BIZMANDU
www.bizmandu.com

माथिल्लो तामाकोशीबाट तिहारदेखि आंशिकरुपमा विद्युत उत्पादन गर्ने तयारी, धमाधम काम गरिंदै

२०८१ कात्तिक १

माथिल्लो तामाकोशीबाट तिहारदेखि आंशिकरुपमा विद्युत उत्पादन गर्ने तयारी, धमाधम काम गरिंदै
माथिल्लो तामाकोशीबाट तिहारदेखि आंशिकरुपमा विद्युत उत्पादन गर्ने तयारी, धमाधम काम गरिंदै


काठमाडौं। पहिरोले क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट तिहारदेखि आंशिकरुपमा विद्युत उत्पादन गर्ने तयारी गरिएको छ।

Tata
GBIME
NLIC

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतमले तिहारबाट आंशिकरुपमा विद्यतु उत्पादन गर्ने लक्ष्य अनुसार काम गरिरहेको जानकारी दिए।

‘कम क्षति भएको साइडबाट थोरै क्षमतामा भएपनि विद्युत उत्पादन गर्ने तयारी गरिरहका छौं। एउटा बेसिन तिहारसम्म सञ्चालन गर्नेगरी काम भइरहेको छ,’ उनले भने।

असोज १० गते आयोजनाको बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर)मा ठूलो ढुंगा खसेको थियो। गौतमका अनुसार डिस्यान्डरबाट ढुंगा र लेदो निकाल्न सुरु गरिएको छ।

पहिरोले डिस्याण्डरका साथै आयोजनाको नियन्त्रण कक्ष, बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) लगायत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। जसका कारण देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको आयोजना बन्द छ।

आयोजना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन भने समय लाग्ने गौतमले बताए। ‘पूर्ण क्षमतामा सञ्चालन गर्न समय लाग्छ किनभने आयोजना मर्मतका लागि कन्ट्राक्ट नै गर्नुपर्छ। टेण्डर आह्वान गरेर काम गर्नुपर्ने भएकाले ५/६ महिना नै लाग्छ,’ उनले भने।

आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग हालसम्म पनि खुलेको छैन। आयोजना रहेको लामाबगर क्षेत्रमा करिब ५० मिटर बाटो बाढीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

निर्यातमा असर

गत वर्ष १७ अर्ब ६ करोडको विद्युत निर्यात गरेको प्राधिकरणले यस वर्ष भारतलाई ३० अर्बको विद्युत बेच्ने लक्ष्य लिएकामा बाढीपहिरोले बर्बाद भएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी सहितका केही आयोजनाको उत्पादन ठप्प भएकाले लक्ष्यमा ठेस लागेको बताए।

‘चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं। बाढीपहिरोले जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेकाले ठूलो ठेस लागेको छ,’ घिसिङले भने।

प्राधिकरणले २८ आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न स्वीकृति पाएकामा अहिले ३०० मेगावाटभन्दा निर्यात गर्न सकेको छैन। बाढीपहिरोले जलविद्युत आयोजनामा क्षति पुग्नुअघि प्राधिकरणले ७०० मेगावाटसम्म निर्यात गर्दै आएको थियो।