BIZMANDU
www.bizmandu.com

नदीले बगाएपछि तिब्बतमा सडक मर्मतको त्यो ‘आइडिया’ जुन नेपालथोकमा हुनसक्थ्यो विकल्प

२०८१ असोज १८

नदीले बगाएपछि तिब्बतमा सडक मर्मतको त्यो ‘आइडिया’ जुन नेपालथोकमा हुनसक्थ्यो विकल्प
नदीले बगाएपछि तिब्बतमा सडक मर्मतको त्यो ‘आइडिया’ जुन नेपालथोकमा हुनसक्थ्यो विकल्प


‘मेरो पनि दसैं काठमाडौंमा नै हुने भयो अब। हिजोसम्म धरमर थियो तर अब यतै।’

Tata
GBIME
NLIC

रत्न राज्यलक्ष्मी क्याम्पसमा प्राध्यापन गर्दै आएका लोकेश चौधरीको एक महिना लामो विदामा घर जाने योजना स्थगित भयो। छिनमै सडक खुल्ने र छिनमै बन्द हुने सूचनाले घटस्थापनाको अघिल्लो दिन चौधरीले काठमाडौंमै अडिने निर्क्यौल गरे। तीन दिने झरीले काठमाडौं जोड्ने सबै नाका अवरुद्ध भएपछि उनको जस्तै धेरैको यात्रा योजना प्रभावित बनेको छ।

त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग खुल्ने र बन्द हुने क्रम जारी रहे पनि यतिखेर वीपी राजमार्ग दसैंसम्म खुल्न सक्छ या सक्दैन यकिन गर्न सकिने अवस्था छैन। थोरै कमर्सियल र धेरैजसो प्यासेन्जर भेहिकलको बाक्लो चाप हुने राजमार्गको नेपालथोक खण्ड पानीसँगै बगेको छ। सडक पहिलेजस्तै तयार हुन समय लाग्नु स्वभाविक भए पनि अल्पकालीन उपायमा भएका काम जुम्सो देखिन्छ।

विपतको पूर्व सूचना हुँदाहुँदै पनि धनजनको क्षति बेहोर्ने मुलुकमा पुनर्निर्माण पनि सुस्त नै छ। तर, के राष्ट्रिय राजमार्गहरु यस्तै सुस्त हिसाबले पुनर्निर्माण हुन्छ त?

हुँदैन। एक महिना अघि यस्तै बाढी र त्यसले निम्त्याएको सडक अवरुद्धको साक्षी भएकाले तिब्बतको सन्दर्भ यहाँ उपयुक्त हुन सक्छ। तिब्बत यात्राका क्रममा गत भदौमा दुई अप्रत्यासित बाढीको सिकार भइयो। एउटा पठारमा घनघोर वर्षा र त्यसले छोपेको सडक र अर्को चाहिँ नेपाली सीमातिर खोलाले बगाएको सडक। मरभूमिमा आएको बाढीले हामी चढेको बसको तल्लो भाग पूरै डुबायो। पानी रित्तिँदा बस चल्न नसक्ने भयो किनकि पाङ्ग्रादेखि इन्जिन सबै बालुवाले पुरिएको थियो।

दोस्रो चाहिँ नेपाल सीमाबाट नजिकै चिनिया सडक जसलाई त्यहाँको नदीले बगाइदिएको थियो। यहाँ रोशीले वीपी राजमार्गमा पुर्‍याएको क्षतिसँग तुलना योग्य थियो – केरुङबाट नेपाली सीमामा बगाएको सडक। सडक अवरुद्ध हुँदा एक रात र एक दिन पूरै हामी केरुङमा अड्कियौं – सडकलाई नदीले आफ्नो बहावसँगै लगेपछि।

तिब्बततर्फको सडक

बिहान नेपाल फर्किन ल्हास्सा मुख्यालय भएको तिब्बत ट्रान्सपोर्टेसन कम्पनीको गाडीमा चढेर एक किलोमिटर नेपालतिर लागेसँगै पङ्तिवद्ध गाडीहरु देखिए। त्यहाँ उछलकुद गर्दै लेन मिचेर गाडी चलाउने कोही थिएनन्। तिब्बतको चिनियाँ प्रशासनले सूचना प्रवाह नगरे पनि हामी अडिएको ठाउँबाट गाडी अगाडि बढ्न दिएको थिएन। नेपाल जान पाइने अपेक्षाबाहेक हामीसँग गर्नसक्ने क्षमता केही थिएन। हामी चढेका गाडी लामबद्ध अडिए पनि बाटोमा हुँइकिरहेका थिए – ठूलाठूला टिपर। तिनमा विशाल आकारका ढुंगाहरु। टिपरका टिपर ढुंगा ओसारेको देखेर हामीले अनुमान लगायौं – बाढीले वितण्डा मच्चाएकै हुनुपर्छ। बेलाबेलामा चिनिया सुरक्षाकर्मीका गाडी पनि ओहरदोहर गरिरहेका थिए।

सूचनाविहीन हामीलाई हरेक टिपर र त्यसमा लोड भएका विशाल आकारका ढुंगाले जवाफ दिइरहेका थिए – अवस्था सोचेजस्तो छैन। एक दिन त हामी हुइँकिरहेका टिपर हेरेर बस्यौं। बीचबीचमा हेभी मेसिनहरु पनि ट्रकमा यात्रा गरिरहेका थिए। बाटो खुल्ने प्रतीक्षा दिनभर त्यहाँ कुरेपछि सकियो। हामी केरुङ नै फर्कियौं। भोलिपल्ट पनि त्यही प्रक्रिया। टिपरका टिपर ठूला ढुंगामात्र ओसारिरहेका छन्। कुनै ढुंगा त भर्खर माटोबाट निकालिएका। एउटा टिपरमा दुई वा बढीमा तीनवटामात्र ढुंगा। कुनैमा एउटामात्र। यसले पनि अन्दाज गराउँछ ढुंगा कति विशाल थिए।

दोस्रो दिन मध्यान्न यात्रुबाहक बसमात्र नेपालतिर जान अनुमति मिल्यो। नेपाल पुग्न ३० किलोमिटरभन्दा कम दुरी छ। बढीमा एक घन्टामा पुगिने हाम्रो अपेक्षामाथि १५-१५ मिनेटमा ब्रेक लागिरहेको थियो। ट्र्याक मात्र बनेको र एउटा गाडी मुस्किलले पार हुनसक्ने बाटो भएकाले बीचबीचमा रोक्दै गाडीलाई अगाडि बढ्न अनुमति दिइएको रहेछ – सम्भावित भिडभाड रोक्न। हामीले पाएको सूचना अनुसार तीन ठाउँमा सडक नदीले खाइदिएको थियो। टिपरमा भरिएका ढुंगा तिनै ठाउँका लागि लगिँदै थियो। हाम्रो बस नेपाल सीमातिर अगाडि बढिरहँदा पनि ढुंगा ओसार्नेक्रम रोकिएको थिएन।

पहिलो दिन हामीलाई लाग्यो – ‘तिब्बतलाई चिनियाले हदै हेपे। राजमार्गको ठप्प र हामीहरु अलपत्र हुँदा पनि वास्ता गरेन।’ चीनमा विशाल संरचना एकाध दिनमा तयार भएका दृश्य देखेकाले हामीलाई त्यहाँ सडक मर्मत ढिलो हुँदा यसखाले धारणा आउनु स्वभाविक थियो। तर, जब हामी सडक भत्किएको भागमा पुग्यौं – हाम्रो धारणा पूरै बदलियो। दिनरात टिपरका टिपर ल्याइएका ढुंगा त खोलामाथि हाल्नका लागि रहेछ। खोलाको धार सोझ्याउनका लागि रहेछ।

रोशी खोलाले गरेको कटान

त्यति धेरै टिपरले ओसारेको ढुंगाले बल्लतल्ल ट्र्याक खोल्नमात्र सक्ने अवस्थामा पुगेको रहेछ। अझै पनि ल्याइएका ढुंगालाई नदीको धार सोझ्याउन हेभी मेसिनहरु चलिरहेका थिए। बगेको पानीमाथि नै ढुंगा चुल्याउँदै उनीहरुले खोलेको ट्र्याकबाट हामी नेपाल फर्कियौं। हामीलाई यसखाले ट्र्याकबाट नेपालतिर पठाइरहँदा अरु सामान बोक्ने गाडी भने आउन दिइरहेका थिएनन्।

गत साताको बाढीले भने तिब्बत तर्फको सडकमा फेरि नराम्रो असर परेको छ। जसकारण नेपाल आयात हुने सामान उतै रोकिएको छ। यसपटक भने सडकको ट्रयाक नै बगाएकाले त्यसलाई खोल्न चीनलाई समय लाग्ने देखिएको छ। अहिले सोही क्षेत्रमा नयाँ ट्रयाकको निर्माण भने सुरु भइसकेको छ।

यता नेपालथोकमा नदीले सडक लगेपछि भिरमात्र बाँकी छ। तर, तिब्बतमा देखिएजस्तो ढुंगा बोक्दै नदीको धार सोझ्याउने प्रयास कतै पनि देखिएको छैन। नदीको बहाब घटेपछि दुई चारवटा डोजर लगाएर बगर बनाउने र त्यही बगरमाथि ट्र्याक खोल्ने प्रयासमा सीमित छ हाम्रो मेहनत। कुनै पनि बेला बाढी आउने त्रासदी कायमै छ। त्यस्तोमा अहिले भइरहेको प्रयासले दसैंमा बाटो त के गोरेटो पनि तयार हुन सक्दैन।

चिनियाँले विशाल ढुंगा हालेर ‘हाइ करेन्टको’ नदीमाथि नियन्त्रण गर्दै खुलाएको बाटो देखेकाले हुनुपर्छ यहाँक काम गराइ – सरकारी काम कहिले जाला घाम महसुस हुने रहेछ। रोशीमा पनि त्यस्तै ढुंगाहरु हालेर काम गर्न पक्कै सकिने विषय हो। तर, अहिलेकै हिसाबले चल्दा काम चलिरहन्छ, लक्ष्य पनि टाढिँदै जान्छ भन्ने ठम्याउन समय लाग्दैन। अनि लोकेश चौधरीले जस्तै दसैंमा घर जाने योजना स्थगित गर्नुको विकल्प नागरिकसँग रहन्न।