BIZMANDU
www.bizmandu.com

अन्नपूर्ण होटलमा भित्रियो भारतको आईटीसी ब्राण्ड, २०८५ वैशाखबाट संचालनमा ल्याउने घोषणा

२०८१ असोज १७

अन्नपूर्ण होटलमा भित्रियो भारतको आईटीसी ब्राण्ड, २०८५ वैशाखबाट संचालनमा ल्याउने घोषणा
अन्नपूर्ण होटलमा भित्रियो भारतको आईटीसी ब्राण्ड, २०८५ वैशाखबाट संचालनमा ल्याउने घोषणा


काठमाडौं। भाटभटेनी र लिटिल एन्जल्स समूहले पाँच महिनाअघि खरिद गरेको होटल डेल अन्नपूर्णमा भारतीय प्रिमियम ब्राण्ड आईटीसी वेलकम ब्राण्ड भित्रिएको छ।

Tata
GBIME

होटलमा व्यवस्थापन हेर्ने गरी आईटीसी वेलकम ब्राण्ड भित्रिएको हो। यस सम्बन्धमा बिहिबार अन्नपूर्ण स्क्वायर र भारतीय अन्तर्राष्ट्रिय चेन आइटीसीबीच होटल संचालनसम्बन्धी सम्झौता भएको छ।

सन् १९७५ मा स्थापना भएको आईटीसी होटल्स भारतको लक्जरी होटलअन्तर्गत प्रिमियम ब्राण्ड हो। आईटीसी अन्तर्गत भारत र भारत बाहिरका विभिन्न मुलुकमा १४० वटा होटल संचालनमा छन्।

सम्झौतासँगै अन्नपूर्ण स्क्वायर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले २०८५ वैशाख १ गतेबाट होटल पूर्णरुपमा संचालनमा ल्याउने घोषणा गरे।

उनले अन्तर्राष्ट्रिय बजारमा होटलको प्रवर्धन गर्ने उद्देश्यले आईटीसीसँग सम्झौता गरेको बताए।

‘आईटीसी अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त नाम हो। दक्षिण एसियाकै प्रसिद्ध होटल बनाउने उद्देश्यसहित आईटीसीसँग सम्झौता गरेका हौं,’ उनले भने, ‘अब होटल अन्नपूर्णको नयाँ अध्याय सुरु भएको छ। हामी लक्जरी आतिथ्यतामा नयाँ मानक कायम गर्नेछौं।’

मिनबहादुर गुरुङ।

गुरुङले होटलले स्तरीय सेवा दिएर पर्यटक आकर्षित गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले त्यसका लागि इमान्दार भएर काम गर्न आवश्यक रहेको भन्दै आफैंले सुरु गरेको भाटभटेनी सुपरस्टोरको उदाहरण सुनाए।

‘हामीलाई ग्राहक खोज्न धेरै टाढा जानै पर्दैन। स्तरीय सेवा दिन सके ग्राहकको कमी हुँदैन। मैले भाटभटेनी स्टोर संचालनबाट जानेको सत्य यही हो,’ गुरुङले भने, ‘मैले ४० वर्षको खुद्रा व्यापारबाट केही सिकेको छु। १२० स्क्वायर फुटको सानो स्टोर संचालन गर्दा नजिकै केही पसल पनि थिए। कतिपय पसल बन्द भए। इमान्दार भएर ग्राहकलाई दिएको सेवाले भाटभटेनी देशव्यापीरुपमा फैलियो। हामी खुद्रा व्यापारबाट होटल व्यवसायमा आएका छौं।’

अनिल चड्डा

आईटीसी होटलका प्रमुख कार्यकारी अनिल चड्डाले सम्झौता नेपालको होटल उद्योगमै ऐतिहासिक भएको बताए। ‘

इतिहास बोकेको होटल डेल अन्नपूर्णलाई आइकोनिक होटल बनाउने लक्ष्य लिएका छौं। संचालनमा आएपछि होटलले नेपालको पर्यटन क्षेत्रमा नयाँ कोशेढुङ्गा कायम गर्नेछ।’

अन्नपूर्ण स्क्वायरका नाममा संचालनमा आउने होटलको निर्माण ६ महिनापछि सुरु गरिनेछ। पुरानो संरचना भत्काएर निर्माण गर्न साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भनिएको छ। डिजाइनको काम भारतकै आर्किटेक्चर कम्पनीले गरिरहेको छ।

होटलमा ३३० कोठा हुनेछन्। ४० कोठा अपार्टमेन्ट हुनेछ। होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बन्नेछ। जसमा भाटभटेनीदेखि विभिन्न ब्राण्डेड सपिङ मल र फुडकोर्ट रहनेछन्।

होटलमा १ हजार, २ हजार र ३ हजार मानिस अटाउने क्षमताका तीनवटा बैंक्विट हल निर्माण गरिनेछ। २५ तल्लाको संरचनासहितको होटलको अन्तिम डिजाइन केही समयमा तयार हुनेछ। होटल कुल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा तयार हुनेछ।

होटलमा क्यासिनो पनि संचालन गर्ने योजना छ।