BIZMANDU
www.bizmandu.com

भीमसरिया समूहले बेच्दै आएको आइफोन-१६ सिरिज चौधरी समूहले पनि बेच्न थाल्यो

२०८१ कात्तिक १३

भीमसरिया समूहले बेच्दै आएको आइफोन-१६ सिरिज चौधरी समूहले पनि बेच्न थाल्यो
भीमसरिया समूहले बेच्दै आएको आइफोन-१६ सिरिज चौधरी समूहले पनि बेच्न थाल्यो


काठमाडौं। भीमसरिया समूहले चौधरी समूहको सिजी मोबाइललाई आइफोन-१६ सिरिज बिक्रीको अनुमति दिएको छ। भीमसरिया समूहको जेनेरेसन नेक्स्टलाई अमेरिकास्थित एप्पलको मुख्यालयबाटै दबाब आएपछि आइफोन-१६ सिरिजका स्मार्टफोन बेच्न दिएको हो।

Tata
GBIME
NLIC

चौधरी समूह लामो समयदेखि आइफोनसहित एप्पलका उत्पादनको आधिकारिक डिस्ट्रिब्यूटर लिन खोजिरहेको छ। पछिल्लो समय चौधरी समूह विगत ९ महिनादेखि नेपालमा एप्पलका उत्पादन बिक्रीको अनुमति लिने प्रयासमा थियो। 

स्रोतका अनुसार आइफोन-१४ लन्च हुँदादेखि नै चौधरी समूह आधिकारिक बिक्रेता लिन दौडधुपमा थियो। स्रोतका अनुसार आइफोनको आधिकारिक बिक्रेता लिन चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी एग्रेसिभ रुपमा लागेका छन्।

त्यही भएर नेपालमा एप्पलका उत्पादन बिक्रीसम्बन्धी सम्पूर्ण प्रस्ताव एप्पल मुख्यालयमा पुगेको हो। चौधरी समूहले एप्पललाई उसका प्रडक्ट नेपालमा बिक्री गर्न तयार रहेको भन्दै कर्पोरेट सेल्स (इन्टरप्राइज), सोरुम सेल्स, डिस्ट्रिब्यूसनलगायतका समग्र पक्षको प्रस्ताव एप्पललाई दिएको छ। 

जेनेरेसन नेक्स्टले नेपालमा एप्पलका उत्पादन आयात गरेर बिक्री वितरण गरिरहेको अवस्थामा उसले चौधरी समूहलाई सिधैं नयाँ आयातकर्ता नियुक्त भने गरेको छैन। चौधरी समूहले रिटेलरलाई बिक्री भने गर्न पाउँदैन। 

भीमसरिया समूहबाट सिजी मोबाइलले ५० थान आइफोन-१६ सिरिजका विभिन्न मोडलको बिलिङ गरेर लगेको छ। अनुमति पाएसँगै चौधरी समूहअन्तर्गतको सिजी मोबाइलले आइफोन-१६ सिरिज बिक्रीमा राखेको हो। सिजी मोबाइलले चौधरी समूहकै सिजी डिजिटल र देशभर रहेका शोरुमहरुमार्फत आइफोनको लेटेस्ट मोडल १६ सिरिज बेच्न थालेको छ। 

सिजी मोबाइलका बिजेनस युनिट हेड विनय जोशीले आइफोन-१६ सिरिज सिजीका देशभर रहेका २८ वटा शोरुमबाट बिक्री हुने जानकारी दिए। दक्षिण कोरियामा एलजीका जतिपनि शोरुम छन् त्यहाँबाट पनि एप्पलका प्रडक्ट बिक्री गर्न एप्पलले अनुमति दिएको बताउँदै त्यही मोडलमा नेपालमा पनि सुरु गरिएको उनको भनाइ छ। चौधरी समूहले एलजीका हरेक शोरुममा एप्पलका लागि भनेर छुट्टै स्पेस तयार गरेको छ। 

‘एप्पलका उत्पादन बिक्री गर्न अहिले हामी पहिलो चरणमा छौं। यो रोकिंदैन। अहिलेका लागि जेनेरेसन नेक्स्टसँगै आइफोन किनिरहेका छौं। विस्तारै हामीले हाम्रो व्यापार बढाउँदै जाँदा थप नयाँ उचाईमा पुग्न सक्छौं। किनभने देशभर हाम्रो राम्रो नेटवर्क छ। कसैसँग भर पर्नै पर्दैन। एप्पलका उत्पादन बेच्ने अरु स्टोरहरुको पनि यति धेरै नेटवर्क छैन। चाडपर्वलाई लक्षित गर्दै बिक्री थालेका हौं,’ जोशीले भने।

चौधरी समूहले आइफोनका पुराना मोडल चलाइरहेका ग्राहकहरुका लागि आइफोन-१६ सिरिजसँग एक्सचेन्ज गर्ने सुविधासमेत ल्याएको छ। उसले ‘अस्योर्ड बाइब्याक’ नामक नयाँ स्किम पनि घोषणा गरेको छ।

आइफोन-१६ सिरिज

‘अस्योर्ड बाइब्याक भनेको हाम्रो शोरुमबाट आज कुनै मोडलको स्मार्टफोन किन्नु भयो भने त्यही फोन एक वर्षभित्र हामीलाई नै बेच्न पाउनुहुन्छ। फोन किन्ने बेलामै हामी त्यसको खरिदको ग्यारेन्टी गर्छौं। ३, ६, ९ र १२ महिनाभित्र आउनु भयो भने यति पैसा पाउनुहुन्छ भनेर तय गरिदिन्छौं। तर, फोन टुटफुट नभएको हुनुपर्छ। स्वस्थ अवस्थामा हुनुपर्छ,’ जोशीले भने। 

एप्पलका प्रडक्ट नेपालमा बिक्री गर्दा सिंगापुरस्थित कार्यालयबाटै मूल्य तोकेर आउने भएकाले मूल्य एउटै हुन्छ।

नेपालका लागि एप्पल ब्राण्डको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनको व्यापारमा भने उछाल देखिएको छ। कम्पनी नेपालमा एप्पलसँगै डेलका उत्पादन बिक्री गर्ने आधिकारिक वितरक हो। कम्पनीले सन् २०२३/२४ मा ४ अर्ब ३२ करोड रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ११ करोड रुपैयाँ बढी हो।

सिजी मोबाइलले गत असारमा नथिङ ब्राण्डको स्मार्टफोन नेपालमा लन्च गरेको थियो। नथिङको सीएमएफ फोन वान, सीएमएफ बड्स प्रो टु र वाच प्रो टु चौधरी समूहले नेपाल भित्र्याएको थियो। कम्पनीले नथिङ ब्राण्डको स्मार्टफोन, स्मार्टवाच र एयरबड्स नेपालमा बेचिरहेको छ। चौधरी समूहले तिहारलगत्तै नेपालमा मोटोरोलाका स्मार्टफोनसमेत लन्च गर्दैछ।