BIZMANDU
www.bizmandu.com

भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट, गत वर्षभन्दा ८ प्रतिशत कम

२०८१ कात्तिक १

भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट, गत वर्षभन्दा ८ प्रतिशत कम
भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट, गत वर्षभन्दा ८ प्रतिशत कम


हेलसिन्की, (फिनल्यान्ड)। फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियालाई भारतमा आफ्नो घट्दो कारोबारले असर पारेको छ। कम्पनीले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको सार्वजनिक गर्दा भारतमा आफ्नो घट्दो कारोबारप्रति चिन्ता जनाएको हो।

Tata
GBIME
NLIC

नोकियाले तेस्रो त्रैमासमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर) को बिक्री भएको घोषणा गरेको छ। कम्पनीको यो कारोबार एक वर्ष अघिको तुलनामा ८ प्रतिशत कम हो।

कम्पनीले भनेको छ- ‘मुख्यतया भारतमा मोबाइल नेटवर्कमा आएको गिरावटका साथै क्लाउड र नेटवर्क सेवाहरूमा भएको विनिवेशले बिक्रीलाई प्रभावित गरेको छ।’

‘सुधारिएको उत्पादन मिश्रण, क्षेत्रीय मिश्रण र उत्पादन लागत कम गर्ने कार्यहरूको संयोजनबाट प्रेरित मुनाफा ३२ प्रतिशतले बढेर १७ करोड ५० लाख युरो पुगेको छ,’ नोकियाका प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले भने, ‘नोकियाले अहिले हाम्रो व्यवसायलाई धेरै क्षेत्रमा पछि पारिरहेको छ, यद्यपि केही क्षेत्रले बजार कमजोरीको अनुभव गरिरहेका छन्।’

कम्पनीले आफ्नो सञ्चालन मुनाफा २.३ अर्बदेखि २.९ अर्ब यूरोको बीचमा राखेको उनले बताएका छन्। ‘यद्यपि शुद्ध बिक्रीको रिकभरी हामीले अपेक्षा गरेभन्दा ढिलो भइरहेको छ,’ उनले भनेका छन्।

फिनल्यान्डको बजार अनुसन्धान फर्म टेन्डर्सका विश्लेषक अट्टे रिकोलाले एएफपीलाई बताएअनुसार नोकियाको आम्दानीको विकास केही अपवादबाहेक अपेक्षाअनुरूप नै भएको छ।

रिकोलाले भने, ‘नोकियाको खुद बिक्री एक वर्षदेखि घट्दै गए पनि अहिले भने सामान्य सुधारको अपेक्षा गरिएको छ। खुद बिक्री अझै घटेको छ किनभने बजारमा सुधार अपेक्षित रूपमा छिटो हुन सकेको छैन।’

नेटवर्क व्यवसायमा चुनौती रहेको भन्दै नोकियाका लागि अर्को एक वर्ष कठिन हुने अपेक्षा गरिएको उनले बताए। ‘अहिले एक अर्को वर्ष आम्दानी नबढ्ने अनुमान गरिएको छ,’ उनले भने।

नोकिया, स्वीडेनको एरिक्सन र चीनको हुवावेजस्ता प्रमुख दूरसञ्चार उपकरण निर्माताहरूले आफ्ना ग्राहकहरू अर्थात् टेलिकम अपरेटरहरूको लगानीमा मन्दी र भारतमा सुस्त वृद्धिको सामना गरेका छन्। रिकोलाले भने, ‘अझै धेरै वर्षसम्म बजार वृद्धि कायम राख्न कठिन हुनेछ।’

एरिक्सन र नोकियाले फाइभजी उपकरणको माग कम हुँदै गएपछि लागत र रोजगारी कटौती गरिरहेका छन्। नोकियाले गत वर्ष अक्टोबरमा ८६ हजार कर्मचारीमध्ये १४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। एरिक्सनले यस साताको तेस्रो त्रैमासिकमा बिक्रीमा ४ प्रतिशतले गिरावट आएको जनाएको छ। (रासस/एएफपी)