काठमाडौं। ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको बचत हिनामिना प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बल्ल बयान लिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले धनराजलाई बुधबार कार्यालयमा बोलाएर बयान लिएको हो। उनीमाथि पत्नीसँग मिलेर सहकारीको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।
सहकारीका अध्यक्ष कुम्भराज गुरुङले धनराज र सोही सहकारीमा महाप्रबन्धकको रुपमा काम गरेकी उनकी पत्नी ज्योतिले १२ करोड ५० लाख (ब्याजसहित १४ करोड ८१ लाख) रकम हिनामिना गरेको भन्दै २०८१ जेठ ६ गते उजुरी दिएका थिए।
सहकारीका अध्यक्ष कुम्भराज धनराजविरुद्ध सहकारी ठगीबारे छानबिन गर्न गठिन संसदीय विशेष समितिमा पनि पुगेका थिए।
समितिले धनराजमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो। सीआइबीले त्यसपछि मात्र अनुसन्धान थालेको हो। धनराजकी पत्नी फरार रहेकाले रेडकर्नर नोटिस जारी गरिएको छ। उनले बयानमा श्रीमतीसँग नक्कली डिभोर्स नभएको दाबी गरेका थिए। आफुलाई श्रीमतीको बारेमा पछिल्लो जानकारी समेत नभएको उनको तर्क थियो।
सीआइबीका एक प्रहरी अधिकृतले धनराजलाई बुधबार कार्यालयमा बोलाएर कागज गराएको जानकारी दिए। प्रहरीले उनीसँग करिब १२ बजेदेखि ५ घण्टा बयान लिएको थियो।
धनराजले आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गरे। त्यसक्रममा उनी तीन वर्षदेखि आफूले एउटै कोट लगाएको भनेर रोए। ‘उहाँ तीन वर्षदेखि एउटै च्यातिएको कोट लगाएर हिंडेको मान्छेले कसरी यत्रो रकम लग्छ भन्दै रुनु भयो,’ बयानमा संलग्न एक प्रहरी अधिकृतले भने।
बयानका क्रममा धनराज निकै निराश देखिएका थिए। ‘यो सहकारीले त मेरो राजनीति मात्र होइन, श्रीमती र घर समेत खायो भन्दै पीडा पोखे,’ बयानमा संलग्न एक प्रहरी अधिकृतले भने।
मितेरी सहकारीको बचत हिनामिनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्।
धनराजले मितेरी सहकारीमा गत वैशाख १७ गते ८२ लाख २६ हजार ९१४ र जेठ ६ गते ८ लाख ९८ हजार ७२० रुपैयाँ बुझाएका थिए। दुई पटकमा ९१ लाख तिर्नुअघि उनी मन्त्रीबाट हटेको धेरै भएको थिएन।
२०८० वैशाख २० गते कानुनमन्त्री नियुक्त भएका गुरुङ फागुन २१ सम्म पदमा बहाल रहेका थिए। उनले सहकारीलाई बुझाएको रकम भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिएको यसअघि नै खुलिसकेको छ।