काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित कार्यालयमा खसीबोका र च्याङ्ग्रा लिनेको भिड लागेको छ। बजारमा भन्दा केही सस्तो हुने भएकाले पनि कम्पनीमा खसीबोका र च्याङ्ग्रा किन्नेको भिड लागेको हो।
कम्पनीले दसैंका लागि खरिद गरेका २०८ खसीबोका शनिबार काठमाडौं आइपुगेका थिए। त्यस्तै, मुस्ताङबाट ल्याइएका ३०० च्याङ्ग्रा पनि कम्पनीको थापाथली कार्यालयमा शनिबार नै आइपुगेका छन्।


आइतबार पनि कम्पनीले ४०० खसीबोका झारेको छ। कति खसीबोका र च्याङ्ग्रा बिक्री भयो भनेर बेलुका थाहा हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले खसीको मूल्य प्रति किलो ६७० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रति किलो १ हजार २३० रुपैयाँ तय गरेको छ। यसमा उपभोक्ताले प्रति किलो १० रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ। निजी क्षेत्रका व्यापारीले भने च्याङ्ग्राको मूल्य प्रति किलो १२५० देखि १३०० रुपैयाँ र खसीको मूल्य प्रति किलो ७ सय रुपैयाँ हाराहारीमा हुने बताएका छन्।

दसैंका लागि कम्पनीले १५ सय खसीबोका र ३०० च्याङ्ग्रा खरिद गर्ने योजना बनाएको थियो। कम्पनीले सर्लाही, मकवानपुर, दाङ लगायत देशका विभिन्न भागबाट काठमाडौंमा खसीबोका ल्याउने गर्छ।
बजारमा व्यवसायीहरूले आफूखुसी मूल्य नबढाउन् भनेर सरकारले आफू मातहतको कम्पनीलाई दसैंका बेला खसी बोकाको व्यापारमा संलग्न गराउने गरेको हो।


कलंकीस्थित खसीबजारमा पनि दैनिक २ हजार वटा बसीबोका बिक्री भइरहेका छन्। तत्कालको मागअनुसार खसी ल्याउने क्रम रहेको चौपाया खरिद बिक्री संघका अध्यक्ष जनकराज खड्काले बताए।
बजारमा हालसम्म १२ सयदेखि १५ सयको हाराहारीमा च्याङ्ग्रा आइपुगेको उनले जानकारी दिए। च्याङ्ग्रा बिक्री हुन अझै केही दिन छ। त्यसले गर्दा दैनिक रुपमा धेरै च्याङ्ग्रा बिक्री नभएको अध्यक्ष खड्का बताउछन्।








