BIZMANDU
www.bizmandu.com

निर्जीवन बीमा कम्पनीको ब्यालेन्ससिट बिग्रिंदा लाइफ इन्स्योरेन्सले कसरी बढाए १८.६४% नाफा ?

२०८१ कात्तिक ३०

निर्जीवन बीमा कम्पनीको ब्यालेन्ससिट बिग्रिंदा लाइफ इन्स्योरेन्सले कसरी बढाए १८.६४% नाफा ?
निर्जीवन बीमा कम्पनीको ब्यालेन्ससिट बिग्रिंदा लाइफ इन्स्योरेन्सले कसरी बढाए १८.६४% नाफा ?

काठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा लाइफ इन्स्योरेन्सले नाफा बढाउँदा अधिकांश निर्जीवन बीमा कम्पनीको घटेको छ।

Tata
GBIME

वित्तीय विवरण सार्वजनिक गरेका १४ वटै लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष असोजसम्म १ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

कम्पनीहरुले पोहोर तीन महिनाको तुलनामा औसतमा १८.६४ प्रतिशतले नाफा बढाएका हुन्। गत वर्ष जीवन बिमकले पहिलो त्रैमासमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै इन्स्योरेन्सले नाफा बढाएका छन्। यस कम्पनीको नाफा जम्मा २२ लाख रुपैयाँमा सीमित भएको छ। जबकि गत वर्ष सोही अवधिमा कम्पनीले ३ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

हिमालयन लाइफले सबैभन्दा धेरै २५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। सिटिजन लाइफले नाफा सर्वाधिक ८३.३३ प्रतिशत नाफा बढाएर १३ करोड रुपैयाँ पुर्‍याएको छ।

निर्जीवन बिमकतर्फ १४ वटा इन्स्योरेन्सले असोज मसान्तसम्म जम्मा १६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन्। ती कम्पनीहरुको खुद नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा ८६ प्रतिशत ओरालो लागेको छ। निर्जीवन बीमा कम्पनीले पोहोर पहिलो त्रैमासमा १ अर्ब १९ करोड १६ लाख रुपैयाँ नाफा कमाएका थिए।

यसपालि ८ वटा कम्पनीको नाफा घटेको छ भने ४ कम्पनी घाटामा गएका छन्। ओरियन्टल, नेसनल, सगरमाथा लुम्बिनी र युनाइटेड अजोड इन्स्योरेन्स घाटामा गएका हुन्।

निर्जीवन इन्स्योरेन्सततर्फ सानिमा जीआइसीले सर्वाधिक ५०.७४ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ। कम्पनीले गत वर्ष पहिलो त्रैमासमा ३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएकामा यस वर्ष सोही अवधिमा ५ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण भौतिक संरचना तथा सम्पत्तिमा क्षति पुगेका कारण निर्जीवन बीमा कम्पनीमा तीन महिनाको व्यवसायभन्दा धेरै दाबी परेको छ।

तीन दिनको बाढीपहिरोका कारण साढे १० अर्बको दाबी आएको छ। त्यही भएर इन्स्योरेन्सको ब्यालेन्ससिटमा असर परेको हो।

‘कम्पनीले बीमितको दाबी भुक्तानी गर्नुपर्ने हुन्छ। बाढीपहिरोका कारण धेरै दाबी परेको छ। त्यसको दायित्व यकिन भइसकेको छैन,’ प्रभु इन्स्योरेन्सका सीइओ सञ्चित बज्राचार्यले भने, ‘दाबी भुक्तानी गर्न प्रोभिजनिङ गर्नु परेका कारण कम्पनीको नाफामा असर परेको हो।’

लाइफ इन्स्योरेन्सतर्फ भने लगानीबाट हुने आम्दानी वृद्धि हुँदा कम्पनीहरुको नाफा बढेको हो। कम्पनीहरुको नयाँ व्यवसाय बढ्न सकेको छैन।

‘लाइफ इन्स्योरेन्सको नयाँ व्यापार बढेको छैन। कम्पनीहरुले लगानीबाट आम्दानी बढाउँदा नाफा आर्जन गरेका हुन्,’ सानिमा रिलायन्स लाइफका सीइओ शिवनाथ पाण्डेले भने।

बिमकहरुका अनुसार अधिकांश इन्स्योरेन्सले सेयरमा लगानी गरेर आम्दानी गरेका हुन्। चालु वर्ष पहिलो महिनामै बजार बढेका कारण कम्पनीहरुले मुनाफा कमाएको उनीहरुको भनाइ छ। मध्य असारदेखि साउन मसान्तमा सेयर बजार ४६ प्रतिशत बढेर ३००० विन्दुमा पुगेको थियो।

त्यत्तिखेर नेप्से तीन वर्षअघिको विन्दुमा पुग्दा २९ करोड ९५ लाख रुपैयाँसहित कारोबार रकममा कीर्तिमान बनेको थियो। गत वर्ष नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई सेयर बजारमा लगानी गर्न सहज हुनेगरी सीमा वृद्धि गरिदिएको थियो। जसले गर्दा सेयर बजारमा भएको वृद्धिको लाभ कम्पनीहरुले लिएका छन्।