BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको त्यो मुख्य संशोधन, जसले असोजमै १९ अर्ब बढ्दैछ बैंकहरुको वितरणयोग्य नाफा

२०८१ असोज ३०

काठमाडौं। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा गरेको मुख्य दुई संशोधनपछि वाणिज्य बैंकहरुको लाभांश बाँड्ने क्षमता ५ रुपैयाँले बढेको छ।

Tata
GBIME

दसैं बिदाअघि राष्ट्र बैंकले एकीकृत निर्देशन नम्बर ४ मा संशोधन गर्दै ‘नियमनकारी समायोजन’ मा लचकता अपनाएको छ। यसले गर्दा बैंकहरुको वितरणयोग्य आम्दानी १९ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि हुनेछ। यो वृद्धि अर्को साता बैंकहरुले सार्वजनिक गर्ने पहिलो त्रैमासिक वित्तीय विवरणमा देखिने छ।

पहिलो संशोधन निर्देशन नम्बर ४ को बुँदा नम्बर ३ मा खण्ड (ख) को (अ) (१) मा गरिएको छ। यसमा नियमनकारी समायोजन गरी नियमनकारी कोषमा रकम जम्मा/खर्च गर्नुपर्ने व्यवस्था छ।

ब्याज आम्दानी (ब्याज पाकेको तर नगदमा नउठेको भए पनि) बराबरको रकममा आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (रिटेन्ड अर्निङ)लाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने पुरानो व्यवस्था छ।

पहिले बैंकहरुले उठेको ब्याजलाई मात्र आम्दानीमा गणना गर्थे। नयाँ लेखा प्रणाली (एनएफआरएस) लागू भएपछि बैंकहरुले उठ्न बाँकी भए पनि पाकेको सबै ब्याजलाई आम्दानी देखाउनु पर्छ।

उदाहरणका लागि, एनएफआरएस अनुसार कुनै बैंकले ब्याज आम्दानी १०० रुपैयाँ गर्‍यो। यसमा कर्मचारी बोनस १० प्रतिशत काटिन्छ। रहन्छ ९० रुपैयाँ। ९० रुपैयाँको ३० प्रतिशत सरकारलाई आयकर छुट्याउनु पर्छ।

अगाडिको १० र अहिलेको ३० प्रतिशत गर्दा बैंकहरुले ३७ प्रतिशत रकम घटाएर ६३ प्रतिशत (सजिलोका लागि रुपैयाँमा) रकम खुद मुनाफा हुन जान्छ। यो ६३ रुपैयाँमा पनि बैंकहरुले २० प्रतिशत साधारण जगेडा कोषमा राख्नुपर्छ। अनि अर्को १ प्रतिशत सामाजिक सुरक्षा कोषमा पठाउनु पर्छ।

अब बैंकहरुसँग सञ्चित मुनाफा ४९ रुपैयाँभन्दा केही बढी रहने भयो।

यहीँनेर राष्ट्र बैंकको पुरानो निर्देशनले बैंकहरुलाई दोहोरो मारमा पारेको थियो। राष्ट्र बैंकले ६३ रुपैयाँमै नियामकीय जगेडा कोषमा रकम छुट्याउन भनेको थियो। यसो गर्दा बैंकहरुलाई १३.२३ रुपैयाँ जति आम्दानी दोहोरो परेको थियो।

‘हामीले बारम्बार राष्ट्र बैंकलाई यस बारेमा बुझाएका थियौं। उहाँहरु सहमत पनि हुनुहुन्थ्यो। तर, काम भइरहेको थिएन। यसपालि बैंकर्स संघबाट प्रमुख मागका रुपमै यही व्यवस्थामा संशोधन गर्नुपर्छ भनेका थियौं,’ एक बैंकरले भने, ‘नियामकीय कोषमा किन दोहोरो पैसा राख्ने भन्ने कुरामा उहाँहरु सहमत भएपछि यसपालि संशोधन भएको छ।’

संशोधनपछि यसबाट मात्र बैंकहरुको आम्दानी १३ अर्ब रुपैयाँ बढ्ने छ। गैरबैंकिङ सम्पत्तिका हकमा पनि राष्ट्र बैंकले यसरी नै दोहोरो लेखांकन गर्न लगाएको थियो। त्यो पनि संशोधन भएको छ। यसबाट ६ अर्ब रुपैयाँ आउने छ।

‘वैधानिक कोषबाट अब यो पैसा वितरणयोग्य नाफामा आउने भयो,’ ती बैंकरले भने, ‘बैंकहरुको अरु दायित्व सृजना भएको छैन भने पछिल्लो तथ्यांकका आधारमा पहिलो त्रैमासमै बैंकहरुको वितरणयोग्य नाफा १९ अर्ब हाराहारीले बढ्ने देखिन्छ।’ यो भनेको लाभांश क्षमता ५ रुपैयाँ बढ्नु हो।

अहिले बैंकहरुसँग १०० अर्ब रुपैयाँ जति उठ्न बाँकी ब्याज छ। त्यस्तै गैरबैंकिङ सम्पति पनि ४५ अर्ब रुपैयाँ हाराहारी छ। चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब रुपैयाँ छ। अहिले १९ वटा वाणिज्य बैंकहरु नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छन्।

‘पुराना र ठूला बैंकहरुको थुप्रै पैसा वैधानिक कोषमा जम्मा भएको थियो। अब त्यो रिलिज भएर वितरणयोग्य आम्दानीमा आउने भयो,’ ती बैंकरले भने।