विराटनगर । दसैंको मुखमा आम्दानीको एउटा बलियो माध्यम हुन्थ्यो – जुट। जुट किन्न आउनेहरु किसानको घरघर चहार्थे। एक हातमा नगद र अर्को हातमा आफूले तयार पारेको जुटको मुठा। नगद हातमा परेसँगै दसैंको किनमेलको जोहो हुन्थ्यो। पुराना मानिसहरु अहिले पनि जुट र दसैंको ‘कनेक्सन’ केलाउँछन्। पूर्वी नेपालको सिराहदेखि सुनसरी, मोरङ र झापामा नगदे बालीका रुपमा उत्पादन हुने जुट उत्पादनमा पहिले दसैंअघि जस्तो दृश्य देखिन्थ्यो अहिले त्यस्तै अवस्था छ त?
दसैं सुरु हुन तीन साता बाँकी रहँदा बिजमाण्डू टोली सुनसरी र मोरङका गाउँमा जुट खेती र उद्योगको अवस्था कस्तो छ बुझ्न पुगेको थियो। जुट कसरी उत्पादन हुन्छ र त्यसले नेपालको श्रम बजारमा कति योगदान पुर्याइरहेको छ? यसको उत्पादन, त्यसको नेपालभित्र खपतको अवस्था र निर्यातसँग जोडिएको चुनौती कस्ता छन्? परम्परागत जुट उद्योगमा नविनतम प्रयोगको अवस्था र बजारको सम्भावना कस्तो छ त?
रिपोर्टिङका केही श्रृङ्खलामा बिजमाण्डूले यिनै विषयलाई उठाउँदैछ।
सनपाट उत्पादन कति फलदायी?
विराटनगर जुट मिल। अहिले बन्द अवस्थामा रहे पनि नेपालको राजनीतिक इतिहासमा बारम्बार दोहरिने नाम हो यो। राणा शासन अन्त्यको आन्दोलन होस् या रेडियो प्रसारणको सन्दर्भ, विराटनगर जुट मिल र यहाँका श्रमिक जोडिएकै हुन्छन्। ऐतिहासिक विरासत बोकेको विराटनगर जुट मिल बन्द छ अहिले। त्यसपछि २००३ सालमा स्थापित रघुपति जुट मिल खुल्यो, जसले अहिले पनि आफ्नो अस्तित्व जोगाइरहेको छ। पछि थपिएका केही अरु उद्योग पनि चलेका छन् तर तिनमा चाहिने ७० प्रतिशत कच्चा पदार्थ अर्थात् जुटको रेसा आयातमै निर्भर छ। स्वदेशी उत्पादनले ३० प्रतिशतमात्र योगदान दिइरहेको छ उद्योगलाई।
जुट खेतीमा घट्दो लागत र बढ्दो उत्पादकत्व देखिरहेका सोमनाथ अधिकारी यसमा अथाह सम्भावना देख्छन्। उनको शब्दमा – सांस्कृतिक-सामाजिक रुपमा दसैंसँग जोडिने जुट उत्पादन अब रोजगारी र निर्यात बढाउने बाटोमा जानैपर्छ।
अधिकारी आफैँ सनपाट उत्पादनसँग जोडिएका छन्। यसको लागत र हुने नाफा हिसाब-किताब गरेपछि उनले प्रतिफल र त्यसको ‘चेन इफेक्ट’लाई ‘प्रडक्टिभ’ ठम्याएका छन्। एक बिघामा सनपाट लगाउँदा एक लाख रुपैयाँको जुट निकाल्न सकिने रहेछ – चार महिनाभित्र। नगदे बाली जुटमात्र होइन त्यसले माटोलाई दिने उर्वरकता र पर्यावरणको मूल्य पनि निर्धारण गर्ने हो नाफा थप बलियो हुने उनको भनाइ छ। उनको दाबी एकखाले परीक्षणपछि मात्रै आएको हो। नहरको पानी नलाग्ने ठाउँमा डीप बोरिङ गरेर सनपाट उत्पादन गरेपछि मिलेको प्रतिफलका आधारमा उनले यसको ‘भ्यालु’ आकलन गरेका हुन्।
‘त्यतिमात्र होइन, सनपाटको पात झरेको खेतमा अरु मलखाद नै हाल्न पर्दैन, माटोको उर्वरकता यसै बढ्छ। बोटको जरामा गाँठा हुन्छन जसले माटोमा नाइट्रोजनको मात्रा बढाइदिन्छ,’ उनले भने, ‘त्यसमाथि तोरी लगायतका बाली लगाउने हो भने गजबले लहलह हुन्छ। एकदमै राम्रो दाना लाग्छ।’
सनपाट रोपेको चार महिनामा तयार हुन्छ जुट। एक बिघामा खेती गर्दा चार महिनाको अवधिमा १ लाख आम्दानी निक्लिनेमात्र होइन मलखादमा खर्च जोगिनु आफैंमा ‘भ्यालु एड’ हुने भइहाल्यो। त्यसैले यसको प्रवर्धनमा लाग्नुपर्ने उनको तर्क छ।
सनपाटबाट यसरी निकालिन्छ जुट
नगदेबालीका रुपमा चर्चा गरिए पनि पूर्वी नेपालमा मात्र यसको खेती हुने गरेको छ। जुट जति पूर्वतिर गयो उति गुणस्तरको उत्पादन हुने रहेछ। गुणस्तरमात्र होइन, उत्पादनको मात्रा पनि पूर्वतिरै चुलिँदै जाँदो रहेछ। नेपालभन्दा भारत र भारतभन्दा बंगलादेशमा राम्रो खेती हुन्छ।
नेपालमा चाहिँ जुट खेती र त्यसको प्रशोधन कसरी गरिन्छ भन्ने चासो हामीसँग थियो। भदौं अन्त्यतिर गएकाले अधिकांश ठाउँमा यसको कटान सकिइसकेको थियो। केही ठाउँमा भने अझै काट्ने र कृषकको तहमा हुने प्रशोधनको कम जारी थियो। हामी पुगेको फार्ममा किसानहरु सनपाट काट्दै थिए। सनपाटका बोट काटेपछि त्यसलाई गुम्स्याएर राखिन्छ। यसो गर्दा बोटका पात झार्न सहज हुन्छ। खेतमा यसको पात झरेपछि अरु बालीका लागि मलखाद नचाहिने रहेछ। रसायनिक मल अभाव नेपालका लागि हरेक वर्षको ‘इस्यु’ हुने गरेको छ। जहाँ सनपाट लगाइन्छ त्यहाँ यसखाले मल नै नचाहिने रहेछ।
मजदुरले सनपाट काटिरहेको फार्मको दक्षिणतिर एउटा पोखरी। त्यहाँ पनि कामदारको भ्याइ नभ्याइ थियो। यहाँ महिलाहरुले पानीमा डुबाएर राखिएको सनपाटका बोटबाट रेसा अर्थात् पटुवा र डाँठ (सन्ठी) छुट्याउँदै थिए। ज्यालासँगै आफूले निकालेको सन्ठी मजदुरले नै लैजान पाउने रहेछन्। सन्ठीको प्रयोग घर वरपर बारबेर गर्न, लाम्चो गुइँठा बनाउन र दाउराका रुपमा प्रयोग हुने पाइयो।
सनपाटबाट कृषकको तहमा हुने प्रशोधन बुझ्न चाहिँ हामी देवानगञ्ज पुग्यौं। त्यहाँ गाउँको बीचमा एउटा पोखरी रहेछ। पोखरीमा केही मानिस भर्खर खेतबाट ल्याएको सनपाट डुबाउँदै थिए। बीचको भागमा पनि सनपाट डुबाइएको थियो जुन पाकिसकेको थिएन। अर्को छेउमा भने पानीमा पाकेको सनपाट निकाल्दै थिए एक व्यक्ति। पोखरीविना सनपाटबाट जुट निकाल्न नसकिने भएकाले किसानहरुले पालो मिलाउनेगरी जुट रोप्ने रहेछन्। घाम चर्कियो भने १२ दिन पानीमा डुबाएपछि पटुवा छुट्याउन सकिने रहेछ। नभए केही दिन थप राख्नुपर्छ। त्यसैले एउटा किसानले रोपेको दुई सातापछि अर्को किसानले आफ्नो खेतमा जुट रोप्ने रहेछन्। जहिलेदेखि जुट खेती सुरु भयो यसखाले उत्पादनको ‘साइकल’ त्यसै बेलादेखि सुरु भएको रहेछ।
पानीबाट पटुवा निकालेपछि त्यसलाई सुकाइन्छ। सुकेपछि किसानले गाउँमा आएका व्यापारीलाई बेच्ने रहेछन्। वैशाखमा रोपेर असोजमा बिक्री सुरु हुने भएकाले यसको दसैंसँग नाता जोडिने रहेछ। ‘पटुवा बिक्रीपछि मात्रै दसैं आयोजस्तो हुन्थ्यो। बेचेर पाएको नगदलले किनमेल सुरु हुन्थ्यो,’ देवानगञ्जमा भेटिएका किसान अरविन यादवले भने।
मेहनतको काम, प्रतिफलमा असन्तुष्टि
हामीले सुरुको फार्ममा हेर्दा पटुवा निकाल्ने महिलामात्र देखेका थियौं। देवानगञ्जमा एकजना पुरुषमात्र पोखरीभित्रै पसेर जुट प्रशोधन गरिरहेका थिए। युवा श्रमशक्ति देश बाहिर भएकाले पोखरीभित्रै पसेर काम गर्ने मानिस पाउन मुस्किल रहेछ। पोखरीभित्रै प्रशोधन गर्दा छिटो काम हुने तर बल ज्यादा प्रयोग हुने।
‘पटुवा निकाल्न धेरै नै परिश्रम लाग्छ। त्यसैले किसान आफैंले गर्न सक्दैनन्, ज्यालामा कामदार लाग्छ,’ किसान अरविन यादवले सुनाए। अरविनका हजुरबुवादेखि बुवा हुँदै उनी पनि जुटसँग जोडिएका छन्। अरु खेतीमा भन्दा बढी परिश्रम पर्ने भएकाले यसबाट आउने मूल्यप्रति भने उनी असन्तुष्ट सुनिए।
‘क्विन्टलमा १० हजार भाउ हुनुपर्थ्यो कम्तीमा। अहिले ६ हजारमात्र छ,’ यादवले भने, ‘पोखरी छैन, पानीको स्रोत पनि छैन। यस्तोमा किसानलाई नै घाटा छ।’
मास प्रडक्सनमा जानेगरी संगठित रुपमा उत्पादन गर्ने फार्महरुले ज्यालामा कामदार लगाउने गरे पनि किसानस्तरमा भने पोखरीबाट निकिल्ने पटुवा नै ज्यालाका रुपमा दिने प्रचलन छ। ठूला फार्म नभइ स-सानो स्तरमा हुने किसानले ९ मुठा पटवा निकाल्दा २ मुठा ज्याला तोकिएको छ। भागमा पर्ने पटुवाकै आधारमा हेर्दा दिनभरी काम गर्ने एउटा मजदुरले ७ सयदेखि १२ सय रुपैयाँसम्म कमाउँछन्।
सबैभन्दा धेरै जुट उत्पादन हुने भारत र बंगलादेशमा पनि उद्योगमा पुग्नुअघिको प्रशोधन प्रक्रियामा मजदुरकै संलग्नता हुने रहेछ। यसमा कुनै प्रविधि आइसकेको छैन जसले काम गर्ने परम्परागत शैली फेरियोस्। त्यसैले जुट उत्पादनमा खड्किएको समस्या श्रमसँगै जोडिएको रहेछ। जुटकै विषयमा पीएचडी गरेका डा. मोहनचन्द्र घिमिरेका अनुसार उत्पादनदेखि उद्योगसम्म करिब ३५ प्रतिशत योगदान श्रमिककै रहन्छ। ‘यसैकारण यो अरु उद्योगभन्दा फरक छ,’ उनले भने।
मेसिनसँगै श्रममा आधारित उद्योग
किसानले उत्पादन गरेको पटुवा सुकेपछि जुट उद्योगमा पुग्छ। जुटको रेसालाई नरम बनाउनेदेखि त्यसबाट के कस्ता वस्तु उत्पादन गर्ने हो सोही अनुरुप प्रशोधन हुनेगर्छ। त्यसका लागि फरक फरक मेसिनहरु संचालनमा छन्। जुटको ग्रेडिङ सकिएपछि प्रयोजनअनुसारको मेसिनबाट यसको प्रोसेसिङको प्रक्रिया सुरु हुन्छ। यसबाट सुतली धागो, बोरा, जाली वा आधुनिक फेन्सी ब्यागसम्म तयार हुने रहेछ।
‘यहाँ ४ हजार भन्दा धेरै कामदार छन्। नेपालको कुनै पनि एउटै उद्योगभित्र यति धेरै जनशक्ति पाउनुहुन्न,’ सुनसरीको सोनापुरमा रहेको अरिहन्त मल्टीफाइवर्सका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईले भने।
हामीले उनीसँगै उद्योगमा कसरी जुट उत्पादन भएर ‘फाइनल प्रडक्ट’ तयार हुन्छ अवलोकन गर्यौं। भित्र ठूला मेसिनहरु चलिरहेका थिए। मेसिनसँगै कामदारका हात पनि। जुटको कच्चा पदार्थ पटुवाबाट रेसा निकाल्न एक मेसिनपछि अर्को मेसिनमा हाल्दै काम अगाडि बढ्छ। अन्तिम रेसाबाट धागो उत्पादन भएपछि त्यसलाई बुन्ने काम पनि मेसिनकै सहायतामा चलिरहेको हुन्छ। बुनिसकेको जुटबाट सुतली निकाल्ने काम सबैभन्दा सहज रुपमा सकिन्छ।
त्यसपछि बोरा सिलाउने मेसिनसँगै मजदुरहरु पनि सक्रिय देखिन्छन्। जुटको रोल नै पनि फाइनल प्रडक्टका रुपमा उत्पादन हुने रहेछ जसलाई प्रेस गरेर बन्डल बनाउनेक्रम पनि चलिरहेको थियो।
‘यहाँ चौबीसै घन्टा काम हुन्छ। सिफ्टअनुसार कामदारहरु खटिनुहुन्छ,’ सीइओ बजगाईले भने। उनका अनुसार यहाँ महिला र पुरुष दुवै कामदारको ज्याला समान छ। पुरुषजस्तै महिलाहरु पनि राति काममा सक्रिय रहन्छन्। कम्पनीले यहाँ कार्यरत कामदारको सुरक्षाका लागि सबैखाले व्यवस्था गरेको छ।
धेरैजसो उद्योग अटोमेसनमा गएर श्रम बजार खोसिरहेको अवस्थामा हामीले अवलोकन गरेका उद्योग फरक देखियो। सुरक्षित रुपमा महिला कामदारले पुरुष सरह काम गर्ने र ज्याला पनि समान पाउने उद्योग कमै होलान्। बजगाईका अनुसार बंगलादेशमा त लैंगिक हिसाबले ज्याला फरक छ। त्यसमाथि ज्यालादर पनि निक्कै कम छ जसले बंगलादेशको उत्पादन सस्तो बनाइरहेको छ।
सोमनाथ अधिकारीका अनुसार अहिले मोरङ-सुनसरी करिडोरमा मात्र जुट उद्योगमा १२ हजारभन्दा बढी मजदुरले रोजगारी पाइरहेका छन्। संचालनमा रहेका ६ वटा कम्पनीबाहेक बन्द अवस्थामा रहेका कम्पनी पनि संचालनमा आउने हो भने रोजगारीको संख्या यही करिडोरमै मात्र २०/२२ हजार पुग्ने देखिन्छ।
जुट उद्योगको अवलोकन र त्यसमा आवश्यक जनशक्ति देखेपछि रोजगारीका लागि विदेशका श्रमबजारमा पुग्नुपर्ने बाध्यता कम गर्नसक्ने आधार पहिचान गर्न कठिन देखिएन। त्यसमाथि उत्पादनदेखि प्रशोधन हुँदै फाइलन प्रडक्ट तयार गर्ने क्रममा ३५ प्रतिशत लागत श्रमिक पर्ने रहेछ।
अर्कातिर उद्योगमा ३० प्रतिशत मात्रै नेपाली जुट बाँकी आयातमै निर्भर रहनुपर्ने अवस्था। नीतिगत रुपमा थोरै पहलकदमी भयो भने जुटले यस क्षेत्रमा धेरै नै कायापलट गर्नसक्ने देखियो। दसैंको खर्च जोहबाट फाइदाका ‘चेन इफेक्ट’तिर किसान र उद्योगीलाई कसरी लैजान सकिएला त? अर्को अंकमा यसबारे चर्चा गर्नेछौं।