काठमाडौं। अर्थशास्त्री र हालका प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले २०७५ चैत ७ मा आफ्नो फेसबुक पोस्टमा एउटा राम्रो डिब्बाको फोटो राखेका थिए। र, लेखेका थिए- ‘नेपालको टिमुर जर्मनीमा। ५० ग्राम नेपाली टिमुर ८५० रुपैयाँमा बिक्दो रहेछ। अर्थात १ किलोको १७ हजार रुपैयाँ। चिटिक्क बट्टामा प्रोसेसिङ र प्याकेजिङ गरेर सम्पन्न बजार छिराउन सके ‘मेडिकल एन्ड एरोमेटिक प्लान्ट्स’ को सम्भावना युरोपमा व्यापक भएको पुष्टि राजदूत रमेश खनालले गर्नुभयो।’
उक्त पोस्टको मुनि कमेन्ट सेक्सनमा सामाजिक अभियन्ता महावीर पुनले लामो प्रतिक्रिया लेखेका छन्। उनले टिमुरका विषयमा लेखेका केही अंश यस्ता छन्- ‘हामी नेपालमा टिमुर उत्पादन गर्न सक्छौं। तर हामी उन्नत विधिले उत्पादन र बजारीकरण गर्न जान्दैनौं। किनभने मैले देखेको छु हामीसँग व्यावसायिकरुपमा फाइदा लिन परिष्कृत विधिका लागि संस्कार अभाव छ।’
समय धेरै बितिसकेको छैन, यतिबेला मसला बेच्नेका पसलमा अनिवार्य बनेको छ टिमुर। मसलाको रुपमा प्रयोग हुने टिमुरको खपत बढ्न थालेसँगै यसको स्वाद सर्वसाधारणलाई चिनाइरहनुनपर्ने बनिसकेको छ।
यतिबेला घरदेखि होटल रेस्टुरेन्टहरूमा पनि यसको प्रयोग धेरै हुने गरेको छ। पहिले अचार र तरकारीमा स्वादका लागि राखिने टिमुर अहिले अचार, छोप र धुलो पाउडरका रुपमा खपत हुन थालेको छ।
होटल रेस्टुरेन्टमा टिमुरका फ्लेवरका धेरै आइटम बन्न थालेपछि यसको माग पनि बढ्न थालेको पाइएको हो। अचार र मसला उत्पादक कम्पनीहरूले टिमुरको अचार र धुलो बनाएर बजारमा पठाउने गरेका छन्। खुर्सानी, लसुन र अदुवासँग टिमुर मिसाएर र टिमुरको मात्र पनि बनाइएका अचार बजारमा पाइन्छन्।
पूर्वी र पश्चिम रुकुम, सुर्खेत, रोल्पा, दैलेख, जाजरकोट, म्यादी, गुल्मी, बागलुङ, स्याङ्जा लगायतका जिल्लामा टिमुरको खेती हुने गरेको छ। सहरी क्षेत्रबाट माग बढेपछि जिल्ला-जिल्लामा संकलन गरेर पठाउनेहरू सक्रिय भएका छन्।
केही जिल्लाबाट टिमुर अप्रशोधित नै बजार पुग्ने गरेको छ। बजार माग बुझेका जिल्लाबाट भने आफैं घरेलु उद्योगका रूपमा टिमुरको धुलो र अचार तयार पारेर बिक्रीका लागि पठाउनेहरू बढेका छन्।
खानेकुरालाई बासनादार बनाउनुका साथै जिब्रे पर्पर्याउने टिमुरको बजार बिस्तारै बढ्दो क्रममा छ। स्वदेशमा उत्पादित टिमुरको माग विदेशमा पनि छ।
ठूलो परिमाणमा उत्पादन नहुने भए पनि महँगो हुने भएकाले खपत कम हुने गरेको छ। टिमुरको खपत खासगरी जाडो याममा बढी हुने व्यावसायीहरू बताउछन्।
टिमुरको प्रयोगले जिब्रोलाई स्वाद मात्र होइन शरीरलाई फाइदा पनि हुन्छ। गर्मीभन्दा जाडोमा टिमुरको खपत बढी हुने गर्छ।
स्वदेशमा उत्पादित टिमुरले मात्र बजारको माग धान्न नपुग्ने नेपाल थोक किराना संघका महासचिव अमूलकाजी तुलाधरले बताए।
‘पहिले पहिलेको तुलनामा टिमुरको प्रयोग २० देखि २५ प्रतिशत बढेको छ,’ उनले भने, ‘नेपाली पुगेका धेरै देशमा यहाँको टिमुर जान थालेको छ।’
निर्यात सुरु भएकाले स्वदेशमा उत्पादित टिमुरले बजारको माग धान्न पर्याप्त नभएको उनले बताए।
‘चाइनाबाट टिमुर आयात हुन थालेको छ,’ उनले भने। ‘हाल बजारमा टिमुरको मूल्य प्रति केजी १२ सय देखि १४ सय रुपैयाँ छ।’
बानेश्वरको सुनादेवी स्टोरका संचालक समर कठायत टिमुरको माग बढ्न थालेको बताउँछन्।
‘यसको फ्लेवर जिब्रोमा बसेपछि नखोज्ने कमै हुन्छन्,’ उनले भने, ‘पहिला जाडोमा मात्र खपत धेरै थियो, अहिले गर्मीमा पनि टिमुरको बिक्री राम्रो छ।’
गत वर्ष डेढ सय ग्रामको एक प्याकेट टिमुर १४० रुपैयाँसम्ममा बेचेका उनले अहिले उक्त टिमुर १५० रुपैयाँभन्दा बढीमा बिक्री गरिरहेको बताए। धेरै खरिद गर्ने होटल रेस्टुरेन्टले हो।
घरायसी प्रयोजनका लागि थोरै-थोरै परिमाणमा खरिद बिक्री हुन्छ। प्रति केजी १४ सयभन्दा बढी पर्न आउने उनले बताए। आफूले लेकाली टिमुर बिक्री गर्दै आएको उनले जानकारी दिए।
टिमुरको बजारमाग बढ्न थालेपछि मूल्य गत वर्षको भन्दा केजीमा ४ रुपैयाँसम्म बढेको व्यवसायी इसव पराजुलीले बताए।
‘यतिबेला होलसेलमै प्रतिकेजी १४ सय रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘गर्मीमा खपत कम हुने भएकाले मूल्य धेरै बढेको छैन। अब जाडो सुरुभएसँगै खपत र मूल्य दुवै बढ्छ।’
उनका अनुसार यतिबेला टिमुरको बढी खपत होटल र रेस्टुरेन्टमा हुने गरेको छ।
सुकेको टिमुर प्रति केजी २५ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको सरकारी तथ्यांक छ। चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै नेपालबाट लाखौँ मूल्यको टिमुर अस्ट्रेलिया र अमेरिकामा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
गत वर्ष १२ लाख रुपैयाँको टिमुर चीनबाट आयात भएको थियो। सोही अवधिमा नेपालबाट ७० लाख ९३ हजार रुपैयाँको ४ हजार ३ सय केजी टिमुर निर्यात भएको छ।