BIZMANDU
www.bizmandu.com

दशरथ रंगशालामा तेस्रोपटक ‘हार्टब्रेक’, ८१ मिनेटको गोल जसले १५ हजार दर्शकलाई बनायो स्तब्ध

२०८१ कात्तिक १४

दशरथ रंगशालामा तेस्रोपटक ‘हार्टब्रेक’, ८१ मिनेटको गोल जसले १५ हजार दर्शकलाई बनायो स्तब्ध
दशरथ रंगशालामा तेस्रोपटक ‘हार्टब्रेक’, ८१ मिनेटको गोल जसले १५ हजार दर्शकलाई बनायो स्तब्ध

काठमाडौं । २०२२ मा भएको साफ महिला च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई पराजित गर्‍यो। नेपालमै भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई हराउँदै पहिलो पटक उपाधि उचाल्यो। यस वर्ष पनि त्यही दोहोरियो।

Tata
GBIME
Nepal Life

साफ महिला च्याम्पियनसिपमा बंगलादेशले फेरि नेपाललाई पराजित गरेर दोस्रो पटक च्याम्पियन बनेको छ। नेपाल भने छैठौंपटक फाइनलमा पराजित भएर उपाधि उचाल्ने सपनाबाट अझ टाढिएको छ।

साफ महिला च्याम्पियनसिपको योसँगै पछिल्लो दुई संस्करण नेपालमै भएको थियो। जसमा नेपाल लगातार तीनै खेलमा दोस्रो बन्यो।

आज भएको फाइनल खेलमा पहिलो हाफ गोलरहित भएको थियो। खेलको दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो। दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन्। ५६ मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काउँदै खेललाई बराबरीको अवस्थामा ल्याइन्।

त्यसपछि खेल अन्तिम समयतिर पुग्दा बंगलादेशले गोल थपेको थियो। ८१ मिनेटमा बंगलादेशकी ऋतु पोर्नाले गोल गरेर बंगलादेशलाई अग्रता दिलाइन्।

तर निर्धारित समयमा नेपालले गोल फर्काउन नसकेपछि घरेलु मैदानमा पहिलो पटक साफ च्याम्पियन बनेर ट्रफी उचाल्ने सपना उधुरै बनेको हो।

आजको खेलमा १५ हजारभन्दा बढी दर्शक दशरथ रंगशालामा उपस्थित थिए। जसमा केही संख्यामा बंगलादेशका समर्थक पनि थिए।

अन्तिम समयमा बंगलादेशले गोले गरेर रंगशालालाई स्तब्ध बनाउँदा बंगलादेशी समर्थक भने खुसी थिए।

९० मिनेटमा थप ५ मिनेटसम्म गोल फर्काउन नेपालले अथक प्रयास गर्‍यो। त्यसबेला दर्शकहरुको हुटिङ पनि कम थिएन। तर, बंगलादेशसँग फेरि पराजित हुँदा स्टेडियममा नै निराशा फैलियो।

यससँगै नेपालको च्याम्पियन बन्ने सपना फेरि टुटेको छ। अब फेरि यही अवसरका लागि नेपाली टिमले ठूलै मिहिनेत गर्नुपर्ने स्वयम् खेलाडीले बताएका छन्।

खेलपछि विजेता र उपविजेता टोलीलाई मेडलसहित पुरस्कृत गरिएको थियो। फेयर प्ले अवार्ड भुटानलाई दिइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए।