काठमाडौं। दसैं सुरु हुनु दुई साताअघि नै आन्तरिक उडानतर्फ ७० प्रतिशत हवाई टिकट बुकिङ भएको छ। बुद्ध, यती र श्री एयलाइन्सले ४ दिनयता टिकट बुकिङ उल्लेख्य बढेको बताएका छन्।
ती कम्पनीका अनुसार बुकिङ चापका कारण अधिकांश गन्तव्यतर्फ सुरुवाती भाडादरको टिकट लगभग सकिएको छ। धनगढी, नेपालगञ्ज र भद्रपुरको सुरुवाती भाडादरको टिकट पाउन मुस्किल छ। बुकिङ बढेका कारण सबैजसो कम्पनीले भाडादर बढाएका छन्।
काठमाडौं-धनगढी हालको औसत भाडादर ७ हजार ९०० रुपैयाँ रहेकामा वायुसेवा प्रदायक कम्पनीहरुले असोज २२ र २३ गतेका लागि १३ हजार ३०० रुपैयाँ पुर्याएका छन्।
यस्तै, काठमाडौं-नेपालगंजको भाडादर ६ हजार ६०० बाट ९ हजार ५०० र काठमाडौं-विराटनगरको ५ हजार ७०० बाट ८ हजार ३०० रुपैयाँ पुर्याइएको छ। काठमाडौं-भद्रपुरको भाडा ६ हजार ४०० रुपैयाँबाट असोज २३ गतेका लागि १२ हजारभन्दा माथि पुर्याएका छन्। असोज २३ फूलपातीको अघिल्लो दिन हो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले अधिकांश गन्तव्यमा ७० प्रतिशत टिकट बुकिङ भइसकेको बताए। उनका अनुसार तुक्लिङटारको टिकट सकिइसकेको छ। ‘करिब ७० प्रतिशत हवाई टिकट बिक्री भइसकेको छ। तुम्लिङटरतर्फको टिकट पूर्णरुपमा सोल्ड आउट भइसकेको छ,’ सूचना अधिकारी कर्णले भने, ‘यात्रुको चापका कारण हामीले नियमअनुसार भाडा पनि केही बढाएका छौं।’
पोखरा र जनकपुरको भाडा बढाइएको छैन। भरतपुरको भाडा असोज २२ र २३ गतेका लागि केही बढाइएको छ। यस्तै राजविराजको भाडा भने ४ हजार ६०० रुपैयाँबाट असोज २२ र २३ गतेका लागि साढे ८ हजार माथि पुर्याइएको छ।
खासगरी सडकको दूरावस्थाका कारण पनि यात्रुले दुई साता पहिले नै हवाई टिकट बुकिङ गरेका हुन्। अहिले नागढुंगा मुग्लिन सडक विस्तारको क्रममा छ। त्यस्तै नारायणबाट-बुटवल सडकमा विस्तारको काम अलपत्र छ। यो सडक खण्ड त भत्काएर छोडिएकाले यात्रुले ठूलो सास्ती खेप्नुपर्छ।
सडकको यात्रा कष्टपूर्ण भएका कारण यात्रुले उडान रोज्नुपर्ने बाध्यता रहेको बुझेर वायुसेवा प्रदायक कम्पनीहरुले भाडा बढाएका हुन्।
यती एयरलाइन्सले घटस्थापनापछिका लागि ६० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको जनाएको छ। कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले सबैजसो गन्तव्यमा सुरुवाती भाडादरको टिकट लगभग सकिसकेको बताए।
‘गत वर्षको तुलनामा यसपालि हवाई टिकट बुकिङ धेरै छ। सायद सडकको यात्रा कष्टपूर्ण र लामो भएका कारण यात्रुहरुले घर जान नपाइएला कि भनेर हतार हतार हवाई टिकट बुकिङ गरेका हुन सक्छन्,’ उनले भने, ‘सुरुवाती भाडादरको टिकट सकिएकाले अहिले हामीले मध्य र माथिल्लो सिलिङको टिकट बेचिरहेका छौं।’
कम्पनीले हाल सातवटा एटीआर-७२ मार्फत दैनिक ३३ वटा उडान गर्दै आएको छ। दसैंमा यात्रुको चाप धेरै हुने गन्तव्यमा उडान बढाउने कम्पनीको तयारि छ।
श्री एयरलाइन्सले पनि ७० प्रतिशत हवाई टिकट बुकिङ भइसकेको र सुरुवाती भाडादरको टिकट सकिइसकेको बताएको छ।
गन्तव्य | असोज १७ | असोज १८ | असोज १९ | असोज २० | असोज २१ | असोज २२ | असोज २३ | हालको भाडादर |
काठमाडौं-धनगढी | १०,८००/ | १,०८००/- | १०,८००/- | १०,८००/- | ११,५००/- | १३,३००/- | १३,३००/- | ७,९००/- |
काठमाडौं-नेपालगंज | ८,५००/- | ८,५००/- | ८,५००/- | ८,५००/- | ८,५००/- | ९,५००/- | ९,५००/- | ६,६००/- |
काठमाडौं-विराटनगर | ६,०००/- | ६,०००/- | ६,६००/- | ७,१००/- | ७,१००/- | ७,९००/- | ८,३००/- | ५,७००/- |
काठमाडौ-भद्रपुर | ७,५००/- | ७,५००/- | ७,५००/- | ७,८७७/- | ८,३७७/- | १०,१००/- | १२,२५९/- | ६,४००/- |
काठमाडौं-भैरहवा | ५,५००/- | ५,८००/- | ५,८००/- | ६,२००/- | ६,२००/- | ७,०००/- | ७,१००/- | ५,२००/- |
काठमाडौं-जनकपुर | ४,५००/- | ४,५००/- | ४,५००/- | ४,५००/- | ४,५००/- | ४,५००/- | ४,५००/- | ४,३००/- |
काठमाडौं-भरतपुर | ४,६९३/- | ४,६९३/- | ४,६९३/- | ४,६९३/- | ४,६९३/- | ४,९००/- | ५,५३०/- | ४,६९३/- |
काठमाडौं-पोखरा | ४,४००/- | ४,४००/- | ४,४००/- | ४,४००/- | ४,४००/- | ४,४००/- | ४,४००/- | ४,४००/- |
काठमाडौं-राजविराज | ५,९२२/- | ५,९२२/- | ५,९२२/- | ५,९२२/- | ५,९२२/- | ८,५१३/- | ८,५१३/- | ४,६००/- |