काठमाडौं । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न भएको छ। सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने यो पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ।
यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ।
सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन्।
बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि बर्तालु राजधानीका छठ घाट गएका थिए।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा मानिस बिहीबारदेखि नै छठका लागि भेला भएका थिए। थापाथली, गुहेश्वरी, कमलपोखरी, कमलविनायक लगायतका स्थानमा आज बिहानै अर्घ्य दिएर छठ समापन गरिएको हो।