काठमाडौं । दसैं नजिकिँदा प्रकाशकहरु बजारमा नयाँ किताब ल्याउने हतारोमा हुन्छन्। लामो बिदा हुने भएकाले प्रकाशकहरुको रोजाइमा किताबको ‘लन्च’ मिति दसैं तिहार हुने गर्छ।
यो वर्ष पछि चाडपर्व सुरु हुने समय पारेर फाइन प्रिन्टले भदौ २९ गते रमेश भुसाल लिखित ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’ सार्वजनिक गर्यो। त्यसको भोलिपल्टै किताब पब्लिर्सले सुधीर शर्मा लिखित ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’, र ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ ल्याएर किताबी बजार ततायो। छिमेकी देश चीन, तिब्बत र भारतीय सम्बन्धबारे लेखिएको यी किताबले अहिले चियागफमा कब्जा जमाएको छ।
हालै सार्वजनिक भएको छाल बाटोले सोचेभन्दा राम्रो व्यापार गरिरहेको फाइन प्रिन्टका कार्यकारी निर्देशक निरज भारी बताउँछन्। यता किताब पब्लिसर्सकी कल्पना ढकाल पनि शर्माका दुवै किताबको माग राम्रो भएको बताउँछिन्।
यस्तै, परिचय पब्लिकेसनले पनि माखाल उपन्यास बजारमा ल्याएको छ। मेचे समुदायको संस्कृतिमा आधारित उपन्यासका लेखक तेजप्रकाश श्रेष्ठ हुन्। परिचयले विजय चालिसेले लेखेको उपन्यास युगसन्धि पनि बजारमा ल्याएको छ।
‘व्यवसायीले पनि दसैं सेलिब्रेट गराइदिउँ भनेर यही छेकोमा किताब बजारमा ल्याएका हुन्। हामी पनि त्यसै गरिरहेका छौ,’ परिचय पब्लिकेसनका नवीन खतिवडा भन्छन्। यो प्रकाशकका लागि मात्र नभएर लेखक र पाठकका लागि पनि राम्रो अवसर भएको खतिवडाको दाबी छ।
‘यसले लेखकमा पनि दसैं भाइब्स आउँछ। नयाँ किताब आउँदा बजार पनि भाइब्रेन्ट हुन्छ,’ उनले भने।
नेपाली पाठकहरुमा नयाँ नयाँ विषयवस्तुका साथ तरंगित पार्ने खालका विषयवस्तुमा आधारित किताब प्रकाशन गर्दै आएको नेपालयले भदौ १७ मा बालकथाका किताब बजारमा ल्यायो। पर्यटन उद्यमी अम्बिका श्रेष्ठ, न्यायकर्मी सपना प्रधान मल्ल, प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा र बौद्ध भिक्षुणी गायिका आनी छोइङ डोल्माको जीवन भोगाइहरू समेटिएका सचित्र बालकथा नेपालयले बजारमा ल्याएको हो।
‘नेपाली बजारमा बालबालिकाका लागि विदेशी आइकनका जीवनी प्रशस्त छन्। नेपालकै प्रेरकलाई ठाउँ दिनुपर्छ भनेर ४ वटा किताब एकैसाथ ल्याएका हौं,’ नेपालयका सहसंस्थापक अर्पण शर्माले भने।
शिखा बुक्सले हालै कुमारी लामा लिखित निबन्ध संग्रह दर्ज्यु संलाप सार्वजनिक गर्यो। तामाङ समुदायका विषयमा बढी केन्द्रित यो निबन्ध संग्रह राष्ट्रिय नाचघरबाट सार्वजनिक गरिएको हो।
इन्डिगो इन्कले राधिका कल्पितको सम्मोहन कथासंग्रह सार्वजनिक गरेको छ। फाइन प्रिन्टले पनि हालै बसन्त बस्नेतको सिमसरा विमोचन गरेको छ। श्री ५ को सेवामा यसअघि नै सार्वजनिक गरिसकेको छ।
संग्रिला बुक्सले सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा सार्वजनिक गरेको छ। बुक हिलले हप्ता दिनअघि डा श्रीधर खनालको सावर्णि सार्वजनिक गर्यो।
अहिले बजारमा इतिहास, संस्कृति, पर्यावरण, अर्थतन्त्रसँग सम्बन्धित गैर आख्यान किताबको माग उच्च रहेको पुस्तक व्यवसायीहरु बताउँछन्। दसैंलाई नै लक्षित गरेर व्यापारीहरुले किताबमा २५ देखि ५० प्रतिशतसम्मको अफरहरु ल्याएका छन्।
यतिखेर मदन पुरस्कारमा मनोनित र विजेता पुस्तकको माग पनि हुने गर्छ। यो वर्ष मोहन मैनालीको किताब ‘मुकाम रणमैदान’ ले मदन पुरस्कार पाएको छ।
हाल बजारमा आख्यान भन्दा पनि गैर आख्यान किताबको माग बढ्दो रहेको बिक्रेता बताउँछन्।
बजार कस्तो छ?
दसैं खर्च गर्ने पर्व हो। त्यसै पनि यो मौका यो मौका छोप्नु परम्परा बनेको परिचयका खतिवडा बताउँछन्। ‘पाठकले अलिकति मन फुकाएर खर्च गर्ने समय यो भएकाले यो परम्परा नै बन्दै आएको छ,’ उनले भने।
यता दसैंमा नयाँमात्र नभई पुराना किताब पनि जाने बताउँछन् नेपालयका शर्मा।
‘किताबको सिजन हो यो। त्यसैले छाप्नै पर्ने बाध्यता पनि हो। दशैंमा धेरैजसो लामो बिदामा जान्छन्। यस्तो बेला नयाँ होस् या पुरानो किताब किनेर लाने पढ्ने र आफन्तलाई उपहार दिने गर्छन्,’ शर्माले भने, ‘बुक गिफ्ट दिने चलन बढ्दो छ। त्यसैले कतिपयले त प्याकेजिङ नै गरिरहेका छन्। यसलाई राम्रो मान्नुपर्छ।’
सिजन चले पनि किताबको व्यापारको आर्थिक आकार बताउन भने प्रकाशकहरु हिच्किचाउँछन्। प्रकाशन भए पनि बजारको माग खस्कँदो रहेको उनीहरुको तर्क छ। पढ्ने जमात विस्तारै विदेशतिर जानु, नेपालमा भएकाहरुको पठन संस्कृति अंग्रेजीतिर ढल्कनु र पछिल्लो बिग्रँदो अर्थतन्त्र यसका प्रमुख कारण भएको प्रकाशकहरुको मत छ।
‘सिजन चले पनि बजार राम् सुध्रेको मान्न सकिन्न। किनभने अंग्रेजी पढ्नेको संख्या बढ्दो छ। नेपालीको पठन संस्कृति नै अंग्रेजीतिर ढल्किरहेको छ,’ नेपालयका शर्माले पछिल्लो ट्रेन्ड औंल्याए।
फाइन प्रिन्टका कार्यकारी निर्देशक निरज भारी पठन संस्कृति फेरिँदा पनि नेपाली प्रकाशक ‘अपडेट’ नभएको स्वीकार्छन्। ‘पढ्छु भन्नेहरु विदेश हिँडेका छन्। कोरिया जापानबाट किताबको माग आएकोले त्यही देखिन्छ। अर्को कुरा विदेशमा वेब सिरिजदेखि पढ्ने मिडियम फेरिँदो छ,’ भारीले सुनाए, ‘यसरी चौतर्फी प्रचारमा हामी हिड्न सकेका छैनौं।’
यद्यपि, दसैंमा इतिहासका किताब, स्थापित लेखकका किताब, मदन पुरस्कारबाट पुरस्कृत किताबले पनि बजार पाउने उनी बताउँछन्।
मोहन मैनालीको मुकाम रणमैदानका प्रकाशक बुक हिलका भुपेन्द्र खड्काका अनुसार पहिलेजस्तो व्यापार छैन।
‘मदन पुरस्कार पाएकोले मुकाम रणमैदानको माग राम्रै छ। तर, व्यापार सामान्य भन्दा पनि खस्कँदो छ,’ खड्काले भने। साक्षरता दर बढे पनि पाठकको चेतनास्तर नसुध्रिँदा र राजनीतिक अस्थिरता पठन संस्कृति घट्नुको मूल कारण भएको उनी बताउँछन्।
प्रकाशकहरुका अनुसार दसें अघि सबै प्रकाशनको कारोबार जोडे किताबको व्यापार आधा करोडसम्म पुग्छ।
यता नेपाली पुस्तकले आरोह अवरोहहरु सामना गरिरहँदा अंग्रेजी माध्यमका पुस्तकहरुको माग पनि नराम्रो छैन। ‘जेन जी’ पुस्ताले लेखक र कन्टेन्ट खोजी खोजी पुस्तक खोज्ने गरेका छन्। उनीहरुले अंग्रेजीसँगै नेपाली किताबहरुमा पनि चाख देखाउने गरेको व्यवसायी बताउँछन्।