काठमाडौं। दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान अझै सकिएको छैन। सोमबार साँझ पनि बयान लिइएको छ।
प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा बयान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार अबको दुई दिनभित्र बयान सक्ने तयारी छ।
‘तीन वटै मुद्दामा बयान भइरहेको छ। हामीले अहिले बयानसँगै अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले भने।
रविलाई अहिले हिरासत कक्षमा राखिएको छ। सुरुमा हिरासत कक्षको सुरक्षा गार्डको क्वाटरमा राखिएको थियो। हिरासत कक्षमा रविसँग अन्य थुनुवा भने छैनन्।
रविलाई दोस्रोपटक हिरासतमा राख्न अदालतले दिएको ७ दिनको म्याद बुधबार सकिंदैछ। तर, बिहिबारदेखि तिहार बिदा हुने भएकाले बयान सकिएको खण्डमा पनि रवि तिहारअघि छुट्ने अवस्था छैन। अनुसन्धान नसकेको खण्डमा प्रहरीले रविलाई म्याद थपका लागि तिहार बिदापछि फेरि अदालत लानेछ। त्यसपछि मात्र प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने छ।
रविविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अदालतबाट पक्राउ पुर्जी लिएकाले सुप्रिम सहकारीको रकम अपचलनमा पनि उनीमाथि अनुसन्धान हुने देखिएको छ। तर, अहिलेसम्म कास्की प्रहरीमा रुपन्देही प्रहरीबाट रविलाई उपलब्ध गराइदिन पत्र नआएको डीएसपी शर्माले बताए। ‘अहिलेसम्म हामीलाई कुनै पत्र आएको छैन,’ उनले भने।
रवि समातिनुअघि पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई भने बयानका लागि बुटवल लगिएको थियो। सुप्रिम सहकारीको रकम अपचलनमा पनि प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको झैं पूरक अनुसन्धान गरिरहेको छ।
‘रविको केसमा उतैको टोली आएर पनि बयान लिन सक्छ,’ प्रहरी स्रोतले भन्यो।
रवि गोर्खा मिडियामा सञ्चालक तथा प्रबन्ध निर्देशक रहँदा विभिन्न चार वटा सहकारीबाट ६५ करोड रुपैयाँ आएको थियो। संसद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा रविलाई पक्राउ गरिएको हो।
गोर्खा मिडियासँग जोडिएका बाँकी सहकारीको रकम अपचलनमा पनि पूरक अनुसन्धान हुँदैछ। चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडियामा रकम आएको देखिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी लिएर स्वर्णलक्ष्मीको अनुसन्धान थालेको छ। रवि यो अनुसन्धानमा पनि तानिनेछन्। ‘गोर्खा मिडियामा रकम गएका सहकारीको एक पटक पूरक अनुसन्धान गर्नुपर्छ भन्ने नै हो,’ प्रहरीका एक उच्च अधिकृतले सुनाए।
ती प्रहरी अधिकृतका अनुसार रविमाथि यसअघि शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मामाथि जस्तै अनुसन्धान हुने बताए। केदारनाथविरुद्ध विभिन्न जिल्लामा उजुरी परेकाले प्रहरीले काठमाडौंदेखि कञ्चनपुरसम्म लगेर अनुसन्धान गरेको थियो।
सहकारी ठगीका साथै सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएका केदारनाथ अहिले पुर्पक्षका लागि थुनामा छन्।