काठमाडौं। समस्याग्रस्त सहकारीका ६ हजार १५५ बचतकर्ताले आफ्नो शतप्रतिशत बचत फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बचतकर्तालाई १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ फिर्ता गरिएको जानकारी दिएको हो। यसमा ४३८ बचतकर्ताले पाएको आंशिक भुक्तानी पनि समावेश छ। ४३८ बचतकर्ताले ३ करोड रुपैयाँ भन्दा केही बढी पाएका छन्।
समस्याग्रस्त सहकारीको संख्या २२ वटा रहेकामा समितिले तीनवटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेको हो।
समस्याग्रस्त सहकारीका ५६ हजार ६०५ बचतकर्ताको ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार ८११ रुपैयाँ बचत फिर्ता हुन बाँकी छ।
समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त बाँकी १९ वटा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि काम भइरहेको बताए। समितिले ती सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न कात्तिक १५ गतेसम्मको म्याद दिएको छ।
गौतमले ऋण चुक्ता नगर्ने सहकारीका ऋणीका एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी अगाडि बढाएको बताए। उनका अनुसार सम्पत्ति र राहदानी तिहारपछि रोक्का गरिने छ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो आर्थिक वर्षको अन्त्यसम्म थप नौवटा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम राफसाफ गर्ने बताए।
उनले सहकारीबाट समस्यामा परेकाहरुको समस्या समाधानका लागि कानुन संशोधन गर्न लागेको बताए। उनका अनुसार बचत हिनामिना गर्ने थप केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी छ।