BIZMANDU
www.bizmandu.com

एक अर्ब ऋण रहेको कम्पनीको जम्मा सवा करोडको व्यापार, वित्तीय विवरण म्यानुपुलेसन गरेर हकप्रद

२०८१ असोज १८

एक अर्ब ऋण रहेको कम्पनीको जम्मा सवा करोडको व्यापार, वित्तीय विवरण म्यानुपुलेसन गरेर हकप्रद
एक अर्ब ऋण रहेको कम्पनीको जम्मा सवा करोडको व्यापार, वित्तीय विवरण म्यानुपुलेसन गरेर हकप्रद


काठमाडौं। नेपाल वेयर हाउजिङ कम्पनीको सेयर मूल्य असोज १५ र १६ गते अस्वाभाविक रुपमा बढ्यो। कम्पनीले १५ गते हकप्रद सेयर निष्कासनका लागि विशेष साधारण सभा बोलाएको सूचना निकाल्यो। जसका कारण त्यसदिन पोजेटिभ सर्किट लागेर बढेको यो कम्पनीको सेयर भाउ १६ गते नेप्से २६ अंकले घट्दा पनि ७.७६ प्रतिशतले उकालो लागेर प्रति कित्ता १०५५ रुपैयाँ पुग्यो।

Tata
GBIME

के यो कम्पनीको वित्तीय अवस्था राम्रो भएकै कारण हकप्रदको लोभले लगानीकर्ताले पैसा खन्याएका हुन् त? १० महिनाअघि आइपीओ निष्कासन गर्दा कम्पनीले के कस्तो वित्तीय विवरण सार्वजनिक गरेको थियो र अहिले उसको अवस्था के छ?

कम्पनीले पोहोर मंसिरमा आइपीओ निष्कासन गर्दा आर्थिक वर्ष २०८२/८३ मा ८ करोड ५३ लाख २६ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपणसहितको वित्तीय विवरण सार्वजनिक गर्‍यो। जबकि कम्पनी ४ वर्षदेखि लगातार घाटामा थियो। २०७९/८० मा आइपुग्दा कम्पनी ७ करोड ९४ लाख रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीले आइपीओ निष्कासनको वर्षसम्म ४ करोड १५ लाख नोक्सानी हुने र एक वर्षपछि नै ६ करोड ९२ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपणसहितको विवरण नेपाल धितोपत्र बोर्ड(सेबोन)मा बुझाएको थियो।

त्यो विवरणमा सेबोनले आँखा चिम्लियो लगानीकर्ताले पनि व्यापारमा छलाङ मारेर मुनाफा कमाउने विवरणमा विश्वास गरी १२ लाख ७६ हजारभन्दा बढी लगानीकर्ताले कम्पनीको आइपीओमा निवेदन दिए। तीमध्ये १ लाख १४ हजारभन्दा बढीले आइपीओ पाए।

तर, कम्पनीको व्यवसाय आइपीओ निष्कासन गर्दा भनेजस्तो भएन। गत आर्थिक वर्षको वित्तीय विवरणले सूचक उल्टो देखायो। ४ करोड १५ लाख रुपैयाँमा सीमित हुने भनेको घाटा ८ करोड रुपैयाँ पुग्यो।

प्रति सेयर आम्दानी ५.५२ रुपैयाँ हुने भनेर आइपीओ बिक्री गरिएकामा ११.६४ रुपैयाँ ऋणात्मक भयो। नेटवर्थमा सुधार हुन सकेन। प्रति सेयर नेटवर्थ ९३.९६ रुपैयाँ हुने उल्लेख गरिएकामा ८८.८६ रुपैयाँमा सीमित छ।

रोचक त के भने कम्पनीको पोहोर तेस्रो र चैथो त्रैमासको वित्तीय विवरणमै गोलमाल छ। पोहोर चैतमा १४ करोड नोक्सानीमा रहेको कम्पनीको आम्दानी वृद्धि नहुँदा पनि घाटा तीन महिनामै ६ करोड रुपैयाँ घटेको देखाइएको छ।

चैतमा १४ करोड खुद नोक्सानी रहेकामा असारमा यस्तो घाटा ८ करोड रुपैयाँ झरेको वित्तीय विवरणमा उल्लेख छ। गत वर्ष चैतसम्म ६३ लाख २३ हजार आम्दानी गरेको कम्पनीले त्यसपछिका तीन महिनामा आम्दानी ६४ लाख ४८ हजार रुपैयाँभन्दा बढाउन सकेन।

उल्लेख्य नाफा कमाउने प्रक्षेपणसहित आइपीओ निष्कासन गरेर सर्वसाधारणबाट १३ करोड ७५ लाख रुपैयाँ संकलन गरेको कम्पनीको वित्तीय अवस्था थप कमजोर भएको स्पष्ट देखिन्छ। त्यति मात्र होइन उसले सार्वजनिक गरेको वित्तीय अवस्था उत्तिकै अपत्यारिलो पनि छ। गत वर्ष तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी २०.४१ रुपैयाँ ऋणात्मक रहेकामा व्यापारविनै तीन महिनापछि कसरी सुधार भयो?

कम्पनीले वित्तीय विवरण नै म्यानुपुलेसन गरेको वास्तविकतालाई पुष्टि गर्ने अर्को आधार हो- कम्पनीको आम्दानी र तिर्न बाँकी दायित्व। कम्पनीले गत वर्ष १ करोड २८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। सञ्चालन खर्च ९३ लाख रुपैयाँ छ। यसबाहेक १ करोड अन्य खर्च गरेको छ।

कम्पनीको वित्तीय लागतमा गिरावट आएको छ। तर, ऋण भने वृद्धि भएको छ। चैतमा ८ करोड २० लाख रुपैयाँ रहेको वित्तीय लागत असारमा ३ करोड ३१ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरणले देखाउँछ।

उता ऋण भने बढेको छ। चैतमा ९२ करोड ९७ लाख रुपैयाँ रहेको ऋण असारमा ९६ करोड ६० लाख रुपैयाँ पुगेको छ। कम्पनीले ऋण लिएर ऋण तिरिरहेको यसले पुष्टि गर्छ।

गत वर्ष तेस्रो त्रैमासमै अन्य खर्च १ करोड ८४ लाख रुपैयाँ गरिसकेकामा चौथो त्रैमासमा आउँदा १ करोड रुपैयाँ मात्र देखाइएको छ, पहिले नै भइसकेको खर्च पछि कसरी कम भयो?

त्यही कम्पनीले एक वर्ष नहुँदै हकप्रद सेयर निष्कासनको प्रक्रिया थालेको छ। उसले कात्तिक ७ गते विशेष साधारणसभा बोलाएको छ। निरन्तरको घाटा र बढ्दो ऋण दायित्व भुक्तानी गर्न कम्पनीले हकप्रद सेयर निष्कासन गरेर पैसा उठाउन लागेको हो। अहिलेको वित्तीय अवस्थाले कम्पनीका लगानीकर्ताले प्रतिफल पाउने सम्भावना देखिंदैन। कम्पनीले हकप्रदको नाममा सेयरधनीको थप लगानी जोखिममा पार्न लागेको छ।

नेपाल वायर हाउजिङ खाद्यान्न भण्डारण कम्पनी हो। ६८ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा सर्वसाधारणको २० प्रतिशत लगानी छ। यसले कृषकहरुलाई बिउबिजन, औषधी र मलखाद् लगायत एकीकृत कृषि सामग्री उपलब्ध गराउँदै आएको छ। सुनसरी, पर्सा र कपिलवस्तुमा यसका शाखा छन्।