काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरूलाई राहत सामाग्री वितरण गरेको छ।
ओखलढुंगाको मोलुङ गाउँपालिकाको गौरीडाँडा, जेसे र पात्लेका ४५ बाढी पीडित परिवारलाई चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ। प्रति परिवार ३० केजी चामल, दाल र नुन २/२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ।
असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा ३ घर पूर्णरूपमा क्षति भएको थियो। कम्पनीका अनुसार सो स्थानमा प्रति घरपरिवार ३ बण्डल जस्तापाता र १ थान पाल स्थानीय तहको उपस्थितिमा वितरण गरिएको छ।
यसैगरी, झ्याप्ले खोलामा आएको पहिरोका कारण ३० घरपरिवार विस्थापित हुन पुगेको छन्। ती घरपरिवारलाई खाद्यान्न वितरण गरिएको कम्पनीले जानकारी दिएको छ। गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको बताए। प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएमा कम्पनी सहयोग गर्न तयार रहेको समेत उनले बताए।
कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको उनले जानकारी दिए।