अमेरिकी पपस्टार टेलर स्विफ्ट संसारकै सबैभन्दा धनी गायिका बनेकी छन्। रिहान्नालाई पछि पार्दै स्विफ्ट धनी गायिकाको शीर्ष स्थानमा उक्लिएकी हुन्।
फोर्ब्सका अनुसार स्विफ्टको नेटवर्थ १ अर्ब ६० करोड डलर पुगेको छ। उनी अघिल्लो वर्षभन्दा ५० करोड डलर धनी भएकी छन्।
उनी अघिल्लो वर्षदेखि नै अर्बपतिको सूचीमा सामेल भएकी थिइन्। जतिबेला उनको नेटवर्थ १ अर्ब १० करोड डलर थियो।
स्विफ्टपछि सबैभन्दा धनी गायिकाको सूचीको दोस्रो स्थानमा रिहान्ना छिन्। उनको नेटवर्थ १ अर्ब ४० करोड डलर छ। यद्यपि, उनको कमाइ संगीत क्षेत्रबाट भन्दा पनि फेन्टी ब्युटी र स्याभेज एक्स फेन्टी लगायत कम्पनीहरूबाट धेरै हुन्छ।
अन्य गायिकाहरू अर्बपतिको सूचीमा पर्न सकेका छैनन्। धेरै कमाउने गायिकाहरू म्याडोन्ना (८५ करोड डलर), बियोन्से (८७ करोड डलर), सेलिन डियोन (५५ करोड डलर) लगायत छन्।
जे-जेड सबैभन्दा धनी संगीतकर्मी हुन्। उनको नेटवर्थ करिब साढे २ अर्ब छ। उनी पहिलो अर्बपति र्यापर पनि हुन्। उनको अधिकांश कमाइ पेय पदार्थको व्यापारबाट आउँछ। उनी पाँचौ धनी सेलेब्रिटी पनि हुन्।
३४ वर्षीया स्विफ्ट संगीत क्षेत्रबाटै पैसा कमाएर अर्बपति बन्ने पहिलो संगीतकर्मी हुन्। सन् २०२३ मा अर्बपति बनेकी उनका गीतहरूको मूल्य नै ६० करोड डलर पुगेको छ।
त्यस्तै, टुर र रोयल्टीबाट उनले अर्को ६० करोड डलर कमाइन्। उनी करिब १२ करोड ५० लाख डलर बराबरको रियल स्टेटकी मालिक पनि हुन्।
अर्बपति बन्न उनलाई हाल जारी इराज टुर नामक विश्वव्यापी सांगीतिक यात्राले धेरै बल पुर्याएको छ। यो टुर डिसेम्बरमा सकिँदैछ।
फोर्ब्सका अनुसार उक्त टुरको पहिलो चरणबाट मात्रै उनले करिब १९ करोड डलर कमाएकी थिइन्। इराज टुर एक अर्ब डलरभन्दा बढी कमाइ गर्ने पहिलो कन्सर्ट टुर बनेको थियो।
सम्पत्ति बढ्दै जाँदा उनको प्रभाव पनि बढ्दो छ। सन् २०२३ मा फोर्ब्सले उनलाई संसारकै पाँचौँ सबैभन्दा शक्तिशाली महिलाको रुपमा चित्रित गरेको थियो।
सन् २०२३ मै उनी ‘टाइम पर्सन अप द इयर’ पनि घोषित भइन्। उनलाई राजनीतिमा पनि प्रभाव पार्न सक्ने व्यक्तिको रुपमा लिइन्छ। आगामी अमेरिकी राष्ट्रपतिको चुनावमा कमला ह्यारिसलाई उनले समर्थन गरेसँगै मतदाता दर्ता वेबसाइटमा भिजिटरहरूको संख्या ह्वात्तै बढेको पनि बताइएको छ।
३६ वर्षीया रिहान्ना सन् २०२१ अर्बपति बनेकी हुन्। कस्मेटिक कम्पनी फेन्टी ब्युटीबाट उनले धेरै कमाइ गरेकी छन्। यो कम्पनी उनले सन् २०१७ मा सुरु गरेकी थिइन्।
कम्पनीमा उनको ५० प्रतिशत सेयर छ। त्यस्तै लन्जरे ब्रान्ड स्याभेज एक्स फेन्टीमा पनि उनको करिब २८ प्रतिशत सेयर छ। दुवै कम्पनी रिहान्नाको असली नाम रोबिन फेन्टीबाट नामाकरण गरिएको थियो।
उनले जुनमा नयाँ ब्युटी लाइन फेन्टी हेयर लन्च गरेकी छिन्। सन् २०२३ मा फोर्ब्सले रिहान्नालाई संसारकै ७४औँ सबैभन्दा शक्तिशाली महिला घोषणा गरेको थियो।
उनको अन्य कमाइ संगीत क्षेत्रबाट आउँछ। उनको १४ वटा बिलबोर्ड हट १०० नम्बर १ हिट गीतहरू छन्। धेरै नम्बर १ हिट गीत हुनेमा उनी अघि बिटल्स र मराया क्यारी मात्रै छन्। उनले सन् २०१६ को ‘एन्टी’ एल्बमपछि नयाँ एल्बम रिलिज गरेकी छैनन्।