जनकपुरधाम। गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष २०८०/८१ मा ४ सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोबार गर्न नयाँ नापतौलसम्बन्धी इजाजतपत्र प्रदान गरेको छ।
कार्यालयले २ हजार ३ सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ। प्राप्त विवरणअनुसार तोकिएको मापदण्डविपरीत ढक र तराजु प्रयोग गर्ने १ हजार ७ सय १७ व्यापारीलाई कारबाही गरी जरिबानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए।
धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछाप गरी कुल ५ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारबाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा ४० लाख ६७ हजार २ सय ४२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। रासस