काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ।
नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक ल्याइएको कम्पनीको दाबी छ। साथै यस उत्पादनले नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको बताइएको छ।
गहिरो अध्ययन अनुसन्धानका साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ले विशेषतः व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेर ल्याइएको हो। यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार यो सिमेन्टले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ। यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ।
गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माणसम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको बताएको छ।
यो सिमेन्टमार्फत कम्पनीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मूल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।
यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुनेछ, जसले ग्राहकलाई सहज पहुँच सुनिश्चित गर्छ। ढलाइ मिक्स सिमेन्टको आगमनसँगै घोराही सिमेन्ट इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको छ।
घोराही सिमेन्ट उद्योग दाङको घोराहीमा सन् २००९ मा स्थापना भएको हो। घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपीसी ५३ ग्रेड र ४३ ग्रेड, पीपीसी र सगरमाथा क्लिन्कर उत्पादन तथा बिक्री गर्दै आएको छ।