BIZMANDU
www.bizmandu.com

जेल्ज ट्रक लिएर पोलिस टोली पोखरामा, अन्नपूर्ण साउथ आरोहणका तस्बिर प्रदर्शनी

२०८१ कात्तिक ८

जेल्ज ट्रक लिएर पोलिस टोली पोखरामा, अन्नपूर्ण साउथ आरोहणका तस्बिर प्रदर्शनी
जेल्ज ट्रक लिएर पोलिस टोली पोखरामा, अन्नपूर्ण साउथ आरोहणका तस्बिर प्रदर्शनी


पोखरा। पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका तस्बिरहरु बुधबारबाट अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ। जल्सिजम हिमालज फाउन्डेसनले उक्त आरोहण अभियानका २५ फोटो एक साताका लागि प्रदर्शनीमा राखेको हो।

Tata
GBIME
NLIC

अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी छन्। जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार ६ सय किलोमिटर यात्रा गर्दै पोखरा आइपुगेको हो। संसारलाई अन्नपूर्ण साउथ आरोहणको उपलब्धि पुनर्स्मरण गराउने लक्ष्यसहित १० देश पार गर्दै ६ सदस्यीय टोली पोखरा आएको जनाइएको छ।

यसअघि टोली ट्रक लिएर पहिलो पटक १९७९ मा पोल्यान्डबाट स्लोभाकिया, हंगेरी, सोमानिया, बुल्गेरिया, टर्की, इरान, पाकिस्थान, भारत हुँदै नेपाल आएको थियो। अहिले पनि त्यो बेलाकै ट्रक र बाटो प्रयोग गरी टोली नेपाल आइपुगेको हो। टोलीका सदस्य मासिज पेट्रोविसले यसपालि टोलीले अन्नपूर्ण आधार शिविर पुगी आरोहणका क्रममा ज्यान गुमाएका २ सदस्यको स्मरणसमेत गरेको बताए।

सन् १९७० र ८० को दशकमा जेल्स ट्रकको माध्यमबाट धेरै पोलिस आरोहीले संसारका विभिन्न देश पुगी हिमाल आरोहण गरेका थिए। १९७९ का अन्नपूर्ण साउथ आरोही राइसाल्ड विलोजोस्कीले झ्यालैबाट हिमाल देखिने संग्रहालय नै यी तस्बिरहरुको सबैभन्दा उपयुक्त स्थान भएको बताए।

पहिले हिउँ अलि धेरै देखिने गरेको सम्झिँदै उनले हिउँ कम भएको र समय व्यतीत भएकोबाहेक हिमालहरु उस्तै रहेको सुनाए। जेल्स ट्रक डिसेम्बरसम्म पोखरामै रहने छ।

आगामी डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने पर्वतीय महोत्सवमा पनि तस्बिर र ट्रकसमेत रहने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन। पर्वतीय संस्कृति र हिमालबारे बुझाउने स्थल र अनुसन्धान केन्द्र बनेको संग्रहालय गत वर्ष एक सय पाँच देशका करिब दुई लाखले अवलोकन गरेको तथ्यांक छ।