BIZMANDU
www.bizmandu.com

दिल्लीको मुख्यमन्त्रीमा आप नेता अतिशी, सपथपछि भनिन् ‘विश्वास गरिएकोमा खुसी छु’

२०८१ असोज ५

दिल्लीको मुख्यमन्त्रीमा आप नेता अतिशी, सपथपछि भनिन् ‘विश्वास गरिएकोमा खुसी छु’
दिल्लीको मुख्यमन्त्रीमा आप नेता अतिशी, सपथपछि भनिन् ‘विश्वास गरिएकोमा खुसी छु’

नयाँ दिल्ली। आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिएकी छन्। आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि आतिशी नेतृत्वको दिल्ली सरकारमा मन्त्रिपरिषद्को सदस्यका रुपमा सपथ लिएका छन्।

Tata
GBIME
Nepal Life

सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन्। आम आदमी पार्टीकी एक प्रमुख नेता आतिशीले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्वपूर्ण भूमिका खेलेकी थिइन। आतिशीले सपथपछि निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुपरेकोमा दुःखी भएको तर आफूमाथि आप नेताले गरेको विश्वासबाट खुसी लागेको बताएकी छन्।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आगामी विधानसभा चुनावपछि केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मेहनत गर्ने उल्लेख गरिन्। ‘सबैभन्दा पहिले म दिल्लीका लोकप्रिय मुख्यमन्त्री, आम आदमी पार्टीका राष्ट्रिय संयोजक र मेरा गुरु अरविन्द केजरीवाललाई धन्यवाद दिन चाहन्छु। उहाँले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो र यसका लागि मलाई विश्वास गर्नुभयो,’ उनले भनिन्, ‘यो नेता केजरीवालको नेतृत्व र आम आदमी पार्टीमा मात्र गर्न सकिन्छ। पहिलो पटक राजनीतिज्ञ भएको व्यक्ति राज्यको मुख्यमन्त्री बन्छ। म सामान्य परिवारबाट आएको हुँ। यदि म अन्य कुनै पार्टीमा भएको भए सायद मलाई चुनावको टिकटसमेत दिइने थिएन।’

आम आदमी पार्टी (आप) का विधायक मुकेश अहलावतले भने, ‘अरविन्द केजरीवाल र बाबा साहेबका कारण मजस्ता व्यक्ति मन्त्री बनेका हुन्। हाम्रो प्राथमिकता दलित र पिछडिएका समुदायका लागि काम गर्ने हुनेछ। हामीले सम्भव भएसम्म दलित र पिछडिएका समुदायको हक र हितका लागि काम गर्नेछौँ।’

 नेतृत्व परिवर्तन र दलको आगामी कार्यदिशाबारे आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री कैलाश गहलोतले भने पार्टीको राष्ट्रिय संयोजकका रूपमा केजरीवालको मार्गदर्शन रहिरहने बताए। ‘हाम्रो एक मात्र लक्ष्य दिल्लीका जनताका लागि पहिलेजस्तै काम गरिरहनु र अरविन्द केजरीवाललाई फिर्ता ल्याउनु हो,’ उनले भने।

दिल्ली विधानसभामा कालकाजी निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने आतिशीले दिल्ली सरकारका धेरै जिम्मेवारीमा काम गरिसकेकी छन्। उनी सन् २०२३ मा दिल्ली सरकारको मन्त्रिपरिषद्मा सहभागी भएकी थिइन। उनले नै आगामी विधानसभा चुनावको तयारीका लागि आम आदमी पार्टी (आप) को नेतृत्व गर्नेछिन्। (एएनआइ/रासस)