काठमाडौं। डेडिकेटेड र ट्रंकलाइन महसुल नतिरेका उद्योगको लाइनका विषयमा निर्णय गर्न नेपाल विद्युत प्राधिकरणले विहीबार विहान ९ बजे संचालक समिति बैठक बोलाएको छ।
ऊर्जामन्त्री दीपक खड्काको निर्देशनमा प्रवन्ध निर्देशक कुलमान घिसिङले बैठक डाकेका हुन्। बैठकमा डेडिकेटेड र ट्रंक लाइन महसुल विवादको एजेण्डा भने राखिएको छ। घिसिङले आफूलाई स्पष्टीकरण सोधेपछि असोज २४ गते डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेका थिए। सो सूचना अनुसार विहीबारसम्म बक्यौता तिर्ने समय हो।
‘ऊर्जामन्त्रीको निर्देशनमा बोर्ड डाकिएको हो। डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेका उद्योगको लाइनका विषयको एजेण्डा भने छैन,’ प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘मन्त्रीज्यूबाटै यो एजेण्डा राख्ने र निर्णय गराउने तयारी हुनसक्छ।’ स्रोतका अनुसार ऊर्जामन्त्री खड्काबाट सार्वजनिक लेखा समितिले डेडिकेटेड ट्रंकलाइन विवादमा अनुसन्धान गरिरहेकाले तत्काल लाइन काट्न नहुने प्रस्ताव आउनसक्छ।
सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंकलाइन विवादमा प्राधिकरणसँग टीओडी मिटरको डेटा मागेको थियो। प्राधिकरणले टीओडीमिटर समितिमा बुझाइसकेको छ। टीओडी मिटरको डेटा दिएपछि प्राधिकरणले भने अहिलेसम्म पनि खोलेर हेर्न सकेको छैन। डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा उद्योगीले प्रमाण दिएमात्रै तिर्ने अडान राखेका छन् भने प्रवन्ध निर्देशक घिसिङले प्रमाणकै आधारमा बक्यौताको सूचना निकालेको दाबी गरिरहेका छन्।