BIZMANDU
www.bizmandu.com

सफल उद्यमी बन्ने फर्मुला : तपाइँसँग कति छ बजार बुझ्ने चासो, आरोह-अवरोहमा सामञ्जस्यताको धैर्य?

२०८१ असोज ९

सफल उद्यमी बन्ने फर्मुला : तपाइँसँग कति छ बजार बुझ्ने चासो, आरोह-अवरोहमा सामञ्जस्यताको धैर्य?
सफल उद्यमी बन्ने फर्मुला : तपाइँसँग कति छ बजार बुझ्ने चासो, आरोह-अवरोहमा सामञ्जस्यताको धैर्य?


सफल उद्यमी कसरी बन्न सकिन्छ? उत्तर सहज छैन। कसैसँग जादुको छडी छैन जसले कसैलाई हठात् सफल बनाइदेओस्। उद्यमीहरु एकैपटकको प्रयासमा सफल भइहाल्ने ग्यारेन्टी बजारमा कसैले गर्न सक्दैन। त्यसो भए कसरी बन्ने सफल उद्यमी?

Tata
GBIME
NLIC

उद्यमका लागि हाम्रो छनोटको क्षेत्र र त्यसको बजार अनुमानले मात्रै पुग्दैन। आफ्नो लागत, प्रयाससँगै उपभोक्ताको मनोविज्ञान ठम्याउन सक्ने क्षमता जरुरी छ। लक्षित बजारमा आफ्ना वस्तु तथा सेवाहरु उपलब्ध गराई निहित उपयोगिता तथा गुणस्तरमार्फत उपभोक्ताहरुलाई मौद्रिक, शारीरिक तथा मनोवैज्ञानिक मूल्य भुक्तान गर्न उत्प्रेरित वा आकर्षित गर्ने समग्र व्यावसायिक गतिविधिहरुलाई सामान्यतयाः उद्यमशीलता विकासका आधारस्तम्भका रुपमा लिन सकिन्छ।

बजारमा उपभोक्ताको अपेक्षा अनुरुपका उपयोगिताको आपूर्ति गराउन सक्षम उद्यमशीलताले अनवरतरुपमा सफलता हासिल गर्छ भने अपेक्षा र उपयोगिताको सन्तुलन मिलाउन नसक्दा उद्यमशीलता दिगो हुन सक्दैन। व्यवसाय फापेन भनेर चिया पसल तथा चौतारीमा सुनिने संवादहरु पनि प्रायः यस्तै प्रवृत्तिका सिकार हुने गरेको देखिन्छ।

उपभोक्ताले मुख्यतः वस्तु तथा सेवाहरु उपभोग गर्नका लागि आफूसँग रहेको बचतलाई खर्च गरि मौद्रिक लागत व्यहोर्छ भने वस्तु तथा सेवाहरुको खरिद गर्ने निष्कर्षमा पुग्न तथा खोज्नका लागि मनोवैज्ञानिक तथा शारीरिक परिश्रम समेत गरिरहको हुन्छ। त्यसैले जस्तोसुकै वस्तु तथा सेवा वा उपयोगिताहरु सजिलै उपभोक्ताको रोजाइमा पर्दैनन्। अनभिज्ञताका कारणले एकपटक खरिद गरिहाले पनि दोहोर्‍याएर उपभोग हुँदैनन्। उपभोक्ताको रोजाई तथा प्राथमिकतालाई भने निरन्तररुपमा आम्दानीस्तर, विगतको अनुभव, चेतनास्तर, वस्तु तथा सेवाको उपलब्धता, बिक्री तथा बिक्री पछिका सेवा, अर्थतन्त्रको चक्र, मूल्यआदि जस्ता अनेकन पक्षहरुले प्रभाव पारिरहेका हुन्छन्।

वस्तु तथा सेवाहरुको गुणस्तर तथा उपयोगिताले बजारको माग निर्धारण गर्ने भएकोले उद्यमीहरुले उपभोक्ताको मनोवृत्ति अनुसारको आपूर्ति सुनिश्चितता गर्न सदैव चनाखो हुनुपर्ने देखिन्छ। एकै समयमा एकथरि उद्यमीहरुले उपभोक्ताको बदलिँदो प्राथमिकतालाई नबुझी आफ्नो वस्तु तथा सेवालाई अद्यावधिक गर्न नसकी व्यावसायमा देखिएको सुस्तीलाई अचेल व्यापारमा मन्दी आएको छ भन्दै गुनासो गरिरहँदा अर्कोथरी उद्यमीहरुको व्यावसायमा मनग्गे प्रगति भइरहेको देखिनु पक्कै पनि अर्थपूर्ण छ।

तसर्थ दिगो उद्यमशीलताको आधारस्तम्भ भनेको लक्षित बजार अनुरुपको वस्तु तथा सेवाको विकास एवं आपूर्ति नै हो, जसका लागि गुणस्तर एवं उपयोगिताले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। निश्चित अन्तरालसम्म पनि वस्तु तथा सेवाहरु अपेक्षाकृतरुपमा बिक्री नहुनु भनेको  बजारको माग अनुरुपको आपूर्ति नभएको हुन सक्ने भएकाले आवश्यक विश्लेषण गरि विविधीकरण तथा विकासका लागि आवश्यक रणनीतिहरु बनाउन सक्दा मात्रै उद्यमशीलताको विकास दिगो बन्न सक्ने देखिन्छ।

सम्पूर्ण उद्यमीहरुले व्यावसायिक सफलताको आधार बढी मूल्य तिर्ने उपभोक्ता होइन कि उपभोक्ता आकर्षित गर्न सक्ने वस्तु तथा सेवाको गुणस्तर एवं उपयोगिता हो भनेर सोच्ने व्यायवसायहरु प्रायः लामो समयदेखि अस्तित्वमा देखिन्छ भने अन्यको अस्तित्व अस्थिर वा अल्पकालीन हुने गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् ।

उद्यमीहरुलाई दीर्घकालीन अस्तित्वमा टिकाइराख्नका लागि धेरै प्रकारका मनोवृत्ति एवं व्यवहारहरुले प्रत्यक्ष एवं परोक्षरुपमा मलजल गरिरहेका हुन्छन्। जसमध्ये केहीको यस्ता हुन सक्छन्-

१.  उत्सुकता

उद्यमीहरुमा निरन्तररुपमा फरक तरिकाले सोच्ने तथा कार्य सम्पादन गर्ने उत्सुकता हुनु पर्दछ, जसबाट उनीहरुलाई अरुभन्दा फरक काम गर्न तथा चुनौतीहरु बीच पनि अवसरहरु भेट्नका लागि सदैव प्रेरणा मिलिरहेको हुन्छ। देखासिकी, लहैलहै वा उक्साहटमा गरिएका उद्यमहरुले प्राय अप्रिय प्रभाव सिर्जना गर्ने गर्दछन् भने उत्साहप्रद अभ्यासबाट उत्पन्न परिपक्कताका आधारमा बजार अनुसन्धान गर्ने तथा वस्तु तथा सेवाहरुको गुणस्तर अनि उपयोगिता तय गर्ने प्रवृत्तिका कारणले नै उद्यमशीलता दिगो बन्ने गर्दछ।

त्यसैले, विद्यमान परिस्थिति, वस्तु तथा सेवाहरुमाथि निरन्तररुपमा सवाल वा चुनौती दिँदै निरन्तररुपमा सकरात्मक सोचका साथ अगाडि बढ्दै गर्दा नवप्रर्वतनका विभिन्न पहलुहरु हासिल हुने हुँदा उद्यमशीलता विकासमा उत्सुकताको एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ।   

२. परीक्षणको तत्परता

उत्सुकताबाट हासिल हुने नयाँ सम्भावना वा सोचहरुलाई तत्कालिन बजारको सम्भावित मागको नजरले आकलन गर्दै तुरुन्तै परीक्षण गर्न सक्नु पनि दिगो उद्यमशीलताको अचुक लक्षण हो।

नवीन सोच तथा सम्भावना सोचमा हुने तर कार्यान्वयनमा ल्याउन परीक्षण गर्न नसक्ने वा परीक्षण नै नगरी बजारमा सोझै प्रवेश गर्नु दुवैबाट उद्यमशीलताको सुरुवात तथा विकासमा अवरोध सिर्जना गर्न सक्छ। त्यसैले उद्यमशीलता विकासमा परिपक्वता ल्याउनका लागि परीक्षण सहितको अनुभव सदैव अपरिहार्य रहन्छ।

३.  परिस्थितिजन्य अनुकूलन

उद्यमशीलताको विकासमा निरन्तररुपमा अवसर तथा चुनौतीहरुको पुनरावृत्ति भइरहेको हुन्छ भने हरेक प्रतिकूलताको आकलन सदैव समयमै गर्न पनि सकिँदैन। त्यसैले उद्यमीहरुमा सदैव हरेक प्रकारका प्रतिकूल परिस्थितिहरुमा आफ्नो व्यावसायिकतालाई समय सापेक्ष अनुकूलन गर्ने अवसरको रुपमा स्वीकार गर्दै अगाडि बढ्न सक्ने क्षमता भएमा पक्कै पनि उद्यमशीलताको विकास चिरस्थायी हुन सक्छ। 

४. निर्णयशीलता

उद्यमशीलतालाई व्यावसायिक मोड दिनका लागि विभिन्न किसिमका निर्णयहरु निरन्तररुपमा गरिराख्नु पर्ने हुन्छ। साधारण वा सबैले गरिरेको कार्यलाई सन्दर्भ बनाई लिने निर्णयहरुले प्राय औसत् प्रकारको व्यावसायिक सफलता हासिल हुन्छ। बजारको अपेक्षा पुरा गर्न फरक अझै भनौ जटिल प्रकारका निर्णय गर्ने र आफ्ना निर्णयहरुको पक्षमा सदैव अडिग रहने उद्यमीहरुको व्यावसायिकता तथा सफलताको आकार अपेक्षाकृतरूपमा ठूलो हुने गर्दछ।

लिएको निर्णय जहिले पनि सही नै हुन्छ भन्ने भन्दा पनि गलत निर्णय भइहालेमा पनि कति छिटो सच्याउन सकिन्छ भन्ने मानसिकतामा व्यावसायिक निर्णयहरु गर्दा उद्यमशीलता दिगो हुने देखिन्छ।  

५.  आत्मजागरण

उद्यमीहरुमा आफ्नो व्यावसायिकतालाई विश्लेषण गरि निहित सबलता तथा दुर्बलताहरुलाई समयमै आकलन गर्नुका साथै सबलताको अधिकतम परिचालन गर्ने तथा दुर्बलताहरु हाबी हुन नदिन आवश्यक रणनीति बनाउने व्यवहारिक आत्मबोध हुन अत्यन्तै आवाश्यक छ।

बजारमा कतिपय उद्यमहरु उद्यमीहरुका कारणले भन्दा पनि व्यावसायमा संलग्न गराइएका कर्मचारीका माध्ययमले सफलता हासिल भइरहेको पनि देखिन्छ। त्यसैले हरेक उद्यमीहरुले आफ्नो व्यवसायका हरेक पक्षहरुका विविध सम्भावनाहरुका बारेमा यथेष्ट मात्रामा आत्मज्ञान राख्नु आवश्यक छ। 

६.  जोखिम वहन

उपभोक्ताका प्राथमिकता, रुचि, आवश्यकता आदि अनवरतरुपमा परिर्वतन भइरहेका हुन्छन्, जसलाई समयमै सम्बोधन गर्नुपर्ने दबाबमा वस्तु तथा सेवा, गुणस्तर, उपयोगितमा अद्यावधिक गरिरहनु पर्ने आवश्यक रहन्छ जसबाट उद्यमीहरुलाई नियमितरुपमा परिर्वतनउन्मुख जोखिमको वहन गरिरहनुपर्ने हुन्छ।

व्यवसाय सुरु एवं विस्तार गर्दा होस् वा वस्तु तथा सेवा विकास एवं अद्यावधिक गर्दा, जोखिम वहनको अनिवार्यता रहन्छ, जसले उद्यमशीलता विकासमा सिर्जना हुन सक्ने जोखिम तथा प्राप्त हुने प्रतिफलमा उचित सन्तुलन कायम गर्न सक्छ। वास्तवमा त्यस्तो उद्यमीमात्रै दीर्घकालसम्म अस्तित्वमा रहन सक्छ। 

७.  असफलतामा सहजता

सञ्चालन हुने सबै व्यावसाय तथा बजारमा आउने सबै वस्तु तथा सेवाहरुले आशातित सफलता हासिल गर्नै सक्दैनन्। बजारमा आउने असंख्य व्यावसायिक क्रियाकलापहरुमध्ये केहीले मात्रै अल्पकालमा सफलता हासिल गर्दछन् भने दीर्घकालमा त एकदमै कम मात्रै अस्तित्वमा रहन्छन्।

त्यसैले उद्यमीहरुले आफ्नो व्यावसाय, वस्तु तथा सेवाहरुमा भावानात्मक लिने भन्दा पनि व्यावहारिकरूपमा सोच्दै हरेक असफलताहरुबाट आर्जित अनुभवहरुलाई प्रयोग गर्दै अगाडि बढ्न सक्ने क्षमता हुनुपर्दछ। असफलतालाई निराश हुने अवस्था बन्न दिनुभन्दा पनि सफल बन्नका लागि अत्यावश्यक ज्ञानका रुपमा ग्रहण गर्नुपर्छ। जसले हरेक असफलतामा सहजता अनुभव गर्न सक्छ ती उद्यमीको उद्यमशीलता मात्रै सफल बन्न सक्ने देखिन्छ।

८. दृढता

हरेक असफल व्यावसायिक क्रियाकलापहरु सफलताका लागि कोसे ढुंगा हुने भएकाले उद्यमीहरुमा बजार अनुरुप आफ्ना वस्तु तथा सेवाहरु अद्यावधिक गर्दै लक्षित सफलता हासिल गर्न निरन्तर दृढतापूर्वक अभ्यासरत रहने प्रवृत्ति हुनुपर्ने देखिन्छ। अलिकति मात्रै सोचे जस्तो नहुँदा आफ्नो योजना छाडिहाल्ने वा अर्को केही गर्न खोज्नेभन्दा पनि असफल हुनुका कारणहरु खोजी तिनीहरुलाई सच्याएर पुनः बजारमा आउने दृढताले उद्यमशीलतालाई सफलताको उचाइमा पुर्‍याउन सक्छ।

९. नवप्रर्वतन

वस्तु तथा सेवाहरुका बजारमा अपेक्षित उपयोगिता तथा आफूले बजारमा उपलब्ध गराएका उपयोगिताहरु बीचको अन्तरालको नियमित अनुगमन गर्ने तथा देखिएका अन्तरालहरुलाई एकदमै फरक तथा नयाँ तरिकाले पुरा गर्न सक्ने उद्यमीहरुले प्रायः सफलता हासिल गरिरहेको देखिन्छ।

नवप्रर्वतन गर्ने भन्दैमा एकदमै नौलो तरिकाले वस्तु तथा सेवाहरु विकास गर्दा पनि बजारले नबुझ्दा असफलतासमेत हात लाग्ने जोखिम हुन्छ। त्यसैले बजारको चेतनाको स्तर समेतलाई ध्यानमा राखेर नवप्रर्वतन गर्न भने सक्नुपर्ने देखिन्छ।

१०. दीर्घकालीन सोच

उद्यमशीलता विकास एक दीर्घकालीन प्रक्रिया भएकाले उद्यमीहरुले आफ्नो व्यावसायको सुरुवात, विकास, परिपक्वता तथा अवनतिसम्म सबै चरणका बारेमा ख्याल गर्नु पर्दछ। व्यावसाय सुरु गर्न तुलनात्मकरुपमा सजिलो हुने भए पनि टिकाउन तथा विकास गर्न भने अत्यन्तै चुनौतीपूर्ण हुने गर्दछ। त्यसैले उद्यमशीलताका प्रत्येक चरणमा देखिन सक्ने सम्भावित अवसर तथा चुनौतीहरुबाट उत्पन्न हुन सक्ने परिणामहरुलाई अनुकूल बनाउनका लागि आवश्यक दीर्घकालीन सोच वा रणनीति बनाउन सक्ने उद्यमीहरुको लामो समयसम्म अस्तित्वमा रहन सक्ने देखिन्छ।

अत: उद्यमी बन्ने कुनै सही वा गलत तरिका हुँदैन। प्रयोग, लगनशीलता र नवप्रवर्तन जस्ता विशेषताहरु र नियमित अभ्यासहरु समय, अनुभव तथा प्रशिक्षणको साथमा विकास भने भइरहेको हुन्छ। इतिहासमा अटाएका तथा बजारमा सफलता चाखिरहेका उद्यमहरुको सूक्ष्म अध्ययनबाट नयाँ उद्यम स्थापना एवं विकासमा प्रभावकारी मार्गदर्शन प्राप्त हुन सक्ने देखिन्छ।

(लेखक अर्पण पौडेल बैंकर हुन्। उल्लिखित विचारहरु लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्।)