काठमाडौं। आगामी बिहीबार लक्ष्मीपूजा छ। तिहारको संघारमा मिठाई पसलहरूमा ड्राइफ्रुट्सको प्याकिङ सुरु भइसकेको छ। तिहारमा पूजाआजा र उपहारका लागि मिठाई तथा ड्राइफ्रुट्सको खपत बढ्ने गर्छ। त्यसैले कारोबारीहरू उल्लेख्य परिमाणमा बिक्रीको अर्डर पर्खँदै छन्।
विगतका वर्षहरूमा दसैंतिहारमा व्यावसायिक क्षेत्रबाट मिठाई र ड्राइफ्रुट्सका लागि धेरै अर्डर हुने गरेको थियो। व्यवसायीहरूका अनुसार यसपटक उपत्यकाका ब्राण्डेड पसलमा कर्पोरेट क्षेत्रबाट अपेक्षाकृत अर्डर आएको छैन। केही पसलमा आएका अर्डर पनि ड्राइफ्रुट्सको भाउ बढेपछि रद्द हुन थालेको पाइएको छ। व्यवसायीले पहिलेभन्दा कम डाइफ्रुट्सको प्याकिङ गरिरहेका छन्।
लक्ष्मीपूजाको दिनदेखि मिठाईको परिकारको माग धेरै हुने भएकाले केही दिन अघिबाट तयारी थाल्नुपर्ने भए पनि यसपटक व्यवसायीहरू उत्साहित नभएको पाइएको छ। चिनी सस्तिएको छैन। ड्राइफ्रुट्स पनि महँगिएपछि केही मिठाईको भाउ बढेको छ। पसलहरूमा नियमित कारोबार राम्रो देखिए पनि ड्राइफ्रुट्सको अर्डर घट्दै गएको व्यवसायीले बताएका छन्।
चाडपर्वको समयमा मिठाईको भाउ नबढ्ने भए पनि अहिले काजु र बदामको मिठाईमा केही व्यवसायीले भाउ बढाएका छन्।
दरबारमार्गमा रहेको पावन स्वीट्समा कर्पोरेट क्षेत्रबाट हालसम्म मिठाई र ड्राइफ्रुट्सको अपेक्षाकृत परिमाणको अर्डर नआएको संचालक विनोद देवकोटाले बताए।
‘तिहारका लागि केही दिनअघि एउटा ठूलो कर्पोरेट कम्पनीबाट अर्डर आएको थियो। तर, ड्राइफ्रुट्स महँगो भयो भनेर त्यो अर्डर रद्द भयो,’ उनले भने।
ड्राइफ्रुट्स आयातमै महँगो परेको थोक विक्रेताको भनाइ छ। ‘पहिले काजु प्रति केजी १८ सय रुपैयाँ थियो, अहिले बढेर प्रति केजी २ हजारभन्दा माथि पुगेको छ,’ देवकोटाले भने, ‘राम्रो काजुमात्र २५ सय भन्न थालेका छन्। हामीले पनि बजारबाटै खरिद गरेर मिठाईका बनाउने गरेका छौं।’ खरिदमै महँगो परेपछि मिष्ठान्न पसलहरूले सस्तोमा बेच्न नसक्ने उनले गुनासो गरे।
‘ड्राइफ्रुट्समात्र बिक्री गर्नु पर्दा त्यही बिक्री गर्ने हो। बदामको भाउ पनि केजीमा २ सयभन्दा धेरै बढेको छ,’ उनले भने, ‘काजु र बदामको भाउ बढ्दा मिठाईको पनि भाउ बढ्दै गएको छ। अहिले अन्य मिठाई पुरानै मूल्यमै बिक्री गरेका छौं। काजु र बदामको केही मिठाईको भाउ केजीमा १०० रुपैयाँ बढेको छ।’
१७०० सय केजी रहेको काजुको बर्फीलाई अहिले १८०० पर्छ। पोहोर तिहारमा १२०० रुपैयाँमा प्याकिङ गरेको ४ थरी ड्राइफ्रुट्सको थाली यस पाली २००० रुपैयाँ पर्ने भएको छ। यसले गर्दा यसपटक कम ड्राइफ्रुट्सको प्याकिङ न्यून मात्रामा गर्ने तयारी रहेको उनको भनाइ छ।
आँगन स्विट्सका ब्रान्च म्यानेजर सुनिल चौधरीले हालसम्म कर्पोरेट अर्डर नआएको बताए। ‘जुन दिन चाहिन्छ सोही दिनमात्र लिन आउँछन्। पहिलेजस्तो केही समयअघि नै मिठाई र ड्राइफ्रुट्सको अर्डर आएको छैन,’ उनले भने।
आउटलेटहरूको काउन्टरबाट नियमित कारोबार भइरहेको भए पनि अपेक्षाअनुसार व्यवसाय उत्साहजनक नभएको उनले बताए। ‘पोहोरको तुलनामा मिठाईको कारोबार र अर्डर दुवै कम हुने अनुमान गरिरहेका छौं,’ उनले भने।
फुटकर खरिदका लागि ग्राहकको आउजाउ भइरहे पनि तिहारका लागि भनेर ठूलो परिमाणमा अर्डर आइनसकेको उनले बताए। ‘बजार महँगो छैन। काजु र बदाम प्रयोग हुने केही मिठाईमा मात्र मूल्य थोरै बढेको छ। अन्य मिठाईको भाउ चाडपर्वको समयमा बढाइएको छैन,’ चौधरीले भने। पछिल्लो समय मिठाईको कारोबार घटिरहेका बेला चाडपर्वमा थप भाउ बढाउदा कारोबारमा असर पर्ने उनको भनाइ छ।
अर्को मिष्ठान्न कारोबारी सजन गोठका म्यानेटर रामप्रसाद घिमिरे तिहारका लागि अर्डर आइनसकेको बताउँछन्। ‘मिठाईको अर्डर लक्ष्मीपूजाको अघिल्लो दिनदेखि आउने अनुमान छ। अहिले ड्राइफ्रुट्स प्याकिङ गरिरहेका छौं,’ उनले भने, ‘हालसम्म कर्पोरेट क्षेत्रबाट अर्डर नआएको हुनाले अघिल्लो वर्षभन्दा आधै मात्रै प्याकिङ हुँदैछ।’
तिहारमा मिठाईको भाउ नबढेको उनले बताए। ‘उपभोक्ताले पहिले खरिद गरिरहेको मूल्यमा पाउँछन्। काजु र बदामको भाउ बढ्यो भन्दैमा चाडपर्वको समयमा मिठाईको भाउ बढाउने भन्ने हुँदैन,’ घिमिरेले भने।
उनका अनुसार पहिलेको अनुपातमा अर्डर ५० प्रतिशत कम भइसकेको छ। आएका अर्डरमध्ये पनि परिमाण कम भएर आउन थालेको छ।
मिठाईको भन्दा ड्राइफ्रुट्सको प्याकिङ महँगो भएको व्यवसायी बताउँछन्। ड्राइफ्रुट्सको भाउ बढेसँगै पोहोर १५ सय पर्ने ट्रे अहिले २५ सय रुपैयाँसम्म पर्ने भएको छ। मिष्ठान्न व्यवसायीका अनुसार १०० वटा अर्डर गर्ने गरेका कम्पनीले अहिले ३० देखि ३५ वटामात्रै अर्डर गर्छन्। एक केजी मिठाई लैजाने ग्राहकले आधा केजी वा ८०० ग्राम लैजान थालेका छन्।
‘अर्डर घटेकै छ। अर्डर कम हुँदा व्यवसायीको अपेक्षाअनुसार कारोबार छैन,’ घिमिरेले भने, ‘काउन्टरबाट खुद्रा कारोबार भइरहेको छ। तिहारमा कारोबार नहुने भन्ने हुँदैन तर गत वर्षको भन्दा केही कम व्यापार हुने देखिइसकेको छ।’
धेरैजसो व्यवसायीले आगामी सातादेखि मात्रै मिठाईको प्याकिङ गर्ने बताएका छन्। ड्राइफ्रुट्स जस्तो पहिले नै मिठाई प्याकिङ गर्दा बिग्रने भएकाले तिहारभन्दा केही दिन अघिमात्रै प्याकिङ गर्छन्। धेरै ग्राहकले आफ्नो रोजाइअनुसार प्याकिङ गराउने हुनाले काउन्टरबाट मात्रै राम्रो कारोबार हुने पाइएको छ। बजारमा कम्पनी अनुसार मिठाईको भाउ छुट्टाछुट्टै छ।