BIZMANDU
www.bizmandu.com

रवि लामिछानेलाई लगियो बुटवल, सुप्रिम सहकारी ठगीको आरोपमा बयान लिइँदै

२०८१ कात्तिक २७

रवि लामिछानेलाई लगियो बुटवल, सुप्रिम सहकारी ठगीको आरोपमा बयान लिइँदै
रवि लामिछानेलाई लगियो बुटवल, सुप्रिम सहकारी ठगीको आरोपमा बयान लिइँदै


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि बुटवल लगिएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत मंगलबार पोखराबाट भैरहवा लगिएको हो।

उनलाई बिहान ८ बजेतिर जहाज चढाइए पनि भैरहवाको भिजिबिलिटी कम भएका कारण निर्धारित समयमा उडान हुन सकेन। भिजिबिलिटीमा सुधार भएपछि अपराह्न सवा १२ बजे रवि सवार जहाज भैरहवामा अवतरण गरेको छ।

उनीसँग दुई दिन बयान लिने प्रहरीको तयारी छ। त्यसपछि उनलाई पुनः पोखरा फर्काउने प्रहरी अधिकृतहरुले बताएका छन्।

कात्तिक २ गते काठमाडौंबाट समातिएका रविलाई हिरासतमा राखेर प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

उनी गोर्खा मिडिया प्रालिको सञ्चालक र प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायत सहकारीबाट रकम गएको देखिएपछि प्रहरीले अनुसन्धान गरिरहेको हो।

गोर्खा मिडियाका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि यसअघि पोखराबाट बुटवल लगेर प्रहरीले बयान लिएको थियो। जोशी हाल कास्की प्रहरीको हिरासतमा छन्।