BIZMANDU
www.bizmandu.com

ऋण लिन ब्याजदर कहाँ सस्तो पर्छ? कुन बैंकको आधार दर कति?

२०८१ असोज १५

ऋण लिन ब्याजदर कहाँ सस्तो पर्छ? कुन बैंकको आधार दर कति?
ऋण लिन ब्याजदर कहाँ सस्तो पर्छ? कुन बैंकको आधार दर कति?

काठमाडौं। ऋणको माग नभएर लगानीयोग्य रकम प्रणालीमा थुप्रिएपछि बैंकहरुले निक्षेपसँगै ऋणको ब्याजदर पनि आक्रामक रुपमा घटाएका छन्। पछिल्लो एक वर्षयता वाणिज्य बैंकहरुले घटाउँदै आएको निक्षेपले लागत कम भइ बेसरेट घट्दै गएको हो।

Tata
GBIME
Nepal Life

योसँगै पुराना ऋणी र नयाँ लिनेहरुलाई कर्जा ब्याजदर कम हुन् थालेको छ‌।

असोजमा १४ वटा वाणिज्य बैंकको आधार दर ८ प्रतिशत तल झरेको छ। स्टान्डर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ६ प्रतिशतमा झरेको छ। असोजमा पाँचवटा वाणिज्य बैंकको आधारदर भने ८ प्रतिशत माथि रहेको छ।

आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन। तर, पछिल्लो समय निक्षेपको वृद्धि अनुरुप कर्जा बढ्न नसकेपछि बैंकहरुले आधार दरमा ०.२५ प्रतिशत प्रिमियम कायम गरि कर्जा दिन थालेका छन्।

ऋणको माग नभएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। त्यही भएर बैंकको लागत घट्दा आधार दर कम हुँदै आइरहेको हो। घर तथा गाडी कर्जाको ब्याज दर निक्कै सस्तो भइसकेको छ।

प्राथमिकता प्राप्त क्षेत्रमा आधार दरमा बढीमा २ प्रतिशत मात्र प्रिमियम जोड्न पाइने भएकाले त्यो ब्याज दर अझ घटेको छ। कर्पोरेट ऋणीहरुले त आधार दरमै ऋण पाइरहेका छन्। २०८१ भदौमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा तल छ। बैंकको आधार दर ६.०३ प्रतिशत झरेको छ। असोजमा राष्ट्रिय वाणिज्य बैंकको ६.३७ प्रतिशत छ। सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ९.०६ प्रतिशत छ।

आर्थिक गतिविधिमा सुस्तताका कारण कर्जाको माग नभएपछि बैंकले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर तल आएको हो। नयाँ कर्जाको माग नरहेको र यसअघि लिएको कर्जा पनि असुल नभइरहेको अवस्थामा बाध्य भएर ब्याजदर घटाउनु परेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले बताए।

‘ब्याजदर माग र आपूर्तिले तय गर्ने हो। अहिले कर्जाको माग बढेको छैन। माग नबढेपछि ब्याजदर घट्ने नै भयो,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा त्यसको प्रभाव सिधै कर्जाको ब्याजदरमा पर्छ। ऋणीहरुले किस्ता तिर्न नसकेको बेलामा ब्याजदर सस्तो हुँदा उनीहरुलाई पनि सहज हुने देखिन्छ।’

प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल निक्षेपको ब्याजदर घट्दै जादा कर्जा सस्तिदै गएको बताउँछन्।

‘कर्जा प्रवाह साखै हुने सकेको छैन। आर्थिक गतिविधि सुस्त हुँदा उद्योग व्यवसाय पनि पूर्ण रुपमा संचालन हुन सकेका छैनन्,’ उनले भने, ‘जसकारण निरन्तर निक्षेप बढिरहेको र निक्षेपको लागत कम हुँदै जादा ब्याजदर सस्तिदै आइरहेको हो।’

चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढ्न तत्कालै कर्जा प्रवाह बढ्ने अवस्था कम हुँदा निक्षेपको ब्याजदर बढ्ने अवस्था नहुँदा कर्जा थप सस्तिने देखिएको उनको भनाई छ।

वाणिज्य बैंक असोजको बेसरेट
एनएमबि७.७२
नबिल७.२४
कुमारी८.४६
नेपाल बैंक७.२८
कृषि विकास बैंक७.६४
प्रभु७.७७
सानिमा७.६५
प्राइम कमर्सियल८.३५
लक्ष्मी सनराइज८.१७
एनआइसी एसिया९.०६
राष्ट्रिय वाणिज्य बैंक६.३७
माछापुच्छ्रे७.८
ग्लोबल आइएमई७.४७
स्ट्यान्डर्ड चार्टर्ड ६.०३
नेपाल एसबिआई७.९१
एभरेस्ट७.०४
नेपाल इन्भेष्टमेन्ट७.४९
सिटिजन्स्८.२५
सिद्धार्थ७.७४
हिमालयन८.३९