काठमाडौं। गत साता इजरायलले लेबनानमा कार्यरत शान्ति सेनामाथि आक्रमण गरेको थियो। शान्ति सेनामा सुरक्षाकर्मी पठाउने देशहरुले संयुक्त विज्ञप्ति निकालेर आक्रमणको विरोध जनाएको थियो।
नेपालले पनि ३४ देशसँग संयुक्त विज्ञप्तिमा हस्ताक्षरकर्ता बनेर आक्रमणको विरोध गरेको थियो। तर, कुनै पनि आधिकारिक निकायबाट आक्रमणको निन्दा गरेन।
संयुक्त राष्ट्रसंघको शान्ति सेनामा धेरै सुरक्षाकर्मी पठाउने देशमा नेपाल पर्छ। नेपालले राज्यस्तरबाटै यसबारेमा केही नबोलेको भन्दै प्रश्न उठेको थियो। दसैं बिदामा राज्य पनि बिदामै बसेको भन्दै आलोचना भएको थियो।
सम्बन्धित समाचार : शान्ति सेनामाथि आक्रमण हुँदा नेपाल मौन, राष्ट्रसंघ महासचिवलाई इजरायल प्रवेशमा रोक
आज दसैं बिदा सकिएर सरकारी कार्यालय खोलिएपछि मात्रै परराष्ट्र मन्त्रालयले एक्समा विज्ञप्तिको तस्वीर राखेर आक्रमणको निन्दा गरेको छ।
नेपालले आक्रमणको अनुसन्धान गर्न र शान्ति सैनिकहरुको सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ।
नेपालले ‘इजरायल’ को नाम भने कतै लिएको छैन। गाजामाथि ‘नरसंहार’ मच्चाएको इजरायललाई लिएर नेपालले लिएको नीतिको पछिल्लो समय आलोचना भइरहेको छ।
इजरायलको आक्रमणबाट केही शान्ति सैनिक घाइते भएका थिए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शान्ति सैनिकलाई लेबनान छाडेर जान चेतावनी नै दिएका छन्।
नेतान्याहूको चेतावनीलाई लिएर शान्ति सेनामा सुरक्षाकर्मी पठाउने राष्ट्रहरु इजरायलसँग थप क्रुद्ध बनेका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले इजरायललाई हतियार नै दिन बन्द गर्नुपर्ने बताइसकेका छन्। यता, अमेरिका भने इजरायललाई थप हतियार दिने पक्षमा छ।