BIZMANDU
www.bizmandu.com

एनएसीको वाइडबडी जहाजको सि-चेक महिना दिनमा सकिएन, दसैंको मुखमा व्यापार चौपट

२०८१ असोज १५

एनएसीको वाइडबडी जहाजको सि-चेक महिना दिनमा सकिएन, दसैंको मुखमा व्यापार चौपट
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat


काठमाडौं। सि-चेकका लागि इटली पठाइएको नेपाल वायुसेवा निगम (एनएसी)को ९ एन-एएलजेड कलसाइनको वाइडबडी जहाज फर्किने मिति अनिश्चित भएको छ। सि-चेकको काम एक महिना वित्दा पनि पूरा नभएका कारण जहाज फर्किने मिति अनिश्चित भएको हो।

Tata
GBIME

एनएसीले एक महिनाभित्र सि-चेक गरिसक्ने भनेर गत भदौ १२ गते इटलीको एटिटेक एसपीए कम्पनीमा जहाज पठाएको थियो। तर, कम्पनीबाट जहाज सि-चेकको काम निरन्तर भइरहेको पत्र आएकाले फर्किने मितिको टुंगो नरहेको एनएसीका एक उच्च अधिकृतले बताए।

‘जहाज एक महिनामा सि-चेक सकेर ल्याउने योजना थियो। तर, अहिलेसम्म सि-चेकको काम पूरा नभएको जानकारी आएको छ,’ ती अधिकृतले बिजमाण्डूसँग भने, ‘मर्मत कहिले सकिन्छ भनेर पत्रमा खुलाइएको छैन। त्यसैले जहाज फर्किने मितिबारे भन्न सकिने अवस्था छैन।’

यो जहाजका केही पार्टपूर्जा यसअघि सि-चेक गरिएको ९ एन-एएलवाई कलसाइनको जहाजमा जडान गरिएको छ। जसका कारण सि-चेकको काम पूरा भएपछि पार्टपूर्जा जडान गर्न समय लाग्ने ती अधिकृतले बताए।

९ एन-एएलवाई कलसाइनको जहाज पनि सि-चेक गरेर २ महिनामा ल्याइएको थियो। दसैंको मुखमा एउटा वाइडबडी जहाज महिना दिनदेखि सि-चेकमा रहँदा एनएसीले ठूलो आम्दानी गुमाइरहेको छ। ‘यात्रुको चाप धेरै हुने दसैंको मुखमा जहाज नहुँदा व्यापार चौपट हुन पुगेको छ,’ ती अधिकृतले भने।

एनएसीले हाल तीनवटा जहाजमार्फत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।