BIZMANDU
www.bizmandu.com

बैंकको ब्याजदर घटेको लाभ जलविद्युत कम्पनीलाई, ५६ वटाले बढाए नाफा, कुनको अवस्था कस्तो?

२०८१ मंसिर ३

बैंकको ब्याजदर घटेको लाभ जलविद्युत कम्पनीलाई, ५६ वटाले बढाए नाफा, कुनको अवस्था कस्तो?
बैंकको ब्याजदर घटेको लाभ जलविद्युत कम्पनीलाई, ५६ वटाले बढाए नाफा, कुनको अवस्था कस्तो?


काठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा हाड्रोपावरको वित्तीय अवस्थामा सुधार आएको छ। विद्युत बिक्रीबापतको आम्दानी बढेपछि हाड्रोपावर कम्पनीको ब्यालेन्ससिटमा सुधार देखिएको हो।

Tata
GBIME
NLIC

बैंकको ब्याजदर निरन्तर ओरालो लागेर लागत घटेका कारण अधिकांश हाड्रोपावर कम्पनीको खुद नाफा बढेको छ भने अन्य सूचक पनि सकारात्मक देखिएका छन्।

नेप्सेमा सूचीकृत ९१ जलविद्युत कम्पनीमध्ये वित्तीय विवरण सार्वजनिक गरेका ८७ वटाले यो आर्थिक वर्ष असोज मसान्तसम्म ३ अर्ब ६० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

कम्पनीहरुले आर्जन गरेको खुद नाफा पोहोर तीन महिनाको तुलनामा औसतमा २७.०७ प्रतिशत धेरै हो। गत वर्ष पहिलो त्रैमासमा कम्पनीहरुले २ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए।

५६ वटा हाइड्रोपावरले खुद नाफा बढाएका छन्। २८ कम्पनीको पोहोरको तुलनामा नाफा घटेको छ। नाफा बढाएका कम्पनी मध्ये १८ वटा गत वर्ष नोक्सानीमा थिए। गत वर्ष नोक्सानीमा रहेका ९ कम्पनीले यस वर्ष सोही अवधिमा नोक्सानीको आकार घटाएका छन्।

खुद नाफा सर्वाधिक वृद्धि गर्नेमा मिडसोलु हाइड्रोपावर छ। यो कम्पनीले गत वर्ष तीन महिनामा १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकामा यस वर्ष सोही अवधिमा १९ गुणा बढी ३ करोड ४३ लाख रुपैयाँ कमाएको छ।

उर्जा उत्पादकहरुका अनुसार विद्युत बिक्रीमा भएको वृद्धि र खर्च घट्दा नाफामा सुधार आएको हो।

‘हाइड्रोपावर कम्पनी निर्माणाधीन अवस्थामा घाटामै हुन्छन्। विद्युत उत्पादन गरेपछि नाफा कमाउन थाल्छन्। पछिल्लो समय धेरै आयोजना निर्माण सम्पन्न भएर विद्युत उत्पादनतिर लागेका छन्,’  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) उपाध्यक्ष आशिष गर्गले भने, ‘आयोजनाले विद्युत उत्पादन थालेपनि यसअघि प्रसारण लाइन नपुग्दा अप्ठेरो भएको थियो। अहिले विस्तारै प्रसारण लाइनको पहुँच बढ्दै गएको छ।’

कम्पनीहरुको नाफा बढ्नुको अर्को कारण लागत घट्नु हो। बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ। कर्जाकै ब्याजदर अहिले तीन वर्षयताकै न्यून विन्दुमा छ।

बैंकको ब्याजदर घट्दा हाइड्रोपावर कम्पनीको दायित्व घटेको छ। ‘कम्पनीको ६० प्रतिशतसम्म रकम बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नमै खर्च हुने गरेको छ,’ उनले भने, ‘अहिले ब्याजदर घट्दा दायित्व कम भएको छ। त्यसैले नाफा वृद्धि भएको हो।’

डेढ दर्जन कम्पनीको नाफामा गिरावट आएको छ। पोहोर नाफामा रहेका तीन कम्पनी माउन्टेन हाइड्रो नेपाल, पाँचथर पावर र नेसनल हाइड्रोपावर घाटामा गएका छन्।  

माउन्टेन हाइड्रो नेपाल सबैभन्दा धेरै ३८ करोड ६२ लाख रुपैयाँ नोक्सानीमा गएको छ। कम्पनीले गत वर्ष तीन महिनामा १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पहिलो त्रैमासमा सर्वाधिक ६३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको यो नाफा पोहोर तीन महिनाको तुलनामा ३७.२६ प्रतिशत कम हो। कम्पनीले गत वर्ष सोही अवधिमा १ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

आयोजना गत असोज १२ गतेदेखि बन्द छ। पहिरोले विभिन्न संरचनामा क्षति पुगेर उत्पादन बन्द भएका कारण कम्पनीको ब्यालेन्ससिट बिग्रिएको हो। उत्पादन बन्द हुँदा कम्पनीले दैनिक ४ करोड रुपैयाँभन्दा बढीको नोक्सानी बेहोरिरहेको छ।

वित्तीय विवरण (नाफा रु लाखमा)

गत वर्ष बाढीपहिरोले क्षति पुर्‍याएका कतिपय आयोजनाको अझै पुनर्निर्माण भएको छैन। यसपालि असोज दोस्रो साता आएको बाढीपहिरोका कारण तीन दर्जन आयोजनामा क्षति पुगेको थियो।

क्षति पुगेका अधिकांश आयोजनाको पुनर्निर्माण सुरु हुनै बाँकी छ। ऊर्जा उत्पादकहरुका अनुसार विद्युत उत्पादन बन्द भएका आयोजनाको दोस्रो त्रैमासको ब्यालेन्ससिट बिग्रिने छ।

साहस उर्जाले तीन महिनामा ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो रकम पोहोर तीन महिनाको तुलनामा २६.०७ प्रतिशत बढी हो। कम्पनीले गत वर्ष पहिलो त्रैमासमा ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत आम्दानी बढेका कारण नाफामा सुधार देखिएको साहस उर्जाका अध्यक्ष हिम पाठकले बताए। ‘पहिलो त्रैमास व्यापार वृद्धिको सिजन नै हो। त्यसैले यस अवधिमा आम्दानी धेरै बढ्छ। आम्दानी वृद्धि हुँदा कम्पनीको वित्तीय विवरणमा सुधार देखिएको हो,’ उनले भने।

धेरैजसो जलविद्युत आयोजना नदी प्रवाह (रन अफ रिभर)मा आधारित भएकाले वर्षायाममा पानीको सतह बढ्दा विद्युत पूर्ण क्षमतामा उत्पादन गर्न सक्छन्। हिउँदमा पानीको वहाव कम हुने भएकाले आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्दैनन् र आम्दानी कम हुन्छ।