काठमाडौं । भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन्।
रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) ले बधाई ज्ञापन गरेको छ।
साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए। यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिब ६०० किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो। सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।
एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरेका थिए। सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ।