स्पेनिस ला लिगामा गएराति सम्पन्न एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ। रियल मड्रिडको घरेलु मैदान सान्टिआगो बर्नेबेउमा करिब ७९ हजार दर्शकबीच सम्पन्न खेलमा पाहुना टोली बार्सिलोनाले ४-० गोलको रवाफिलो जित निकाल्न सफल भएको हो।
घरेलु टोलीले पहिलो हाफमा केही राम्रा अवसरहरु बनाए पनि गोल गर्न भने चुक्यो।
खेलको २१ औँ मिनेटमा भिनिसियस जुनियल बार्सिलोनाका डिफेन्डर बिट गरिसकेपछि पनि गोलपोस्ट बाहिर प्रहार गर्न पुगे। त्यस्तै २९ औँ मिनेटमा मड्रिडका लागि गोल गरेर किलियन एम्बाप्पेले सेलिब्रेट समेत गरिसकेपछि रेफ्रीले भीएआरको सहायतामा त्यसलाई अफसाइड करार दिए। योसँगै आफ्नो करियरको पहिलो एल क्लासिकोमा एम्बाप्पेले गोल गर्न सकेनन्। उनले दोस्रो हाफमा पनि वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेका थिए भने उनले अर्को एउटा अफसाइड गोल पनि गर्न पुगेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफमा भने पाहुना टोलीले खेलको मोमेन्टम आफ्नो पक्षमा ल्याउन सफल भयो।
खेलको ५४ औँ मिनेटमा मार्क कासाडोको लामो पासमा पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए। त्यसको दुई मिनेट नबित्दै फेरि उनैले अलेजान्द्रो बार्डीले निकालेको क्रसमा हेडर मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।
बार्सिलोनाका लागि तेस्रो पछिल्लो गोल युरो कपमा स्पेनका नायक बनेका युवा खेलाडी लामिन यमलले गरे। राफिन्हालको पासमा उनले ७७ औँ मिनेटमा गोल गरेका हुन्। त्यस्तै चौथो गोल राफिन्हाले इनिगो मार्टिनेजको लामो पासमा ८४ औँ मिनेटमा गरे।
यो जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनले अंकतालिकमा ६ अंकको फड्को मारेको छ। ११ खेलबाट बार्सिलोनाले ३० अंक जोड्दा समान खेलबाट रियल मड्रिडले २४ अंक बनाएको छ।