BIZMANDU
www.bizmandu.com

बाढीले ६०० भन्दा बढी सवारी डुबानमा, सर्भिस सेन्टर र पार्ट्ससहित क्षति २५ करोडमाथि

२०८१ असोज १९

बाढीले ६०० भन्दा बढी सवारी डुबानमा, सर्भिस सेन्टर र पार्ट्ससहित क्षति २५ करोडमाथि
बाढीले ६०० भन्दा बढी सवारी डुबानमा, सर्भिस सेन्टर र पार्ट्ससहित क्षति २५ करोडमाथि

काठमाडौं। गत साताको भारी वर्षासँगै बाढीपहिरोमा परी राजमार्गमै सवारीसाधन पुरिए। प्राकृतिक प्रकोपमा परेर गाडीपुरिने र डुब्ने नियति सडकमा मात्रै भएन, गाडीका बिक्रेताका यार्ड, सर्भिस सेन्टर र स्पेयर पार्ट्सका गोदाममा पनि भएको भएको छ। यसको क्षति निकै ठूलो छ।

Tata
GBIME

व्यवसायीहरुका अनुसार हालसम्मको तथ्यांकअनुसार २५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।बाढीपहिरोमा परी ६०० भन्दा बढी सवारीसाधन डुबानमा परेका छन्। सर्भिस सेन्टर र स्पेयर पार्ट्सका वेयर हाउसहरु पनि डुबानमा परे। यसले गर्दा अटो व्यवसायीहरुलाई पनि ठूलो क्षति भएको छ।

व्यवसायीहरुका अनुसार कतिपय गाडी पार्किङ गरेका ठाउँमै डुबे भने कतिपय पहिरोमा पुरिए। धेरै नोक्सान दुई पाङ्ग्रेसँगै चार पाङ्ग्रे प्यासेन्जर सवारीमा भएको छ। कमर्सियलतर्फ पनि लगभग डेढ सय युनिट गाडीहरु बाढीको चपेटमा परेका छन्, जुन सडक छेउमा पार्किङ गरेर राखिएका थिए भने केही पार्किङ यार्डमा थिए।

काठमाडौंका प्राय सबै घर र अपार्टमेन्टहरु डुबानमा परे, जहाँ अन्डरग्राउन्ड पार्किङ थियो। यसले गर्दा ग्राहकहरु गाडी डुबानको मार खेप्न बाध्य भए। हातीवनको मेरो सिटी अपार्टमेन्टमा मात्रै ८० युनिट गाडीहरु डुबे। जसमा बीवाइडीको ५ युनिट छ भने एमजी, डीपल, हुन्डाई, सेरेस, किया, ओमोडा, सुजुकी र टाटाका गाडीहरु परेका छन्।

यस्तै बालकुमारीको हिलभ्यु हाउजिङ, इमाडोलको डाउनटाउन रेसिडेन्सी लगायत धेरै अपार्टमेन्टहरुमा सवारीसाधन पार्किङ गर्ने अन्डर ग्राउन्ड वा ग्राउन्ड फ्लोरमै हुन्। भुइँतला जलमग्न भएपछि गाडी डुबानमा पर्नबाट जोगिएनन्।

कुपोन्डोलमा रहेको हुन्डाई र बीवाइडीको सर्भिस सेन्टरहरु पनि क्षति भएको कम्पनीले जनाएका छन्। यसमा पनि बीवाइडी सर्भिस सेन्टरको आफ्नै २ वटा गाडी डुबानमा परेको छ भने अन्य एउटा ग्राहकहरुको गाडी डुबानमा परेको छ। यो सर्भिस सेन्टरमा २७ लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ।

वाग्मती किनारनजिक हुन्डाईको सर्भिस सेन्टरमा ग्राहकका १५ वटा गाडीमा क्षति भएको छ। हुन्डाईको गाडीका लागि कुपोन्डोल स्टेसन उपत्यकामा मुख्य सर्भिस स्टेसन हो। जहाँ दैनिक १५ देखि ३० वटा गाडी सर्भिसिङका हुने गरेको थियो। तर उक्त सर्भिस सेन्टर पुरै डुबान परेकाले समस्या भइरहेको दीपक थपलियाले बताए।

उनका अनुसार उक्त सर्भिस स्टेसनमा १० करोड रुपैयाँको स्पेयर पार्ट्स थिए, जो सबै डुबानमा परे। ‘के काम लाग्छ के लाग्दैनन् भनेर छुट्याउन बाँकी छ,’ उनले भने, ‘छुट्याएपछि मात्रै क्षतिको यकिन तथ्यांक आउँछ। यहाँ करोडभन्दा माथिको क्षति भएको अनुमान छ।’ २० प्रतिशत मात्रै सामान काम नलाग्ने भएमा २ करोडदेखि ३ करोड नोक्सान हुने थपलिया बताउँछन्।

गत साताको बाढीमा हुन्डाइका लगभग १५० युनिट गाडीहरु डुबानमा परेको उनले बताए। ‘हाम्रो अहिलेसम्मको तथ्यांक अनुसार १५० युनिट गाडीहरु डुबानमा परे, स्पेयर पार्टस् डुब्यो।’

बीवाइडीका गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका सर्भिस हेड सुशील तन्डुकारका अनुसार हालसम्म प्राप्त तथ्यांकअनुसार २० वटाभन्दा बढी गाडीहरु डुबानमा परेको छ।

काभ्रेको रोशी गाउँमा बढीको क्षति।

कम्पनीले पानी परेको दिन अघिल्लो शुक्रबार नै सबै ग्राहकहरुलाई गाडी पानीबाट सुरक्षित स्थानमा राख्न एसएमएस पठाएको थियो। त्यही अनुसार ग्राहकहरुले समयमा गाडीहरु सुरक्षित स्थानमा सिफ्ट गरेका पनि थिए।

गत असारमा आएको बाढीले बीवाइडीका १० युनिट गाडीहरु डुबानमा परेको थियो। ती गाडीहरु केहीका ब्याट्री ड्यामेज भएको अनुमान छ भने केही सामान्य मर्मत गर्दा मात्रै ठिक हुने अवस्थाका छन्। यसका लागि बीमा दाबी गर्न लगाइएको उनले बताए।

यसैगरी टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि अहिलेसम्म २२ युनिट प्यासेन्जर भेहिकल डुबानमा परेको जानकारी दिएको छ। सिप्रदीका सर्भिस हेड कुमार भण्डारीका अनुसार २२ युनिट गाडीहरु पुरै डुबे। यसमा इभी र इन्धन दुवै प्रकारका गाडी रहेका उनले बताए।

कुन गाडी कस्तो अवस्थामा छन् भन्ने कुरा भने यकिन तथ्यांक आएपछि मात्रै थाहा हुने उनको भनाइ छ। ‘हालसम्म २२ वटा रिपोर्ट भएका छन्। लसको तथ्यांक विस्तृत रुपमा आएपछि मात्रै थाहा हुन्छ। कुन गाडी कति बिग्रिएको छ,’ उनले भने, ‘दिनमा ३/४ वटासम्मको इन्क्वारी आइरहेको हुन्छ। अहिले कति वटा गाडी डुबानमा परे भन्ने यकिन भइसकेको छैन।’

चौधरी ग्रुपले नेपाली बजारमा बेच्न ल्याएका गाडीहरु आफ्नै वर्कशप र यार्डमा ५०/६० युनिट डुबानमा परेको छ। कम्पनीको आफ्नै स्टक हातीवनमा किङलङ, केवाइसी जस्ता गाडीहरु बाढीको मारमा परेका हुन्। यस्तै ग्राहकहरुका गाडी पनि केही संख्यामा डुबानमा परेको कम्पनीले जनाएको छ।

यस्तै अन्य कम्पनीहरु एमजी, निसान, सिट्रोन, फोर्ड, ओमोडा, डीपल, सेरेस, टोयोटा, महिन्द्रा लगायतका गाडीहरु पनि डुबानमा परेका छन्।

नाडाले पनि तथ्यांक संकलन गर्दै

सवारी बिक्रेताहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पनि क्षतिको तथ्यांक संकलन थालेको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो क्षेत्रमा पनि ठुलै क्षति भएको आकलनअनुसार तथ्यांक संकलन थालिएको हो।

‘हामीले सबै व्यवसायीहरुबाट तथ्यांक माग गरेका छौं,’ उनले भने, ‘उक्त तथ्यांक आएपछि मात्रै कति क्षति भए कति सवारीसाधन डुबे भन्ने यकिन हुनेछ।’

उनका अनुसार अहिले पनि केही व्यवसायीहरुका क्षतिको विवरण आएका छन्। तर, पूर्ण रुपमा कसैको डेटा आइसकेको छैन। कमर्सियल, प्यासेन्जर इभी/इन्धन, बाइक तथा स्कुटर, सर्भिस सेन्टर, स्पेयर पार्ट्स र गोदामहरु डुबानमा परेका उनले बताए। यी सबैको तथ्यांक अहिले संकलन भइरहेका छन्।

दुई पाङ्ग्रेमा लगभग ८ करोडको क्षति

दुई पाङ्ग्रे सवारीमा साधानमा लगभग ८ करोडको क्षति भएको प्रारम्भिक अनुमान छ। कम्पनीहरुमा अनुसार प्राय सबैको बाइक गोदाम र शोरुमहरु डुबानमा परेका छन्।

यामाहा बाइक बिक्रेता एमएडब्लु राइड्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक अग्रवालका अनुसार हालसम्मको तथ्यांक अनुसार प्राय वेयर हाउस (गोदाम) क्षति भएका छन्। प्रारम्भिक अनुमानमा करिब डेढ/दुई करोड रुपैयाँको क्षति भएको उनले बताए।

‘हाम्रो गोदामहरुमा धेरै ड्यामेज भएका छन्। हाम्रोमा मोटामोटी डेढदेखि २ करोड क्षति भएको अनुमान गरिएको छ,’ उनले भने। यस्तै हाराहारी क्षति भएको धेरै जना व्यवसायीहरुको भनाइ छ।

स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठले सतुंगल गोदाममा होन्डा बाइक तथा स्कुटरको नोक्सान भएको बताए। उनका अनुसार बाइकभन्दा धेरै फिलिप्सका इलेक्ट्रोनिक्स सामनहरुमा क्षति पुगेको छ। डिलरहरुमा पुगेको क्षतिको विवरण आउन बाकी रहेको कम्पनीले जनाएको छ।

बजाजको कुलेश्वर गोदाममा धेरै क्षति भएको हंसराज एण्ड हुलासचन्द कम्पनीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार बजाजको लगभग दुई करोडदेखि ३ करोड रुपैयाँको क्षति भएको छ। कम्पनीका अनुसार १०० भन्दा धेरै बाइकहरु डुबानमा परेका थिए।

टीभीएसको गोदाममा भन्दा पनि डिलरहरुकोमा धेरै नोक्सानी भएको कम्पनीले जानकारी दिएको छ। यसको लगभग ३ करोड रुपैयाँ क्षति भएको कम्पनीले जनाएको छ।

सत्यदीप इन्टरनेसनलको कुलेश्वरस्थित गाडीका स्पेयर पार्टसको गोदाम डुबानमा ।

स्पेयर पार्ट्समा पनि ठुलै क्षति

स्पेयर पार्ट्स बिक्रेताहरुको पनि यो बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्पेयर पार्ट्स बिक्रेता तथा जोया ट्रेड कन्सर्न तथा सिग्मा अटोका संस्थापक पंकज अग्रवालका अनुसार उनको दुई वटा वेयर हाउसहरु डुबानमा परे। जसमा एउटा चार पाङ्ग्रे र अर्को दुई पाङ्ग्रेको स्पेयर पार्ट्स थियो।

‘हाम्रो दुई वटा गोदाम डुवानमा परेको छ। मेरो सामानहरु लगभग १० करोड रुपैयाँ बराबरको थियो,’ उनले भने, ‘मेरो यो दोस्रो पटक हो। पहिलो पटक साउनमा बाढी पसेको थियो। अहिले फेरि पसेको छ। त्यस बेला नै २ करोड जतिको क्षति भएको थियो। त्यो बेला सामान कम थियो। यो पटक नयाँ सामान आएको छ, त्यसैले क्षति धेरै भएको छ।’

अहिलेसम्मको अनुमानि रकम ६ करोड जतिको क्षति भएको उनले बताए। अहिले अब सबै काम बीमाले गरिरहेको छ। बीमाले सर्वे गरेपछि यकिन तथ्यांक आउने उनको भनाइ छ।

सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपेन्द्र मिश्रका अनुसार कुलेश्वरमा रहेको एउटा गोदाम डुबानमा परेको थियो। उक्त गोदाममा १२ फिटसम्म पानी छिरेको थियो। यसमा ७ करोड रुपैयाँ हाराहारीका स्पेयर पार्ट्सहरु डुबेका छन्। ‘यसमा लगभग सबै सामानहरु भिजेका छन्। हिलो पसेको छ,’ उनले भने, ‘लगभग ४ करोड भन्दा माथिको स्पेयर पार्ट्सहरुमा क्षति भएको अनुमान गरिएको छ।’

उनका अनुसार बीमा कम्पनीका कर्मचारीहरु आएर मूल्यांकनको काम गरिरहेका छन्। ‘बीमा सर्वेका मान्छेहरु आइरहेका छन्। भोलिदेखि उक्त सामनको मूल्यांकन गरेर कति क्षति भएको एकिन तथ्यांक आउने हुन्छ,’ उनले भने। यस्तै अन्य स्पेयर पार्ट्स कम्पनीहरुको पनि क्षति भएको मिश्र बताउँछन्।

यसैगरी अन्य स्पेयर पार्ट्सहरुको पनि ठुलै क्षति भएको नाडाले जनाएको छ। नाका अनुसार स्पेयर पार्ट्समा बाइकहरुमा भन्दा धेरै क्षति भएको छ।

कति समय लाग्छन् डुबान परेका गाडी तयार हुन?

टाटाका सर्भिस हेड कुमार भण्डारीका अनुसार डुबानमा परेका गाडी तयार पार्न ३ दिनदेखि २ महिनासम्मको समय लाग्ने देखिएको छ।

‘यसरी डुबानमा परेका गाडी मर्मत छिटो हुँदैन,’ उनले भने, ‘क्षतिपूर्ति हेरेर काम गर्न समय लाग्छ। सामान्य भिजेको कुराहरु ड्राइ आउट गर्ने काम हुन्छ। इन्धनको हकमा ड्यासबोर्डसम्म डुबेका गाडीहरु मर्मत गर्न एक महिनाभन्दा बढी समय लाग्छ।’

उनका अनुसार इलेक्ट्रिक गाडीका ब्याट्रीहरु ड्यामेज भएका छन् भने मात्रै बढी समय लाग्छ। नत्र एक हप्तादेखि दुई हप्ता जस्तै समय लाग्ने भण्डारीले बताए।

बीवाइडीका सर्भिस हेड तण्डुकार गाडीको ब्याट्री फेर्न मात्रै धेरै समय लाग्छ। ‘हामीसँग केही युनिट ब्याट्रीहरु स्टकमा छन्। तर त्यसले नपुगेर ब्याट्री ल्याउन पर्ने भएमा समय लाग्छ,’ उनले भने, ‘तर अन्य समस्याहरु भने सामान्य रुपमा यही मर्मत हुने र एक हप्तादेखि २ हप्ताभित्र गाडी तयार हुनेछ।’