
प्रतियोगिताको इलिमिनेटर र क्वालिफायर १ पुष ३ गते हुनेछ भने दोस्रो क्वालिफायर पुष ४ गते सम्पन्न हुनेछ।
प्रतियोगिताको फाइनल खेल पुष ६ गते सम्पन्न हुनेछ। खेलको प्रत्यक्ष प्रसार स्टार स्पोर्ट्समा हुनेछ।
प्रतियोगिताको यो पहिलो संस्करण हो। यसमा उपाधिका लागि विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

