BIZMANDU
www.bizmandu.com

क्यानडा सिरिजको निष्कर्ष : तीन हार, तीन परिवर्तन र खातामा कुल तीन अंक

२०८१ असोज १०

क्यानडा सिरिजको निष्कर्ष : तीन हार, तीन परिवर्तन र खातामा कुल तीन अंक
क्यानडा सिरिजको निष्कर्ष : तीन हार, तीन परिवर्तन र खातामा कुल तीन अंक

काठमाडौं। नेपाली क्रिकेट टोली हाल क्यानडामा छ। लिग-२ अन्तर्गत दोस्रो सिरिजको खेल मंगलबार टुंगाएको नेपालको अंकतालिकामा अवस्था दयनीय छ।

Tata
GBIME
Nepal Life

लिग-२ मा हालसम्म एउटा होम र एउटा अवे गरी दुई सिरिज खेल्दा मात्र एउटा खेल नेपालले जितेको छ। मंगलबारको खेल वर्षाले रद्द हुँदा त्यहाँबाट एक अंक प्राप्त गरेको थियो। नेपालसँग कुल तीन अंक छ।

एकदिवसीय अन्तर्राष्ट्रियमा एसिया कप, विश्वकप जस्ता विश्वस्तरीय ‘स्टेज’ को एक्सपोजरपछि पनि नेपालको यस्तो प्रदर्शनले प्रशिक्षकको भूमिकामाथि पनि प्रश्न तेर्सिएको छ।

नेपाली टोलीमा हाल मुख्य प्रशिक्षक मोन्टी देशाइ छन्। उनी तीनै प्रशिक्षक हुन् जसले अघिल्लो संस्करणमा एकदिवसीय मान्यता नै मुस्किलमा परेको नेपाललाई माथि उठाउँदै जादुयी नतिजा निकाल्न सफल भएका थिए। तर लिग-२ सहितका नेपालका पछिल्ला प्रदर्शनले भने उनीमाथि प्रश्न उठाउने प्रशस्त ठाउँहरू दिएका छन्।

नेपालले अब अमेरिकामा सिरिज खेल्दैछ। त्यहाँ अमेरिका र स्कटल्याण्डविरुद्ध नेपालले खेल्नेछ। यी दुई टोली अंकतालिकामा बलिया त छन् नै यसमा नेपालको खस्कँदो प्रदर्शनले थप टाउको दुखाइ बढाउने पक्का छ।

देशाइ र क्यानबीचको सम्झौता सकिनै लागेको समयमा नेपाली टोलीको निरीह प्रदर्शनले परिवर्तनको सम्भावना पनि देखाउन थालेको छ। यस्तोमा अमेरिका सिरिजले धेरै अर्थ राख्ने देख्न सकिन्छ।

क्यानडाविरुद्धको खेलमा फिल्डिङ गर्दै नेपाली खेलाडी। तस्बिर: क्रिकेट क्यानडा

समग्र लिग-२ मै निराशाजनक प्रदर्शन

क्रिकेट विश्वकप लिग-२ मा समग्र एसियाली शीर्ष एसोसिएट्स टोलीकै प्रदर्शन बिर्सनलायक छ। ८ टोली सहभागी यो साइकलमा एसियाका ओमन, नेपाल र यूएई छन्। यी तीनै टोली अंकतालिकामा छैटौं, सातौँ र आठौं स्थानमा छन्।

लिग-२ मा नेपालले हालसम्म दुईवटा सिरिज खेलेको छ। हरेक त्रिकोणात्मक सिरिजमा ४ खेल खेल्ने तालिकाअनुसार नेपालले ८ खेल खेलिसकेको छ। तर, यसमा जित मात्र एउटा छ।

घरेलु मैदानमा सम्पन्न लिग-२ को खेलमा नेदरल्याण्ड्स र नामिबियासँग खेलेको थियो। जसमा नेपालले नेदरल्याण्ड्सलाई एक खेलमा हराउँदा बाँकी तीन खेलमा पराजित भएको थियो।

त्यस्तै नेपालले लिग-२ को आफ्नो दोस्रो सिरिज मंगलबार टुंगायो। क्यानडामा तीन खेलमा पराजित बनेको नेपालको अन्तिम खेल वर्षाका कारण रद्द भएको थियो।

क्यानडामा नेपालले हात पारेको अंक भनेको वर्षाका कारण रद्द भएको खेलबाट हो। हालसम्म ८ खेल सकिँदा नेदरल्याण्ड्सविरुद्ध हात पारेको जित र खेल रद्द हुँदा हातपरेको एक अंक गरी तालिकामा तीन अंक मात्र छ।

अंकतालिकामा हाल नेपाल भन्दा पछि दुई अंक जोडेको यूएईमात्र छ।

विश्वकपका दौरान ब्याटिङमा रोहितकुमार पौडैल र आशिफ शेख। तस्बिर: आईसीसी/गिट्टी इमेजेज

क्यानडामा तीन परिवर्तन र तीन विकेटकिपिङ ब्याट्सम्यान

सिरिजमा घरेलु टोलीविरुद्धको पहिलो खेलमा अनपेक्षित खास केही थियो भने त्यो हो नतिजा। केही महिना अघिमात्र घरेलु मैदानमा सजिलै हराएर पठाएको क्यानडासँग १०३ रनको फराकिलो हार ब्यहोर्नु पर्ला भन्‍ने सायदै धेरैको सोचमा थियो।

यो सिरिजका लागि भनेर नेपालले भारतको नेसनल क्रिकेट एकेडेमीमा तीन हप्ता, श्रीलंकामा एकहप्ता र क्यानडा पुगेर पनि अभ्यास खेलहरू खेलेको थियो। तयारीलाई हेर्दा आउनु पर्ने नतिजाभन्दा ठीक उल्टो नतिजा नेपाल सामू आयो।

दोस्रो र तेस्रो खेलका लागि नेपाली टोलीमा ब्यापक परिवर्तन गरियो। नियमित प्लेइङ ११ मा पर्दै आएका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई प्रशिक्षक देशाइले जोखिम लिए।

उनीहरु बाहिरिँदा एकदिवसीय ब्याटर मानिने अर्जुन साउद, आशिफ शेख, भीम सार्की, अनिलकुमार साहको उपस्थितिले नेपालको ब्याटिङ अझ गहिरिन्छ भन्ने विश्वास थियो। तर त्यसो भएन। दोस्रो र तेस्रो खेलमा अझ शीर्ष क्रमको ब्याटिङ चल्न नै सकेन।

अझ नेपालको प्लेइङ ११ मा रोचक पक्ष भनेको तीन जना विकेटकिपिङ ब्याटर थिए। जसमा अर्जुन, अनिल र आशिफ। खेलको प्रत्यक्ष प्रसारण गरेको कान्तिपुर म्याक्सको प्रिम्याच प्रेजेन्टेसनमा नेपाली टोलीका कप्तान तथा नेपाल ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्लले यसमा पटक-पटक अचम्म लागेको बताइरहेका थिए।

ब्याटिङ त पूर्णतय तल्लो क्रममा नै निर्भर रह्यो। पहिलो खेलमा क्यानडाविरुद्ध शीर्ष रन बनाउने तीन खेलाडी करण केसी, सन्दीप लामिछाने र गुल्सन झा थिए। दोस्रो खेलमा ओमनविरुद्ध कप्तान रोहितकुमार पौडेल, गुल्सन झा र आरिफ शेख थिए भने तेस्रो खेलमा सन्दीप लामिछाने, गुल्सन झा र करण केसी थिए।

यसअर्थमा क्यानडामा नेपाली ब्याटर पूर्णतय फ्लप मान्न सकिन्छ।

टी-२० बाट स्वीच र अमेरिका सिरिजको ‘डर

शनिबारबाट क्यानडामै नेपाल, क्यानडा र ओमनबीच फेरि टी-२० सिरिज सुरु हुनेछ। यो सिरिज सकेर नेपाल अमेरिका जानेछ।

लामो समयसम्म टी-२० फर्म्याटमा खेल्दा एकदिवसीयमा स्वीच गर्नै कठिन मानिरहेको नेपाललाई क्यानडाको सिरिजले थप मुस्किलमा लैजाने सम्भावना पनि देखिन्छ।

अमेरिकामा भने नेपाललाई थप चुनौती हुनेछ। तीन अंक लिएर दुई वटा सिरिज टुंगाइसकेको नेपाललाई अब अंकतालिकामा जसरी पनि माथि उठ्नुपर्ने दवाब छ। तर अवस्था त्यति सहज भने छैन।

पछिल्ला चार खेलमा अमेरिका अपराजित छ। उसले ‘अवे’ मा गएर नामिबिया र यूएईलाई हराउँदै अंकतालिकामा पनि ह्वात्तै माथि उक्लिएको छ। अर्कोतर्फ स्कटल्याण्डको पनि ठीक त्यस्तै नतिजा छ। त्यसमाथि अमेरिकी भूमिमा विश्वकपमा दौरान पनि नेपालले रन बनाउन संघर्ष गरेको थियो। अमेरिका सिरिज अक्टोबर २७ बाट सुरु हुनेछ।

अंकतालिकामा १४ अंक बनाएको क्यानडा शीर्षस्थानमा रहँदा समान १२ अंक जोडेका अमेरिका र नेदरल्याण्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै चौथो स्थानमा ९ अंक जोडेको स्कटल्याण्ड, पाँचौँ स्थानमा ८ अंक जोडेको नामिबिया, छैटौं स्थानमा ६ अंक बनाएको ओमन छन्। ३ अंक बनाएको नेपाल सातौँ र २ अंक जोडेको यूएई तालिकाको पुछारमा छन्।