काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने पश्चिमी वायुको प्रभाव रहेको छ। पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार अहिले बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ। साथै, कोशी प्रदेश र बागमती प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखका अनुसार आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।