काठमाडौं। होटल, रेष्टुरेन्ट र रिसोर्ट पानी अधिकतम बिक्री मूल्य (एमआरपी)मा बेच्नका लागि सहमत भएका छन्।
व्यवायीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतसँगको छलफलमा पानी एमआरपीमा बेच्न सहमति जनाएका हुन्।
मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौंका कतिपय रेष्टुरेन्टले पानी एमआरपी मूल्यभन्दा बढीमा बेचेको पाइएपछि ३ लाख रुपैयाँसम्म जरिबाना तिराएपछि होटल संघ नेपाल र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपालका पदाधिकारीले मन्त्रीसँग छलफल गरेका थिए। छलफलमा विभागमा महानिर्देशक पनि सहभागी थिए।
छलफलमा रेष्टुरेन्टले एमआरपीमै पानी बिक्री गर्ने र होटल तथा रिसोर्टले पानीको बोटलमा आफ्नै लेबलिङ, ब्राण्ड र एमआरपी राखेर बिक्री गर्न सक्ने सहमति भएको होटल संघले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
छलफलमा सरकारी प्रतिनिधिले चाडपर्व अवधिभर नियमित ढंगबाट अनुगमन गर्ने तर होटल तथा रिसोर्टको हकमा भने अनुगमन नगर्ने सहमति भएको होटल संघका महासचिव साजन शाक्यले बताए।