काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजान प्रस्थान गरेका छन्।
अजरबैजानको बाकुमा कात्तिक २६ गते सुरु हुने कोप–२९ मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति आइतबार साँझ त्यसतर्फ लागेका हुन्।
भ्रमण दलमा वन तथा वातारणमन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिकी पत्नी, जल तथा वातावरणविज्ञ डा. परमेश्वर पोखरेल, मुख्य निजी सचिव अवज्ञा पौडेल, सञ्चारविज्ञ किरण पोखरेल, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर लगायत छन्। मुख्य निजी सचिव अवज्ञा राष्ट्रपतिकी छोरी हुन्।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र मन्त्रीहरुले बिदाइ गरे।

कोप-२९ अन्तर्गत कात्तिक २७ र २८ गते उच्चस्तरीय सत्र हुँदैछ। राष्ट्रपति पौडेलले त्यो सत्रमा कात्तिक २७ गते सम्बोधन गर्ने तालिका छ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तालिका छ।
सम्मेलन मंसिर ७ गतेसम्म चल्नेछ। राष्ट्रपति पौडेल भने कात्तिक ३० गते स्वदेश फर्कने तालिका छ।