BIZMANDU
www.bizmandu.com

सरकारलाई विपक्षी दलको चेतावनी: अध्यादेश नल्याउनु, कुलमानलाई नचलाउनु

२०८१ कात्तिक ५

सरकारलाई विपक्षी दलको चेतावनी: अध्यादेश नल्याउनु, कुलमानलाई नचलाउनु
सरकारलाई विपक्षी दलको चेतावनी: अध्यादेश नल्याउनु, कुलमानलाई नचलाउनु

काठमाडौं। प्रतिपक्षी दलको नेतृत्व गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ध्यानकर्षण पत्र बुझाएका छन्। सोमबार साँझ दाहालसहितको विपक्षीको टोलीले दल विभाजनसम्बन्धी अध्यादेश जारी नगर्न चेतावनी दिँदै ध्यानाकर्षणपत्र बुझाएको हो।

Tata
GBIME
Nepal Life

१३ बुँदे ज्ञापनपत्रमा दल विभाजसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिइएको छ। ‘राज्यसामू आएका जल्दा-बल्दा समस्याहरुलाई सम्बोधन गर्न संसदमा रहेका प्रतिपक्षी दलहरु समेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको साटो सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न तथा अन्य दलहरुलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने जस्ता कुनै पनि कार्य नगरियोस्,’ विपक्षी दलको ज्ञापनपत्रमा भनिएको छ।

प्रधानमन्त्री ओलीले साना दल फुटाउने गरी अध्यादेश ल्याउने चर्चासँगै विपक्षी दलले यो विषय पनि पत्रमा समावेश गरेका हुन्।

त्यसैगरी विपक्षी ५ दलले नेपाल विद्युत् प्रधिकरणमा राजनीतिक हस्ताक्षेप नगर्न चेतावनी दिइएको छ। ‘नेपाल विद्युत् प्रधिकरणलगायतका सार्वजनिक संस्थान, विश्वविद्यालय र कर्मचारीतन्त्रमा भइरहेको राजनीतिक हस्तक्षेपका साथै स्थानीय तह र सुरक्षा निकायहरुमा बिना मापदण्ड अनावश्यक कर्मचारी सरुवा बन्द गरियोस्,’ उक्त ज्ञापनपत्रमा भनिएको छ।

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने उद्देश्यअनुरुप स्पष्टीकरण सोधेको थियो।

त्यसैगरी विपक्षी दलले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको भवनका लागि एक अर्ब बराबरको जग्गा दान लिएर सुशासनको उपहास गरेको आरोप उक्त ज्ञापनपत्रमा गरिएको छ। दिउँसो ४:३० बजे बुझाउने तय भएको ज्ञापनपत्र प्रचण्ड रोल्पाबाट फर्कन ढिला भएपछि साँझ बुझाइएको हो।