BIZMANDU
www.bizmandu.com

मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा, एक महिनाभित्र बिजुली उत्पादन गरिने

२०८१ असोज ६

मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा, एक महिनाभित्र बिजुली उत्पादन गरिने
मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा, एक महिनाभित्र बिजुली उत्पादन गरिने


काठमाडौं। निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेको नेपाल विद्युत प्राधिकरणले बताएको छ।

Tata
GBIME
NLIC

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्वीचयार्डबाट नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ। प्राधिकरणका अनुसार २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैं अगाडि सकिने छ।

प्रसारण लाइन निर्माणमा करिब १४ महिनादेखि अवरोध रहेकामा भदौ १३ गते सहमति जुटेको थियो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शनिबार आयोजनाको निरीक्षण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिए। आयोजना प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा निर्माण गरिएको हो।

बाँध क्षेत्रको परीक्षण भइसकेको छ। आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङमा गत फागुनमा नै परीक्षण सुरु गरिएको थियो। परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ। हाल सुरुङ सफा गर्ने काम भइरहेको छ।

विद्युत गृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) सम्पन्न भएको छ। सुरुङबाट पानी आउनासाथ उपकरणहरुको वेट टेस्ट सुरु हुने छ।

जुरे पहिरो, भूकम्प, नाकाबन्दी, भोटेकोशीमा आएको बाढी, कोभिड, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन लगायत कारण आयोजनाको निर्माण प्रभावित भएको थियो।