काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बीच पनि प्रगतिको लयमा रहेको बताएका छन्।
उनले बुधबार सरकारले १०० दिनमा गरेका मुख्य काम सार्वजनिक गर्ने क्रममा सेयर बजार प्रगतिको लयमा रहेको बताएका हुन्।
ओलीले गत साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा सेयर बजारमा देखिएको वृद्धिलाई नयाँ सरकारप्रतिको भरोसाका रुपमा अर्थ्याएका थिए।
‘उत्साहको शृंखला प्रारम्भ भएको छ। अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ। ५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो दुई सातामा ४०० अंकले बढेको छ। सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो। अब सेयर बजार मात्रै होइन, देशको पूरै बजार चलायमान हुनेछ,’ उनले भनेका थिए।
नेप्से परिसूचक नयाँ सरकार गठनपछि निरन्तर उकालो लागेर साउन मसान्तमा ३००० विन्दुमा पुगेकामा बजार सुधारका लागि सिन्को पनि नभाँचिएपछि अहिले २६४५ विन्दुमा छ।
ओलीले नयाँ सरकार आएपछि अर्थतन्त्रमा सुधारका संकेत देखिएको दाबी गरे। ‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो। आज त्यसमा सुधारका संकेतहरु देखिएका छन्। निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुधारका लागि आर्थिक सुधार सुझाव आयोग गठनले व्यवसायीहरुमा आत्मविश्वास बढ्दै गएको छ,’ उनले भने।
तर, अर्थतन्त्र सुधार हुनुको साटो झन् बिग्रेर गएको बुधबार नै सार्वजनिक भन्सार विभागको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष तीन महिनामा पोहोर सोही अवधिको तुलनामा आयात निर्यात दुवैमा गिरावट आएको छ। बजारको मागमा कमीले आयात निर्यात खस्किन पुगेको हो।